
२६ माघ,काठमाडौं । गीतकार विपिन किरणले एक दशकअघिको सुपरहिट गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’लाई फेरि गायिका रचना रिमालको स्वरमा सार्वजनिक गरे । गीत सार्वजनिक भएसँगै विपिन र रचना विवादमा तानिएका छन् ।
गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीत रहेको यो गजल गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएको हो । नयाँ भर्सनमा न त अञ्जु पन्तको नाम नै उल्लेख गरिएको छ, न त यसलाई कभर गीत नै भनिएको छ ।
यो विषयमा आम श्रोता र संगीतकर्मीहरुले आलोचना गरिरहेको बेला गायिका अञ्जु पन्तले पनि आफ्नो भनाइ सार्वजनिक गरेकी छन् ।
हाल अमेरिकामा रहेकी अञ्जुले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भर्खरै पुनः रेकर्ड भएर युट्युबमा सार्वजनिक भएको ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जनजनको मुटुमा बस्न सफल यो गीतपछि पुरुष स्वरमा गायक जगदीश समालले पनि गाउनुभयो । आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको यो गजललाई नयाँ गायक–गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन, त्यो विषयमा मेरो केही भन्नु छैन । केही समय अगाडि विपिन किरण भाइले यो गजलको नयाँ एरेञ्जमा मेरो स्वरमा नै रि-रेकर्ड गर्ने भन्नुभएको थियो । सोही अनुसार एरेञ्जर महाराज थापाले गर्नुभएको नयाँ एरेञ्ज मलाई पठाउनुभएको थियो । हामी समय अनुकूल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौं ।’
अञ्जुले विपिनले आफूलाई कभरको रुपमा किड्स भर्सन नयाँ भाइबहिनीलाई गाउने दिने कुरा गरेको र यसमा आफूले खुसीसाथ हुन्छ भनेको पनि उल्लेख गरेकी छन् ।
अञ्जुले अगाडि लेखेकी छन्, ‘अहिले नयाँ भर्सन गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैं स्वागत, आर्शिवाद र धेरै माया छ र रहिरहनेछ । उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दु:खद् र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाई थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ ।’
अञ्जुले यो विषयमा विवाद र चर्चा नगरी दर्शक-श्रोताको मागअनुसार समाधानको नयाँ उपाय निस्कनेमा आफू आशावादी रहेको पनि उल्लेख गरेकी छन् । साथै, उनले भोलिका दिनमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन आउने छैन भनेर आशा व्यक्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4