News Summary
Generated by OK AI. Editorially reviewed.- करण जौहरको ‘कफी विद करण’ मा करिश्मा कपुरले ‘दुल्हन हम ले जाएंगे’ को छायांकनमा सलमान खानले पहिरनका कारण सुटिङ अस्वीकार गरेको प्रसंग सुनाइन् ।
- करिश्माले आफूले टम्म मिल्ने पहिरन रोजेको र सलमानले ‘यो के लगाएको ? यस्तो कपडा लगाउँछौ भने तिमीसँग म सुटिङ नै गर्दिनँ ।’ भनेको बताइन् ।
- सलमानले पहिरन छोटो र पारदर्शी भएको भन्दै हरेक टेकअघि करिश्मालाई कपडा तल तान्न भनेको र उनीहरू ११ फिल्ममा सँगै काम गरेको उल्लेख गरियो ।
काठमाडौं । बलिउडमा सलमान खानका अनेक किस्सा चर्चित छन् । कहिले आफ्नै शैलीका कारण त कहिले सहकर्मी कलाकारसँगको रमाइलो नोकझोंकका कारण उनी चर्चामा आइरहन्छन् ।
यस्तै, अभिनेत्री करिश्मा कपुरसँग जोडिएको एउटा पुरानो प्रसंग फेरि चर्चामा आएको छ, जहाँ करिश्माको पहिरन देखेपछि सलमानले उनीसँग सुटिङ गर्नै अस्वीकार गरेका थिए ।
निर्देशक करण जौहरको चर्चित टक शो ‘कफी विद करण’ मा सलमान र करिश्माले सँगै बसेर ९० को दशकका पुराना सम्झना ताजा गरेका थिए । कुराकानीका क्रममा करिश्माले सन् २००० मा प्रदर्शनमा आएको फिल्म ‘दुल्हन हम ले जाएंगे’ को छायांकन गर्दाको एउटा रोचक घटना सुनाइन् ।
करिश्माका अनुसार उनी फिल्मका गीतमा लगाउने पहिरन र आफ्नो लुक्सलाई लिएर निकै उत्साहित हुन्थिन् । त्यही क्रममा एउटा गीतका लागि उनले शरीरमा टम्म मिल्ने फेसनेबल पहिरन रोजेकी थिइन् ।
आफू उक्त पहिरनमा निकै राम्री देखिने उनको विश्वास थियो । तर, सलमानको प्रतिक्रिया भने उनले सोचेभन्दा फरक आयो । करिश्माले सम्झिइन्, सलमानले पहिरन देख्नेबित्तिकै भनेका थिए, ‘यो के लगाएको ? यस्तो कपडा लगाउँछौ भने तिमीसँग म सुटिङ नै गर्दिनँ ।’
सलमानले सुटिङ गर्न अस्वीकार गरेपछि करिश्मा निर्देशक डेभिड धवनकहाँ पुगेकी थिइन् । उनले सलमानले आफूलाई मन परेको पहिरन लगाउन नदिएको भन्दै गुनासो गरिन् ।
कार्यक्रमका प्रस्तोता करणले पनि यही प्रसंगमा ठट्टा गर्दै सलमानलाई करिश्माको पहिरन धेरै खुला भएकोमा आपत्ति थियो कि भनेर सोधे ।
करिश्माले हाँस्दै उक्त पहिरन शरीरमा टम्म मिल्ने र फिटेड रहेको स्वीकार गरिन् । तर, सलमान आफूलाई लिएर निकै चिन्ता गर्ने र एक दाजु वा मिल्ने साथीले जस्तै सल्लाह दिने गरेको पनि उनले बताइन् ।
करिश्माको कुरा सुनेपछि सलमानले पनि आफ्नो कुरा राखे । उनका अनुसार पहिरन शरीरमा टम्म मिल्ने मात्रै नभई निकै छोटो र पारदर्शीसमेत थियो ।
उनले ठट्टा गर्दै हरेक टेकअघि करिश्मालाई पहिरन अलिकति तल तान्न भनिरहने गरेको सुनाए ।
सलमान र करिश्मा ९० को दशकका बलिउडका चर्चित अनस्क्रिन जोडीमध्ये एक थिए ।
उनीहरूले सँगै ११ फिल्ममा काम गरेका छन् । पर्दामा उनीहरूको केमेस्ट्री जति चर्चित थियो, पर्दापछाडिका यस्ता रमाइला किस्साले पनि उनीहरूको सम्बन्ध र सहकार्यलाई सम्झनलायक बनाउँछन् ।
प्रतिक्रिया 4