+
+
तुलसीपुर आगाली घटना :

आगो दन्किरह्यो, दमकल पानी खोज्दै घुमिरह्यो

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ माघ २८ गते १९:१५

२८ माघ, दाङ । तुलसीपुर उपमहानगरपालिका–५ को इरम फुटवेयर पसलमा बिहीबार राति १२ बजे सुरु भएको आगलागीमा परी दुई परिवारका पाँच जनाले ज्यान गुमाए ।

समयमा दमकल नआएका कारण आगलागीबाट ठूलो क्षति भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । तुलसीपुरका शेषकान्त ढकाल घरबाहिर हल्ला सुनेर बिहीबार राति १ बजे ब्यूँझिए । बाहिर आएर हेर्दा सँगै जोडिएको अर्को घरमा आगो दन्किरहेको देखे । दमकल नआइपुगेकाले प्रहरीसमेत हतास देखिन्थे । स्थानीय वासिन्दा र प्रहरी बाल्टिनबाट पानी खन्याइरहेका थिए ।

‘१२ बजे नै आगो लाग्न थालेको रहेछ’ उनले भने, ‘हामीले एक घण्टापछि थाहा पायौं ।’ प्रत्यक्षदर्शी ढकालका अनुसार करिब पौने २ बजेमात्र तुलसीपुर उपमहानगरपालिकाको दमकल आयो ।

तीन सय लिटर क्षमता भएको दमकलले पानी हाल्न थालेको केहीबेरमै सकियो । त्यसपछि पानी खोज्न गएको दमकल फर्किँदा ४५ मिनेट लाग्यो ।

‘आगाको मुश्लो झन्–झन् ठूलो भइरहेको थियो’ उनले भने, ‘तर आगो निभाउन न दमक थिए, न ट्ङ्याकर ।’ पानी लिन गएको एउटा ट्ङयाकर पनि समयमै फर्कन नसकेपछि स्थानीयले बाल्टिनबाट पानी हालेर निभाउन प्रयास गरे । ‘आगो ठूलो भएकाले बाल्टिनले पानी हालेर निभाउन सम्भव थिएन’ उनी भन्छन् ।

अर्का प्रत्यक्षदर्शी मीनराज भण्डारीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको दमकल पानी लिन गएको करिब एक घण्टापछि घोराही उपमहानगरपालिकाको दमकल घटनास्थल आइपुगेको थियो ।

‘करिब एक घण्टा आगो लागेको ठाउँमा कुनै दमकल थिएन । त्यो बेला आगोले ठूलो रुप लियो’ उनले भने, ‘समयमै दमकल आइपुगेको भए यति ठूलो क्षति हुने थिएन ।’

जुत्ताको गोदाम राखिएको कोठाबाट विद्युत सर्ट भएर सुरु भएको आगलागीमा ४० वर्षका नजरदिन अलि, उनका १३ वर्षीया छोरी साजिता खातुन र ५ वर्षीय छोरा आदिद्दिन अलीको मुत्यु भएको छ ।

त्यस्तै सो घरमा जुत्ता चप्पल पसल र गोदाम सञ्चालन गर्दै आएका हुसेन बक्सका छोरा १४ वर्षीय हसन बक्स र १६ वर्षीय मसिन बक्सको पनि मुत्यु भयो । उनीहरु तेस्रो तलामा बस्दै आएका थिए ।

प्रहरीका अनुसार बिहान ६ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालका अनुसार घरभित्र रहेका सबै जना बाहिर निस्कन नपाएपछि निस्ससिएर मृत्यु भएको हो ।

‘पानी खोज्दै दमकल फनफनी’

१२ बजे आगलागी सुरु भए पनि तुलसीपुर उपमहानगरपालिकाको दमकल पौने दुई बजेमात्र आगलागी भएको ठाउँमा पुगेको थियो । त्यो पनि एकैछिनमा पानी सकिएपछि पानी खोज्न बोरिङ भएतिर लगियो ।

तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका टोपबहादुर डाँगीका अनुसार पानी खोज्दै बजार छेउका केही बोरिङहरुमा सम्पर्क गरियो । तर कसैको फोन उठेनन् । घटनास्थलदेखि साढे दुई किलोमटिर टाढा एउटा बोरिङमा भने सम्पर्क भयो ।

‘रातमा सबै सुतेकाले तीन ठाउँवटा बोरिङ धाएपछि मात्र पानी भर्न सम्भव भयो’ उनी भन्छन्, ‘करिब पौने घन्टापछि मात्रै पानी भरेर दमकल पुनः घटनास्थल फर्कन सक्यो ।’

प्रत्यक्षदर्शी मीनराज भण्डारीले करिब ३ बजेदेखि मात्र तुलसीपुर र घोराहीको गरी दुईवटा दमकलले आगो निभाउन थालेको बताए । ‘आगो ठूलो भएकाले दमकलले मात्र आगो निभाउन सम्भव थियो’ उनले भने, ‘दमकलले पानी हाल्न सुरु गरेपछि मात्र आगो क्रमशः घट्दै गयो ।’

दमकल समयमै आइपुगेको भए यति ठूलो क्षति नहुने भण्डारी बताउँछन् ।

व्यवसायीहरूको मृत्यु भएको शोकमा तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रबार तुलसीपुर बजार बन्द गर्ने निर्णय गरेको छ । शोकमा शुक्रबार सबै व्यापार व्यवसाय बन्द गर्ने निर्णय भएको संघले जनाएको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?