
२६ माघ, काठमाडौं । अनलाइन बालसुरक्षा र डिजिटल साक्षरता अभिवृद्धि गराउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले जानकारीमूलक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । सुरक्षित इन्टरनेट दिवसको अवसरमा प्राधिकरण, सिर्जनशील समाज, राष्ट्रिय बाल अधिकार परिषदसँगको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा सो प्रतियोगिता आयोजना गरिने प्राधिकरणले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
प्रतियोगितामा उत्कृष्ट भिडियोलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । बढीमा दुई मिनेटसम्मको भिडियो फागुन २ गते राति १२ बजेभित्र पठाउन भनिएको छ । प्रतियोगितामा सातै प्रदेशका १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीले भाग लिन सक्नेछन् ।
भिडियो बनाउँदा बालसुरक्षा र डिजिटल साक्षरताको विषयलाई समेट्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । भिडियो बनाउँदा व्यक्तिगत सामूहिक गरी बढीमा चार जनासम्मको समूहमा वा बाल क्लब÷विद्यालयमार्फत बनाउन सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।
भिडियो बनाउन विषयगत क्षेत्रभित्र रहेर आफ्नो रुचिअनुसार कथा, कविता गीत नाटक वक्तृत्वकला लगायत रचनाको माध्यमबाट आफ्नो सिर्जनशीलता प्रयोग गरी तयार पार्न सकिने पनि प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4