
२५ माघ, काठमाडौं । अभिनेता राजेश हमाल पछिल्लो पाँच वर्षदेखि ठूलो पर्दामा देखिएका छैनन् । अन्य अभिनेताहरु जस्तै उनी पनि म्युजिक भिडियोमै रमाइरहेका छन् । हुन त, हमाल गीत गाउन पनि तल्लीन छन् ।
हमाललाई तीन दर्जन बढी चलचित्रबाट अफर आएपनि उनले काम गरेनन् । निरन्तर चलचित्र असफल भएपछि उनले नयाँ चलचित्र रोज्नका लागि समय लगाएका थिए । उनले करिब चार वर्षपछि ‘सत्यम्’ नामक चलचित्र साइन गरे । हमालको यो चलचित्रको वर्कसप पनि भयो । हमालले चलचित्रका लागि शरीर पनि बनाए ।
तर, हमाल नै शीर्ष भूमिकामा रहने यो चलचित्र अब नबन्ने पक्काजस्तै छ । निर्माणपक्षले चलचित्र बन्ने वा नबन्ने विषयमा केही पनि बताएको छैन । तर, चलचित्रका कलाकारहरु भने अन्य प्रोजेक्टमा व्यस्त हुन थालिसकेका छन् ।
हमाललाई चलचित्र ‘प्रेमगीत ३’बाट पनि अफर आएको थियो । यो चलचित्रको अफर गर्न अभिनेता प्रदीप खड्का नै पुगेका थिए । तर, हमालले यो चलचित्रमा काम गर्ने मन बनाएनन् ।
अभिनेता हमालको कमब्याकको अपेक्षा गरेर बसेका उनका फ्यानहरु निराश छन् । किनकि, ‘सत्यम्’मा उनको दमदार अभिनय हेर्ने प्रतीक्षा गरेका दर्शकका लागि अब उनी ठूलो पर्दामा कहिले फर्किन्छन् भन्ने प्रश्न मात्र बाँकी छ ।
हमाल भने चलचित्रका लागि कथा पढिरहेको बताउन पछि पर्दैनन् । उनले चलचित्र निर्देशन गर्ने चर्चा पनि चर्चामै सीमित देखिएको छ ।
प्रतिक्रिया 4