+
+

कोरोनालाई मौसमी रुघाखोकीजस्तै मानेर अघि बढ्ने दक्षिण कोरियाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १७:२८

२४ माघ, काठमाडौं । दक्षिण कोरियामा पछिल्लो समय कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या ह्वात्तै बढ्न थालेको छ ।

कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट निकै तीव्र रुपमा फैलिँदा दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । आइतबार त्यहाँ हालसम्मकै थेरै अर्थात् ३८ हजार ६९१ जना नयाँ संक्रमित थपिएका थिए । तर, आज भने त्यो भन्दा केही कम संक्रमित थपिएका छन् ।

सोमबार दक्षिण कोरियामा ३५ हजार २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एरिराङ समाचार माध्यमले जनाएको छ । त्यहाँ फेब्रुअरीको अन्त्यतिर दैनिक एक लाख ३० हजार देखि एक लाख ७० हजारसम्म दैनिक संक्रमित थपिन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् ।

यसअघि दक्षिण कोरियाले पश्चिमी मुलुकको भन्दा प्रभावकारी रुपले कोभिड-१९ लाई नियन्त्रण गर्न सकेको थियो । तर, पछिल्लो समय ओमिक्रोनका कारण दैनिक संक्रमितको संख्या ह्वात्तै बढेसँगै स्वास्थ्य प्रणाली र प्रशासनिक स्रोतसाधन निष्प्रभावी बनेका छन् ।

यही कारण सरकारले बढ्दो संक्रमणबीच कोभिड-१९ लाई मौसमी रुघाखोकी जस्तै व्यवस्थापन गर्ने गरी हाल लागू गरिएका जनस्वास्थ्यका मापदण्ड एवं स्वास्थ्य प्रणाली फेर्ने तयारी गरेको छ । शुक्रबार केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य कार्यालयले स्वास्थ्य प्रणालीलाई समीक्षा गर्दै कोरोना भाइरसलाई मौसमी रुघाखोकी जस्तै मानेर व्यवस्थापन गर्ने संभावनाबारे छलफल गर्ने बताएको थियो ।

स्वास्थ्य प्रणालीको क्षमता, गम्भीर अवस्थामा पुग्ने बिरामीको अन्तिमदर र मृत्युदर हेरेर प्रणालीमा फेरबदल गर्ने उक्त कार्यालयको भनाइ थियो । यसैबीच, क्वारेन्टाइन र दैनिक चेकअपका क्रममा जीपीएसमार्फत् गरिने अनुगमन अन्त्य हुने भएको छ ।

ओमिक्रोनको तीव्र फैलावटका कारण कडा र समयमै कदम चाल्न असम्भव भएका कारण अबदेखि जीपीएस प्रयोग नहुने अधिकारीहरूले बताएका हुन् । तर, सामाजिक दूरी कायम गर्नुपर्ने नियम भने थप दुई हप्ता बढाइने छ । सरकारले आगामी दुई हप्ताको गम्भीर संक्रमण र मेडिकल प्रणालीमाथिको चाप हेरेर क्वारेन्टाइनमा बस्नु पर्ने नियम हटाइने र पुन: यसअघिका झैं ‘कोभिड-१९ सँगै बाँच्ने’ लागू गर्ने तयारी गरेको हो ।

-एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?