+
+
फिल्म समीक्षा :

गहराइयाँ : सम्बन्धमा जेलिएको कथा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १४:०५

२८ माघ, काठमाडौं । ‘आई डोन्ट लाइक बिइङ एट होम… आई फिल सो स्टक’ अनन्त समुद्रको शून्यतर्फ हेर्दै अलिशाले जेनसँग भन्छिन् । पहिलो दृश्यबाट नै फिल्म सम्बन्धको भ्रमबाट गुज्रिन्छ । यसअघि फिल्म ‘कपूर एण्ड सन्स’मा शकुन बत्राले प्रेम, भिडन्त, पीडा, सीमा पर्खालबीचको लगावलाई उत्कृष्ट ढंगले देखाइसकेका छन् ।

ठीक यसैगरी फिल्म ‘गहराइयाँ’ले पनि सम्बन्धको कुरा गर्छ । सम्बन्धबीच प्रेम, घृणा, सत्य, झुट र लोभको कुरा गर्छ । यो फिल्म एक रिलेसनसिप ड्रामा हो, जो जटिल सम्बन्ध र जीवनको मार्गलाई नियन्त्रण राख्नका लागि गहिराइमा डुबेको छ । फिल्मले निर्णय लिने र त्यसको परिणामको बारेमा कुरा गर्छ । फिल्मले भावनात्मक रुपले तपाईंलाई जोडिराख्छ । भलै मध्यतिर केही सुस्त लागेपनि ।

कस्तो छ कथा ?

अलिशा (दीपिका पादुकोण) र करण (धैर्य करवा) बितेको ६ वर्षदेखि सम्बन्धमा छन् । उनीहरु एकसाथ बस्ने पनि गर्छन् । तर उनीहरुको जीवन भने फरक–फरक ट्र्याकमा हिंडिरहेको छ । एकसाथ बसेर पनि दुवैबीच एउटा दूरी छ । केही करिअरका लागि, केही संवादका लागि ।

यसैबीच प्रवेश हुन्छ अलिशाकी आफन्त टिया खन्ना (अनन्या पाण्डे)को । जो केही हप्ताका लागि आफ्नो हुनेवाला पति जेन (सिद्धान्त चतुर्वेदी)सँग अमेरिकाबाट भारत आएकी छन् । टियाको आमन्त्रणमा उनीहरु चार जना महाराष्ट्र राज्यको एक सहर अलिबागमा बस्छन् । तर यही बसाइमा उनीहरुको जीवनले नयाँ मोड लिन्छ ।

अलिशा र जेन भावनात्मक रुपले एकअर्कासँग नजिकिएको महसुस गर्छन् । दुवैको अतीतको कथाले उनीहरुलाई नजिक ल्याउँछ । सबै सीमा र सर्तहरु नाघेर उनीहरु एकअर्कासँग बाँधिन्छन् । तर न त जिन्दगी यति सजिलो हुन्छ, न सम्बन्धहरुको गाँठो त्यति सहजै फुत्कने खालका । व्यक्तिगत र व्यावसायिक जीवनमा एकअर्कासँग जोडिंदै र जुध्दै यी चार पात्र कस्तो परिस्थितिबाट गुज्रन्छन् ? कथा यही उतारचढावमा अगाडि बढ्छ ।

निर्देशन

कपूर एण्ड सन्सपछि शकुन बत्राको यो फिल्म प्रतिक्षित थियो । उनको आफ्नो एक अलग फिल्म मेकिङ शैली छ । सम्बन्धहरुलाई देखाउने एक मौलिक तौरतरिका छ । यस फिल्ममा पनि उनको यो खुबी प्रष्ट देखिन्छ ।

अभिनय

फिल्म मुख्यतः अलिशा खन्ना र जेन अर्थात् दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदीको वरिपरि घुमेको छ । उनीहरुको आकांक्षा र रुचिअनुसार कथामा नयाँ नयाँ मोड आउँछन् । उनीहरु दुवैको अभिनय बेजोड छ । साथै अनन्या र धैर्यले पनि आफ्नो चरित्रलाई न्याय गरेका छन् । नसीरुद्दीन शाह, रजत कपूरले कथालाई थप बलियो बनाएका छन् ।

प्रविधि

फिल्मको प्राविधिक पक्ष बलियो छ । नितेश भाटियाको सम्पादनले फिल्मलाई एक स्तरमा राखेको छ । फिल्ममा कहींपनि दर्शकको ध्यान भंग हुँदैन । कौशल शाहको सिनेम्याटोग्राफी उत्तिकै लोभलाग्दो छ । अलिबागको सौन्दर्य, समुद्रको गहिराइ, मुम्बईको दौडधूपबीच पात्रहरुबीचको मौनतालई उत्कृष्ट रुपमा देखाइएको छ । यसको संवाद यश सहाय र आयशा देवित्रेले लेखेका हुन्, जहाँ खोट लगाउने ठाउँ छैन ।

कलाकार : दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी, अनन्या पाण्डे, धैर्य करवा, नसीरुद्दीन शाह आदि

निर्देशक : शकुन बत्रा

अवधि : २ घण्टा २८ मिनेट

प्लेटफर्म : अमेजन प्राइम भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?