
२४ माघ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ को तेस्रो लहर ओरालो लाग्न थालेको छ । त्यहाँ तेस्रो लहर ‘पिक’मा पुगेसँगै दैनिक संक्रमितको संख्या पछिल्लो समय निरन्तर घटिरहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, उक्त अवधिमा ८९५ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या समेत घटेर ११ लाख आठ हजार ९३८ पुगेको छ ।
भारतमा कोभिड संक्रमितको संख्या घट्न थालेसँगै प्रतिबन्धात्मक नियम खुकुलो पार्न थालिएको छ । आज सोमबारदेखि सरकारी कार्यालय पूर्ण रुपमा खुल्ने भएका छन् । तर, कार्यालय आउने सबै कर्मचारीले कोभिडसम्बन्धी प्रोटोकल पालना गर्नुपर्ने मन्त्री जितेन्द्र सिंहले बताएका छन् ।
त्यस्तै, आजदेखि राजधानी दिल्ली, उत्तर प्रदेश र बिहानमा शैक्षिक संस्था खुला गरिन थालिएको छ । दिल्लीमा सोमबारबाट ९ देखि १२ कक्षाको पढाइ सुरु हुने छ । तर, नर्सरीदेखि ८ कक्षासम्मको पढाइ भने फेब्रुअरी १४ बाट सञ्चालन हुने छ ।
विद्यालय तथा कलेजमा भौतिक कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम, अनिवार्य मास्क प्रयोग तथा स्यानिटाइजरको प्रयोगजस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने छ ।
यसबाहेक दिल्लीमा लगाइएको रात्रिकालीन कर्फ्यूको अवधि १ घण्टाले घटाइएको छ । रात्रिकालीन कर्फ्यू राति १० बजेको साटो ११ बजेदेखि बिहान ५ बजेसम्म कायम रहने छ । साथै, कार्यालयहरू सतप्रतिशत क्षमतामा खुला गर्न सकिने र कारमा एक्लै सवार गर्ने व्यक्तिले मास्क लगाउनु पर्ने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4