+
+
सन्दर्भ : प्रणय दिवस :

प्रेमपत्र

चूडामणि रेग्मी चूडामणि रेग्मी
२०७८ माघ २८ गते ११:३८

प्रिय काली,

हेर न समय कति बदलिएछ । पोहोरको प्रणय दिवससम्म म हरेक दिन स्कुलबाट आएर फोन गरेर ‘के छ खबर ? के गर्दैछ्यौ ? सञ्चै हो ? दिन कस्तो रह्यो ? के खाजा खायौ ?’  भनेर नसोधिकन बस्न  सक्दिनथे  । मान्दैनथ्यो मेरो मन, बिहान उठेर ‘शुभप्रभात काली, सपना कस्तो देख्यौ ? के छ आजको कार्यक्रम ?’ भनेर तिमीलाई मेसेज नगरी चिया पिउनलाई । सक्दिनथे खाना खान तिमीलाई एक कल फोन गरेर ‘तिमीले खाना खायौ ?’ भनेर एकपल्ट पनि नसोधिकन ।

अटेर गर्दै मेरा पाइलाहरु कोठा छाड्नलाई तिमीलाई स्कुल जाने  बेलामा ‘काली, कस्ती देखिएकी छ्यौ, स्कुल पोशाकमा ? हेर्न मन लाग्यो । एउटा फोटो पठाउन ।’ भनेर नजिस्किकन । मान्दैनथ्यो मन लिजर समयमा कतै तिमी अनलाइन पो छ्यौ कि भनेर मेसेन्जर नचिहाइकन बस्न । रोकिन्नथे औंलाहरु स्कुलबाट फर्कने बित्तिकै तिम्रो मोबाइल नम्बर नथिचि रहन । पाक्दैनथ्यो खाना तिमीसँगै भिडियो कल नगरीकन । अनि फकिन्नथे  मेरा आँखाहरु चिम्लिनलाई, तिमीलाई ‘काली, आई मिस यू सो मच १ गुड नाइट ।’ भन्नु अगाडि तिम्रो मधुर बोली नसुनिकन । अनि तिम्रो मिठो हाँसोमा सार मिलाएर नहाँसिकन । अनि कहाँ झुल्कन्थ्यो र घाम हरेक बिहान तिमीसँग एकसरो मेसेज सेयर नगरीकन । अडिन्नथे मेरा पाइलाहरु हरेक बिदाका दिनमा तिम्रो डेरासम्म नपुगिकन । थामिन्नथे  मेरा हातहरु तिम्रो मायालु स्पर्शको अनुभूत नगरिकन फर्कनलाई । अनि कहाँ छुट्न मान्थ्यो र मेरो मन कोठा फर्कन तिम्रो मनको धड्कन ननापिकन ।

तर अचेल,

मेरो मन तिमीलाई बगैंचामा ढकमक्क फुलेको सुन्दर फूल सम्झन्छ । मेरो मन अस्ताउन लागेको सूर्य बनेर बगैंचाको फूललाई देख्ने बित्तिकै क्षितिजभित्र बिलाउन चाहँदैन । मन त, उदाउँदै गरेको घाम बनेर दिनभरि त्यही फूललाई चिहाइरहन चाहन्छ । आफ्ना रंगीन किरणहरु त्यही फूलका पत्र-पत्रभित्रका अनेक रंगहरुसँगै घुलाउन चाहन्छ । आफ्नो प्रकाशले दिनभरि फूलका पातहरुलाई खाना बनाउन सघाइरहन चाहन्छ । तिनै फूलका पातलाई स्पर्श गर्दै जरा-जरासम्म बग्न चाहन्छ ,मेरो मन, घामको किरण बनेर ।

काली, तिमी सागर हो । मलाई त्यो सागरको किनारमा उभिएर त्यसको सुन्दरता अवलोकन मात्र गरेर पुग्दैन, अचेल । मलाई त त्यही सागरको गहिराइसम्म पौडिएर डुब्न मन लाग्छ । मलाई त्यही सागरका सबभन्दा गहिरो भागमा हाम फालेर लामो समयको खडेरीले सुकेर परालजस्तै खरङ्ग भएको सुख्खा मेरो मनलाई अञ्जुलीका अञ्जुली पानी उघाएर भिजाउन मन लाग्छ । त्यही पानी पिइरहन मन लाग्छ । सकेपनि नसकेपनि त्यही सागरको गहिराइ र विशालता पौडिएर नाप्न चाहन्छ मन अचेल । तिम्रो मिठो बोली सुन्न पाउँदा संसारकै सबै भन्दा राम्रो, मिठो र दुर्लभ चिज पाएको अनुभव गर्ने मेरो मन तिम्रो मायालु स्पर्शको आश गरिरहन्छ अचेल ।  मोबाइलमा तिम्रो तस्वीर हेरेर चित्त बुझाउने मेरा आँखा तिम्रो साँच्चैको सुन्दर शरीर हेर्ने चाहना गर्छ हिजोआज । तिमीलाई भेटेर कसैले नदेख्ने मौका मिलाएर तिमीसँगै टाँसिएर बस्ने रहर गर्छ, स्वार्थी मेरो मन । पिपलको रुखको फेदमा आफ्नो काखमा तिमिलाई बसाई मेरा दुवै हातहरुले तिम्रो पेटमा च्याप बेरेर तिमीलाई आफूसँग बेस्सरी कस्न पनि त रहर गर्छ, काली, मेरो मन । तिमी मेरो आम्नेसाम्ने भएर उभिएको बेला तिम्रो काखीमुनिबाट मेरा दुवै हातहरु तिम्रो पिठ्यूँसम्म पुर्‍याएर तिमीलाई आफ्नो समीप राख्दा तिम्रो छातीले मेरो छातीलाई गहिरो स्पर्श गर्दाको आनन्द पनि त गुमाउन चाहँदैन, मेरो पापी मन । तिमीसँगको मेरो साथलाई मान्छेले मात्र होइन, घाम र जूनले पनि देखेको छैन भन्ने निश्चित भएको बेला, मेरो उत्ताउलो मनले मेरा लोभी ओठहरुलाई तिम्रो चाहना बुझेर, तिम्रा कञ्चन गाला र निधारभरि तिमीलाई आँखा बन्द गर्न लगाएर तिम्रा गुलाबी ओठभरि चुम्बनको वर्षा गराउन आदेश दिँदैन भन्ने के ग्यारेन्टी छ र, काली ?

उही तिम्रो

काले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?