+
+

वीरगञ्जका राजेशमानले छाडे लोसपा, एमाले प्रवेश गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १८:१०

२८ माघ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहले पार्टी परित्याग गरेका छन् । वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्नेमध्येका एक नेता सिंह लोसपा परित्याग गरी छिट्टै नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् ।

नेता सिंहलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै वीरगञ्ज ल्याउने तयारी छ । नेता सिंहले बुधबार बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए । नेता सिंहले आफू एमाले प्रवेश गर्न लागेको पुष्टि पनि गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका थिए । १२ हजार १ सय ६५ मत ल्याएर उनी तेस्रो स्थानमा आएका थिए । त्यतिखेर राजपामै रहेका पर्सा क्षेत्र नं २ का सांसद बिमल श्रीवास्तवले लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएपछि उनी कमजोर बन्न पुगेका थिए ।

पछिल्लो समयमा उनले मधेस प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनुपर्छ भनेर आन्दोलन गरेका थिए । शुक्रबार नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गर्दै नेता सिंहले मधेस आन्दोलनको भावनालाई मधेसवादी दलका शीर्ष नेताले कुर्सीसँग सौदावाजी गरेकोले पार्टी परित्याग गरेको बताए ।

‘परिवर्तनको भोक र समानताका लागि मधेशी जनताले आन्दोलन गरे । तर आन्दोलनको भावनालाई मधेशी दलका शीर्ष नेताले कुर्सीसँग सौदाबाजी गरे’ उनले भने ।

मधेश र मधेशीको नाममा मधेशवादी दलले दोकान चलाइरहेको सिंहले टिप्पणी गरे । ‘मधेश सरकार पनि चरम भ्रष्टाचार, वेथिती, विसंगति, सत्ता र भत्ताको व्यवस्थापनमा मात्रै केद्रित भइरह्यो । मधेशी जनतासामु गरेको वाचा पनि पूरा गरेन’ उनले भने ।

वीरगञ्जलाई मधेश प्रदेशको राजधानी बनाउने भनेर मधेशी दलका शीर्ष नेताले घण्टाघरमा भाषण गरेपनि वाचा पूरा नगरेर धोका दिएको उनको भनाइ छ ।

नागरिकताको विषयमा अध्यादेश ल्याएर र मधेश आन्दोलनका क्रममा मुद्दा लागेका एक सय २० जनाको मुद्दा फिर्ता लिएर एमाले अध्यक्ष ओलीले आफ्नो मन जितेको नेता सिंहले बताए ।

‘हामीले सबैभन्दा बढी तत्कालिन केपी शर्मा ओली नेतृत्वको नै विरोध गरेका हौं । संविधानमा मुख्य रुपमा असन्तुष्टी रहेको नागरिकता सम्बन्धी विषयलाई अध्यादेश मार्फत सम्बोधन गर्ने काम भयो’ उनले भने ‘मधेश आन्दोलनका क्रममा राज्यबाट झुठा मुद्धा लगाईएका १ सय २० जनाको मुद्धा फिर्ता लिने काम ओलीले नै गरे । अब पनि ओलीको नेतृत्वमा नै मधेश आन्दोलनको माग पूरा हुन्छ भन्ने विश्वास छ ।’

एमालेबाट वीरगञ्जमा नगर प्रमुखको उम्मेदवार बन्न लागेको हो भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने, ‘पार्टीले मूल्यांकन गर्छ, भोलिका दिनमा पार्टीले टिकट दिएको खण्डमा मेयरमा लड्न पनि सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?