+
+

आमा खोज्दै रुन्छन् जिउँदै जलाइएकी राजकुमारीका छोराछोरी

जितेन्द्र आमा खोई भन्दै रोइरहन्छन् । एलकेजीमा अध्ययनरत जितेन्द्रलाई उनकी आमाले हरक्षण ख्याल राख्थिन् । बिहान उठाउने, नित्यकर्म गराउने, कपडा लगाइदिने र खाना खुवाउने स्कुल पठाउने काम आमाले नै गरिदिन्थिन् । राति आमासँगै सुत्थे उनी ।

श्रवण देव श्रवण देव
२०७८ माघ २५ गते १८:३८

२५ माघ, सप्तरी । पेट्रोल छर्केर आगो लगाइएकी सप्तरीको बोदे बर्साइन नगरपालिका–१ धनगढीकी राजकुमारी साहको उपचारको क्रममा शनिबार राति मृत्यु भयो । राजकुमारीको मृत्युपछि उनका आठ वर्षका छोरा जितेन्द्र किरिया बसेका छन् । दागबत्ती पनि उनैले दिए ।

जितेन्द्र आमा खोई भन्दै रोइरहन्छन् । एलकेजीमा अध्ययनरत जितेन्द्रलाई उनकी आमाले हरक्षण ख्याल राख्थिन् । बिहान उठाउने, नित्यकर्म गराउने, कपडा लगाइदिने र खाना खुवाउने स्कुल पठाउने काम आमाले नै गरिदिन्थिन् । राति आमासँगै सुत्थे उनी ।

सेतो वस्त्र अनि हातमा हरियो बाँसको करची बोकेका यी बालक देख्दा मृतकको घरमा आउने आफन्त र छिमेकी धेरैलाई रुवाउँछ । राजकुमारीकी दुई वर्षकी छोरी पनि छिन् । ‘छोरा र छोरी दुबैले आमा कहाँ छ भनेर सोधिरहन्छन्’ राजकुमारीका पति रवीन भन्छन्, ‘बच्चाको रुवाइले मलाई पनि रुवाएको छ ।’

रवीन अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्तामा छन् । ‘म बाहिरको काम गर्दा उनले घरको सबै काम सम्हाल्थिन्’ उनी भन्छन्, ‘उनले घरमै कपडा सिउने काम पनि गर्थिन् । हामी खुशी–खुशी जीवनयापन गर्दै आएका थियौं ।’

आफू काम विशेषले बोदे बर्साइन बजार गएको अनि आमा नजिकैको बारीबाट पराल लिन गएको बेला भाइ परमेश्वरले राजकुमारीलाई जलाएर भागेको उनले बताए ।

‘सुरुमा उसले लागूऔषध पनि प्रयोग गथ्र्यो, तर बीचमा छाडेको थियो । त्यही भएर बिहे पनि गराइदिएँ’ उनी भन्छन्, ‘सुध्रेको जस्तो लागेको थियो । तर यस्तो घटना भयो ।’

२१ माघको बिहान घरमा रोटी पकाइरहेको बेला २० बर्षीय परमेश्वरले २७ बर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका रविनले बताएका छन् । परमेश्वर हाल फरार छन् ।

महिला आयोगद्वारा अनुगमन

राजकुमारीको जलाएर हत्या गरेको घटनाको राष्ट्रिय महिला आयोगले अनुगमन गरेको छ ।

घटनाको जानकारी पाएपछि आयोगकी अध्यक्ष कमला पराजुली नेतृत्वको टोलीले मृतकको घर बोदे बर्साइन नगरपालिका–१ धनगढी स्थलगत जानकारी लिएको छ ।

टोलीले घटनाबारे मृतकका पति रबिन र परिवारका अरु सदस्यसँग कुराकानी गरेका छन् । अध्यक्ष पराजुलीले घटनाबारे जानकारी लिँदै दोषीलाई कानुन बमोजिम कारबाही गराउने प्रतिवद्धता व्यक्त गरिन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?