+
+
युवापुस्ता :

चेल्सीदेखि आर्सनलसम्मका नेपाली ‘फ्यान क्लब’का रोमाञ्चक कथा

पछिल्लो समय फुटबलका पारखीहरू एक्लै-एक्लै होइन, संगठित भएर आफ्नो फुटबलप्रतिको माया र समर्थनलाई अभिव्यक्त गर्न थालेका छन् । फुटबलको भावनाले जोडिएका फ्यानहरू विभिन्न खेल समूह र क्लबमा संगठित हुन थालेका हुन् ।

अंगद सिंह अंगद सिंह
२०७८ माघ २९ गते २०:१०

विश्वको लोकप्रिय खेल हो- फुटबल । अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) का अनुसार विश्वका ३ अर्बर् ५० करोडभन्दा बढी मानिस फुटबलको फ्यान छन् । विश्वका हरेक देशमा फुटबलका पारखी छन् ।

संसारको एक कुनामा रहेका व्यक्तिलाई अर्को कुनामा रहेका व्यक्ति वा खेलाडीसँग भावनात्मक रूपले एकाकार गराउन सक्ने शक्ति फुटबलसँग रहेको छ । फुटबलको लोकप्रयताको मुख्य जग क्लब फुटबल र त्यसलाई पछ्याउने फ्यानहरू हुन् । उदाहरणका रूपमा नेपाली फुटबलप्रेमी तन्नेरीहरूलाई लिन सकिन्छ । उनीहरू विश्व फुटबलको एक कित्तामा रहेर आफ्नो मनपर्ने खेलाडी र क्लबलाई जोडदार समर्थन गर्छन् ।

संगठित शक्ति, वैधानिक आवद्धता

पछिल्लो समय फुटबलका पारखीहरू एक्लै-एक्लै होइन, संगठित भएर आफ्नो फुटबलप्रतिको माया र समर्थनलाई अभिव्यक्त गर्न थालेका छन् । फुटबलको भावनाले जोडिएका फ्यानहरू विभिन्न खेल समूह र क्लबमा संगठित हुन थालेका हुन् ।

सामाजिक सञ्जालको विकाससँगै यो अभ्यास अझ झांगिंदो छ । आर्सनल, लिभरपुल, चेल्सी, रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, टोटनहृयाम जस्ता विश्व चर्चित फुटबल क्लबका नेपाली समर्थक संगठित रूपमै अगाडि आएका छन् । उनीहरू सम्बन्धित क्लबबाट मान्यता प्राप्त आधिकारिक समर्थक समेत हुन् ।

आफूले समर्थन गरेको क्लबको खेल हेर्न फ्यान क्लबका सदस्यहरू एक ठाउँमा भेला हुन्छन् । यो कुरा उनीहरू क्लबमा आवद्ध हुँदाको शर्त पनि हो । खेल हेर्न फ्यान क्लबले कुनै रेस्टुरेन्ट, पव तथा बारसँग सम्झौता गरेका हुन्छन्, जहाँ उनीहरूले रमाइलो गर्दै खेल हेर्न सक्छन् । यसक्रममा समर्थकले क्लबको जर्सी लगाउँदै झण्डा समेत बोक्ने गर्छन् ।

पछिल्लो समय उनीहरू खेलको भावनाले जोडेको सम्बन्ध र शक्तिलाई सामाजिक काममा लगाउन थालेका छन् । यसरी फुटबल फ्यानहरूको क्लब फुटबल भावनाबाट फराकिलो बनेर सामाजिक काममा समेत अगाडि बढ्दैछ ।

फुटबलको फ्यान क्रेज भावनात्मक संवेगमा मात्र सीमित छैन । फ्यानहरूले क्लबबाटै आधिकारिक रूपमा मान्यता लिएका छन् । अर्थात् उनीहरू वैधताका साथ काम र समर्थन गरिरहेका छन् । केही नेपाली फ्यानहरू पनि यिनै वैधानिक क्लबहरूसँग आवद्ध छन् ।

‘मम फर चेञ्ज’ अभियान

आफूले समर्थन गरेका विदेशी फुटबल क्लबलाई समर्थन गर्नुका साथै फ्यान क्लबहरू यथाशक्य सामाजिक काममा समेत सहयोग गर्छन् । यसका धेरै उदाहरण छन् । केही समयअघि फ्यान क्लबले ‘मम फर चेञ्ज’ अभियान चलाए ।

यो अभियानमा नेपालमा रहेका सबै फ्यान क्लब सदस्यहरू उपस्थित भए । उनीहरूले मम बनाएर बिक्री गरे । त्यसबाट आएको आम्दानीबाट असहाय तथा विपन्न वर्गलाई सहयोग गरे । यो त उदाहरण मात्र हो ।

फुटबलका फ्यानहरूले संगठित रूपमा विभिन्न सामाजिक कार्य पनि गर्दै आइरहेका छन् । उनीहरू कहिले खाद्यान्न्ा सहयोग गर्छन् त कहिले लत्ताकपडा । कहिले आर्थिक सहयोग गर्छन् त कहिले सरसफाई कार्यक्रम गरेर सामाजिक कार्यमा अग्रसरता देखाइरहेका छन् ।

