+
+

मिटर समायोजनमा ढिलाइ, झनै बढ्यो ट्याक्सीको ठगी

ट्याक्सी भाडा बढाउने बाग्मती प्रदेश सरकारले निर्णय अस्पष्ट र अपुरो हुँदा मिटर समायोजनमा ढिलाइ भएको छ । यसले ट्याक्सीमा हुने ठगी झन बढेको ट्राफिक प्ररहीले बताएको छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ माघ २८ गते १७:५१

२८ माघ, काठमाडौं । गत बुधबार ललितपुरको एकान्तकुनाबाट ट्याक्सी चढेर काठमाडौंको नयाँ बानेश्वर आएका सागर गौतमले मिटरमा उठेको भाडामा ५० रुपैयाँ थपेर तिर्न खोज्दा चालकले लिन मानेनन् । धेरै भाडा बढेको तर, नयाँ दरअनुसार सरकारले मिटर ‘सेट’ नगरिदिएको भन्दै ट्याक्सी चालकले थप दुई सय रुपैयाँ लाग्ने हिसाव सुनाए ।

‘नयाँ भाडादरअनुसार मिटर सेट भएको छैन, अलिकति थपिदिनुस् भनेपछि हुन्छ भनेर ट्याक्सी चढेको थिएँ,’ उनले  भने,’यति छोटो दूरीमा थप २०० रुपैयाँ दिनुपर्ने कुरा जायज लागेन, झगडा नै गर्नुपर्‍यो ।’  ट्याक्सी चालकले अस्वीकार गरेपनि थप १०० रुपैयाँ ट्याक्सीभित्र छाडेर उनी बाटो लागे ।

यसैपनि काठमाडौंमा मिटरमा गुड्ने ट्याक्सी भेटाउन मुस्किल छ । झन पछिल्ला दिनमा त मिटरमा नयाँ भाडादर सेट नभएको कारण देखाएर मोलमोलाइ नटुंग्याई अधिकांश ट्याक्सीहरु यात्रु नपसुन् भनेर ढोका ‘लक’ गरेर राख्छन् ।

यसले गर्दा यात्रु झनै ठगिने अवस्था बनेको छ । ट्याक्सी चालक र यात्रुबीच भाडा दरमा हुने विवाद बढेको छ । मिटरमा नचल्ने ट्याक्सीहरुले ठग्ने थप बाहना पाएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दास दैनिक औसत ५० वाट ट्याक्सी बढी  भाडा लिएका कारण कारवाहीमा परिरहेको बताउँछन् । ‘दैनिक ४८ देखि ५५ वटासम्म ट्याक्सी कारवाहीमा परिरहेका छन्,’ उनी भन्छन्,’ठगी घट्न सकेको छैन, हामी बढी भाडा लिएकालाई लगातार कारवाही अभियान चलाइरहेका छौं ।’

उनका अनुसार मिटर समायोजन नभएसम्म नयाँ भाडा दर लिन पाइँदैन । तर, अहिले सबैजसो ट्याक्सीले थप भाडा मागिरहेका छन् । त्यस्ता सबै ट्याक्सी ट्राफिकको कारवाहीमा पर्न सकेका छैनन् ।

प्रदेशको निर्णय अष्पष्ट

२० पुसमा बाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चलिरहेका ट्याक्सीको भाडादर बढाउने निर्णय गरेको थियो । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट ट्याक्सी भाडा बढाएको थियो ।

निर्णयअनुसार काठमाडौं उपत्यकामा ट्याक्सीको न्युनतम भाडा ६० रुपैयाँ (एक किलोमिटरसम्म)को तोकिएको छ । एक किलोमिटर पश्चात प्रत्येक २०० मिटरको यात्रामा ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुने गरी निर्णय भएको थियो ।

निर्णयअनुसार ट्याक्सीहरुले पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने हो । त्यस्तै ट्याक्सी प्रयोग गर्नेबित्तिकै सेवाग्रहीलाई सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अंग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्ने निर्णय प्रदेश सरकारले गरेको थियो ।

बढेको भाडादर ट्याक्सी व्यवसायी र चालकले आफैंले मिटरमा सेट गर्न पाउँदैनन् । नापतौल विभाग अन्तरगतको काठमाडौं कार्यालयले समायोजन भएको दरअनुसार मिटर सेट गरेर ‘सिल’ गर्नुपर्छ । यसलाई ‘मिटर समायोजन’ भन्ने गरिन्छ ।

नापतौल विभाग, काठमाडौं कार्यालयका प्रमुख मनिषकुमार दास प्रदेश सरकारले भाडादरबारे गरेको निर्णय अस्पष्ट भएको बताउँछन् । केही स्पष्ट पानुपर्ने विषयमा जवाफ मागिएको तर, अहिलेसम्म प्रदेश सरकारबाट पत्र नपाएको दासले बताए । सोही कारण मिटर समायोजनको काम थाल्न नसकिएको उनको प्रष्टीकरण छ ।

‘प्रदेश सरकारको निर्णयमा निर्णयमा रातमा लाग्दै डेढी (अतिरिक्त भाडा) के गर्ने भन्ने स्पष्ट छैन,’ उनले भने,’ट्याक्सी वेटिङ (जाम)मा बस्दा लाग्ने चार्ज के गर्ने भन्ने पनि स्पष्ट छैन ।’ यी विषयहरु स्पष्ट गर्न प्रदेशलाई अनुरोध गरिएपनि कुनै पत्र प्राप्त नभएको दासले बताए ।

पत्र आएपछि कार्यालयले सबै ट्याक्सीका लागि मिटर समायोजना गर्न आउने दिन तोकेर सूचना प्रकाशित गर्नेछ । दैनिक ४० देखि ५० वटा मात्रै ट्याक्सीका मिटरहरु समायोजन गर्न सकिने कार्यालय प्रमुख दासले बताए ।

चालक र व्यवसायी असुन्तुष्ट

काठमाडौंमा करिब साढे १० हजार वटा ट्याक्सी सञ्चालनमा छन् । ती सबै ट्याक्सीको मिटर समायोजन सक्न काम सुरु भएको मितिले किरब ६ महिनासम्म लाग्ने देखिएको छ ।

उपत्यका मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका उपाध्यक्ष विष्णु चौहान सरकारले भाडा समायोजनको निर्णय न्यायपूर्ण र वैज्ञानिक आधारमा नगरेको बताउँछन् । त्यसमाथि मिटर समायोजनमा पनि ढिलाइ गर्दा यात्रु र चालक दुबैलाई सास्ती भएको उनको भनाइ छ ।

‘सरकारले सुरुवाती भाडादर १५० रुपैयाँ तय गर्नुपर्ने थियो,’ उनले भने,’अहिले तय भएको ६० रुपैयाँ वैज्ञानिक छैन, हामीले त्यसबारे सरकारलाई ध्यानाकर्षण पनि गराएका छौं ।’

गण्डक प्रदेशले हालसालै १५ किलोमिटरभित्रमा ‘फ्लेग डाउन रेट’ ८० रुपैयाँ र प्रत्येक २ सय मिटरमा १० रुपैयाँका दरले ट्याक्सी भाडा निर्धारण गरेको छ । बाग्मती प्रदेशले त्योभन्दा पनि कम दर कायम गरेकाले व्यवसायी र चालकहरु नयाँ भाडादरमा पुनर्विचार गर्न दबाव दिइरहेका छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?