+
+

१७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १६:१२

२५ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ ।

विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले जानकारी दिए ।

उनका अनुसार आयोगले माध्यमिक तहमा एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएका छन् । जसमध्ये ३५ हजार ५४५ जनाले फारम दस्तुर बुझाएका छन् ।

यस्तै निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जनाले आवेदन दिएका र ८५ हजार ६५३ जनाले फारम दस्तुर बुझाएका छन् ।

त्यस्तैगरी प्राथमिक तहको १३ हजार ९३ पदको लागि भएको विज्ञापनमा एक लाख १५ हजार ३५१ जनाले आवेदन दिएका छन् भने एक लाख १३ हजार ३८७ जनाले फारम भरेको दस्तुर बुझाएको आयोगले जनाएको छ ।

आयोगको तथ्यांक अनुसार इच्छुक उम्मेदवारले फारमको संख्या भन्दा फारम भरे बापत तिरिने रकम बुझाउनेको संख्या कम देखिएको छ । यस्तो हुनुको कारण कुनै उम्मेदवारले फाराम भरेर रकम नतिरि फेरि अर्को जिल्लाबाट फाराम भरि पैसा तिर्दा संख्यामा फरक पर्न गएको अनुमान गरेको छ ।

प्रवक्ता मरहट्टा भन्छन्, ‘इच्छुक उम्मेदवारले काठमाडौंबाट फाराम भर्नुभयो तर पैसा तिर्नुभएन । त्यही व्यक्तिले ललितपुरमा फाराम भरेर त्यहि भौचर भर्नुभयो तर अघिल्लो दरखास्त आफैं रद्द गर्नुपर्थ्‍यो तर गर्नुभएन भन्ने हाम्रो अनुमान हो ।’

आयोगले मंसिर २९ अनुसार माध्यामिक तहको विज्ञापन गरी माघ ८ सम्म आधारभूत तहमा १७ गतेसम्म र प्राविका लागि २२ गतेसम्म फारम भर्ने समयसीमा तोकेको थियो ।

आयोगको अनुसार मावि तहका शिक्षणका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन् । निमाविमा तहको शिक्षणका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले जानकारी दिए ।

प्रदेश एकबाट सबैभन्दा धेरै, कर्णालीबाट सबै भन्दा कम आवेदन

शिक्षक सेवा आयोगले मावि र निमावि तहका आवेदकहरुको मोटामोटी प्रदेश अनुसार संख्या छुट्याएको जानकारी दिएको छ ।

आयोगले प्रदेश अनुसार मावि तहमा आवेदन दिनेहरु सबै विषयमा प्रदेश एक बाट सबैभन्दा बढी र कर्णालीबाट सबैभन्दा कम आवेदन परेको छ ।

एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि मावि तहमा परेको ३५ हजार ५४५ आवेदन मध्ये प्रदेश एकबाट मात्रै ८ हजार ८ हजार ८३३ आवेदन परेको छ । भने कर्णाली प्रदेशबाट १ हजार ६२५ जनाले मात्रै आवेदन दिएका छन् ।

केन्द्र निर्धारणको जिम्मेवारी प्रदेश निर्देशनालयलाई

शिक्षक सेवा आयोगले केन्द्र निर्धारणको जिम्मेवारी प्रदेश निर्देशनालयलाई दिएको छ । आयोगले प्रदेश अनुसार आएको आवेदनको आधारमा प्रदेशलाई केन्द्र व्यवस्थापन गर्न सबै प्रदेशलाई पत्राचार गरेको जनाएको छ ।

माध्यामिक तहको शिक्षक पदको लागि केन्द्रमा परीक्षा सञ्चालन गर्न समस्या नदेखिए पनि निम्न माध्यामिक तह र प्रावि तहमा भने आवेदन दिने उम्मेद्वारको संख्या बढी भएकोले प्रदेश निर्देशनालयलाई जिम्मेवारी दिएको आयोगको भनाई छ ।

आयोगका प्रवक्ता मरहठ्ठा भन्छन् ‘यी निमावि तहमा आवेदन दिनको संख्या बढी भएकोले प्रदेश निर्देशनालयलाई वरीपरीको कुन जिल्लामा हामी परीक्षा सञ्चालन गर्न सकिन्छ तपाईंहरुले समन्वय गर्नुहोस् भनेर जिम्मेवारी दिएका छौं ।’ निर्देशनालयले दिएको विवरण अनुसार आयोगले केन्द्र निर्धारण गर्ने तयारी गरेको छ ।

प्रावि तहको हकमा सामान्य प्राविधिक समस्या आइरहेकाले समाधान भएपछि मात्रै कुन कुन जिल्लामा परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गर्ने आयोगले बताएको छ । कतिवटा केन्द्र बनाउने, कुन कुन जिल्लालाई सेवा समूह, कुन जिल्लाले कतिसम्म थेग्न सक्छ, जिल्ला शिक्षासँग समन्वय गर्ने लगायतको विषयमा अध्ययन गरिरहेको आयोगको भनाइ छ ।

कहिले पुग्छन् शिक्षक कक्षा कोठामा ?

आयोगले मावि तर्फको शिक्षक पदको परीक्षा मिति चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते तोकेको छ । ओएमआर (अप्टिकल मार्क रिडिङ) प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने आयोगको तयारी छ ।

चैतमा भएको परीक्षाको नतिजा प्राविधिक समस्या नभएको खण्डमा दुई महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता मरहट्टा भन्छन् ‘प्रविधिले धोका नदिए, सिस्टमहरु सबै अपडेट भए हामी दुई महिनाभित्रमा सामान्य तर्फको नतिजा सार्वजनिक गर्छौं ।’

सामान्य परीक्षामा पास हुन कम्तीमा ५० अंक ल्याउनुपर्छ । सामान्य परीक्षाबाट विषयगत परीक्षामा सहभागी हुन योग्य भएका उम्मेदवारलाई जेठ अथवा असार पहिलो हप्तामा आयोगले विषयगत परीक्षा लिने तयारी गरेको छ । विषयगत परीक्षा भएको ढिलोमा ६ महिनाभित्र शिक्षकलाई कक्षा कोठामा पठाउने तयारी गरेको आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता मरहट्टा भन्छन्, ‘हाम्रो कार्ययोजना अनुसार विषयगत परीक्षा भएको सकेसम्म छिटो र बढीमा ६ महिनाभित्र नतिजा सार्वजनिक गर्ने छ । कात्तिकसम्म हामीले शिक्षकहरुलाई सिफारिस गरिसक्छौं होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?