+
+

सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस-२२, यस्ता छन् फिचर्स

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १३:१८

दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजका ३ नयाँ फोन बुधबार फेब्रुअरी ९ मा सार्वजनिक गरेको छ ।

एक भर्चुअल कार्यक्रममार्फत् सामसुङले ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजनिक गरेको हो ।

सन् २०२२ को पहिलो सार्वजनिकीकरण कार्यक्रममा सार्वजनिक भएका एस २२ सिरिजका फोनसँगै सामसुङले ग्यालेक्सी नोट सिरिज भने बन्द गरेको छ ।

सामसुङले सार्वजनिक गरेको ग्यालेक्सी एस २२ अल्ट्राले एप्पलको आइफोन १३ प्रो म्याक्सलाई टक्कर दिने अपेक्षा गरिएको छ ।

एस २२ अल्ट्रामा ६.८ इन्चको स्क्रिनका साथै एस पेन स्टाइलस पनि रहेको छ । यसको मूल्य ११ सय ९९ डलर तोकिएको छ ।

एस २२ र एस २२ प्लसको मूल्य भने क्रमशः ८०० र एक हजार डलर रहेको छ । यसमा डाइनामिक एमोलेड प्यानलयुक्त डिस्प्ले रहेको छ जसको रिफ्रेस रेट १२० हर्ज छ । यसमा एस पेन राख्नका लागि छुट्टै ठाउँ बनाइएको छ ।

एस २२ अल्ट्राको अगाडि र पछाडिको भागमा गोरिल्ला ग्लास भिक्टस प्लसको प्रयोग गरिएको छ, जसले फोनलाई मजबुत बनाएको छ ।

यो फोनमा पछाडिपटि्ट ४ वटा क्यामरा छन् । त्यसमध्ये एउटा क्यामरा १०८ मेगापिक्सेलको वाइड क्यामरा रहेको छ । त्यस्तै १० मेगापिक्सेलका दुईवटा टेलिफोटो क्यामरा र १२ मेगापिक्सेलको चौथो अल्ट्रा वाइड एंगल क्यामरा रहेका छन् ।

एस २२ अल्ट्रामा ४० मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । ग्यालेक्सी एस २२ अल्ट्रामा प्रयोग गरिएका क्यामराहरूले कम प्रकाशमा समेत उत्कृष्ट फोटो तथा भिडियो खिच्न सक्ने कम्पनीले दाबी गरेको छ ।

एस २२ सिरिजमा सामसुङले आफ्नै एक्सिनोस २२०० प्रोसेसर प्रयोग गरेको छ । यो चिपमा उच्च क्षमतायुक्त ग्राफिक प्रोसेसिङ युनिट (जीपीयु) रहेको दाबी गरिएको छ ।

यो फोनमा ५ हजार मिलिएम्पियर आवरको ब्याट्री प्रयोग गरिएको छ जसमा ४५ वाट फास्ट चार्जिङ रहेको छ ।

ग्यालेक्सी एस २२ अल्ट्रा ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजको आधारभूत मोडेल बाहेक १२ जिबी र्‍याम  र २५६ जिबी स्टोरेज, १२ जिबी र्‍याम र ५१२ जिबी स्टोरेज तथा १२ जिबी र्‍याम र एक टिबी स्टोरेज मोडेलमा पनि उपलब्ध छ ।

ग्यालेक्सी एस २२ सिरिजसँगै सामसुङले आफ्नो ग्यालेक्सी ट्याब एस ८ सिरिजका ३ नयाँ ट्याब्लेट पनि सार्वज्निक गरेको छ । जसमा ट्याब एस ८, ट्याब एस ८ प्लस र ट्याब एस ८ अल्ट्रा रहेका छन् । त्यसमध्ये ट्याब एस ८ अल्ट्रामा १४.६ इन्चको स्क्रिन रहेको छ ।

सामसुङको ट्याब एस ८ अल्ट्राले एप्पलको आइप्याड प्रोलाई टक्कर दिने अपेक्षा गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?