+
+
Shares

धितोपत्र बोर्ड अध्यक्ष कांग्रेसको भागमा, ‘सर्ट लिस्ट’मै परेनन् माओवादीका आकांक्षी

रोयल आचार्य रोयल आचार्य
२०७८ माघ २४ गते २०:२०

२४ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम संक्षिप्त सूची (सर्ट लिस्ट) मा राखिएको छ । बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिएका १५ जना आवेदकहरु मध्येबाट छनोट समितिले ५ जनाको नाम सर्टलिस्ट तयार गरेको हो ।

सर्टलिस्टमा रमेश हमाल, डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेल परेका छन् । सर्टलिस्टमा परेका हमाल पूर्व गैरआवासीय नेपाली हुन् भने भट्ट राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक र कटुवाल त्रिभुवन विश्व विद्यालयका प्राध्यापक हुन् । सर्टलिस्टमा परेका गिरी बोर्डकै बहालवाला कार्यकारी निर्देशक र पोखरेल उपकार्यकारी निर्देशक हुन् ।

निकै बलिया प्रतिस्पर्धी मानिएका बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं र बोर्डका उपकार्यकारी निर्देशक डा. नबराज अधिकारी सर्टलिस्टमै नपरी बाहिरिएका छन् । सर्टलिस्टमा परेका पाँच जनालाई आगामी आइतबार अन्तरवार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । आइतबार अन्तरवार्ता लिएर पाँच जनामध्येबाट तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा पठाउने छनोट समितिको तयारी छ ।

कसको पल्ला भारी ?

अर्थमन्त्रालय स्रोतका अनुसार कांग्रेस निकट व्यक्ति नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुने पक्का भएको छ । बोर्ड अध्यक्षका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले चासो दिएको र उनले चाहेकै व्यक्ति आगामी अध्यक्ष बन्ने स्रोतले बताएको छ ।

‘कांग्रेस र माओवादीबीच सेयर बजारका दुई नियामक निकाय भागवण्डा भएको हो, बोर्ड अध्यक्ष कांग्रेसको भागमा परेको छ’ मन्त्रालय स्रोतले भन्यो । यसअघि नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नेकपा माओवादी केन्द्र निकट कृष्णबहादुर कार्की नियुक्त भइसकेका छन् । नेप्सेको कार्यकारी प्रमुख माओवादीलाई दिएर कांग्रेसले बोर्ड अध्यक्ष आफ्नो भागमा पार्ने भएको हो ।

सर्टलिस्टमै नपरी बाहिरिएका चापागाईं र अधिकारी दुवै माओवादी केन्द्र निकट हुन् । नेप्सेको सीईओ माओवादीका भागमा पारेपछि उनीहरु सर्टलिस्टमै परेनन् ।

भावी अध्यक्षको रुपमा हमालको सम्भावना वलियो रहेको स्रोत बताउँछ । हमाल एनआरएन थाइल्याण्डका पूर्व अध्यक्ष हुन् । पछिल्लो समय नेपालमै रहेका हमाल अर्थतन्त्र सम्बन्धी अध्ययन अनुसन्धानमा सक्रिय रहेका छन् । हमालको विकल्पमा डा. भट्ट वा गिरीलाई हेरिएको छ ।

‘प्रधानमन्त्रीको चाहना रमेश हमाल हो कि भन्ने संकेत देखिएको छ’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले आफैं चासो दिनु भएकाले अब उहाँले जो चाहानु हुन्छ, उहाँ नै बोर्डको अध्यक्ष हुने हो ।’

सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा मुछिएपछि सरकारले तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएको थियो । ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न बनेको छनोट समितिमै लामो समय विवादित बन्यो । पछि नेप्से र बोर्ड सत्ता साझेदार दुई प्रमुख दलबीच भागवण्डा गर्ने सहमति भएको थियो ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?