यस्तो सामाजिक कामलाई अगाडि बढाउन फुटबललाई माया गर्ने खेलप्रेमीहरू फेसबुक पेजमार्फत एकआपसमा जोडिन्छन् र क्लबलाई समर्थन गर्छन् ।

विदेशी क्लबलाई समर्थन, स्वदेशमा पनि सहयोग

आर्सनल नेपाल सपोटर्स क्लब नेपालका प्रमुख नवीन चित्रकार फ्यान क्लबले विदेशी क्लब र खेलाडीलाई मात्रै समर्थन नगरी स्वदेशमा पनि खेलकुद क्षेत्र तथा सामाजिक कार्यमा हातेमालो गरिरहेको बताउँछन् ।

‘आर्सनल नेपाल सपोटर्स क्लबले विदेशी क्लब र खेलाडीलाई मात्रै समर्थन गर्दैन’ उनी भन्छन्, ‘मनोरञ्जनका अतिरिक्त सामाजिक कार्यमा योगदान दिनका लागि क्लब स्थापना गरेका हौं ।’

आर्सनलका नेपाली समर्थकले असहाय, विपन्न तथा गरिब नागरिकलाई सक्दो आर्थिक सहयोग गर्नुका साथै समाजलाई फाइदा पुग्ने गरी काम गरिरहेको उनले जानकारी दिए ।

नेपालमा विदेशी क्लबका फ्यान तथा समर्थकले आधिकारिकताका लागि फुटबल क्लब दर्ता रहेको देशमा क्लब दर्ता गर्नुपर्छ ।

आर्सनलको नेपाली फ्यान क्लबको स्थापना सन् २००९ मा भएको हो । यसलाई बेलायतमा दर्ता गरिएको छ । फेसबुक पेज र अफिसियल मेम्बर गरी यो क्लबमा करिब ७ हजार फ्यान छन् । फ्यान क्लबको सदस्य हुनका लागि फेसबुक पेज लाइक गर्नुका साथै नाम दर्ता र केही शुल्क समेत तिर्नुपर्ने क्लबका प्रमुख चित्रकारले जानकारी दिए ।
फ्यानले सहयोग स्वरूप तिरेको शुल्कबाट फ्यान क्लबको कार्ड, टिसर्ट, टोपी, डायरी, हुडी, मफ्लर तथा क्लबका अन्य चिनारी उपलब्ध गराइन्छ ।

आर्सनल फ्यान क्लबले नाम दर्ताका लागि १५०० देखि १६०० सम्म सहयोग शुल्क तोकेको छ । यसमा फ्यान बन्नका लागि कसैलाई कर गरिंदैन । फुटबललाई माया र सपोर्ट गर्ने फुटबलप्रेमीहरू स्वस्फूर्त रूपमा फ्यान क्लबसँग जोडिन आउँछन् ।

खेलाडी भेट्ने अवसरसँगै निःशुल्क टिकट

आफूले समर्थन गरेको क्लबको खेल हुँदा स्वदेशमा जम्मा भएर खेल हेर्ने मात्रै होइन, कतिपय फ्यानहरू त विदेश पनि जाने गरेका छन् । यो अवसरमा उनीहरूले आफूलाई मन पर्ने खेलाडीसँग भेटघाट गर्ने अवसर पनि पाउँछन् ।

सन् २०१९ मा नवीन चित्रकारसहितको टोली म्यानचेस्टर सिटी र आर्सनलको म्याच हेर्न गएका थिए । फ्यान क्लबमार्फत गएकोले उनीहरूले त्यहाँ क्लब प्रशासन र खेलाडीलाई भेट्ने मौका पाएका थिए भने खेल हेर्नका लागि निःशुल्क ए क्लासको टिकटको व्यवस्था गरिएको हुन्छ । यद्यपि आउने-जाने टिकटको व्यवस्था भने आफैंले गर्नुपर्छ ।

‘नेपाली फुटबलको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले क्लबका प्रशिक्षक तथा खेलाडीलाई नेपाल ल्याउने चाहना भए पनि कोरोनाभाइरसका कारण ल्याउन सकेका छैनौं’ चित्रकार भन्छन्, ‘क्लबका प्रशिक्षक तथा खेलाडीलाई नेपाल ल्याउनेबारे कुरा भइरहेको छ, मिल्यो भने आउनु पनि हुन्छ ।’

यद्यपि, विदेशी प्रतिष्ठित क्लबका प्रशिक्षक तथा खेलाडीलाई नेपाल ल्याउँदा महँगो हवाई टिकट, खान-बस्नका लागि उच्चस्तरको व्यवस्था र सुरक्षाको कारण ल्याउने काम कठिन हुन्छ ।

फ्यान क्लबलाई बेलाबेला क्लब तथा खेलाडीले उत्प्रेरणा र हौसलाका लागि जर्सी, ब्यानर, झण्डा तथा विभिन्न किसिमका उपहार पठाइरहेका हुन्छन् । यसरी आफ्नो आदर्श क्लबबाट उपहार प्राप्त हँुदा उनीहरू भावनात्मक रूपले क्लबसँग थप नजिकिन्छन्  ।

आर्सनलका खेलाडी रोबिन भ्यान पर्सीले नेपाली फ्यानका लागि केही समय अघि आफ्नो हस्ताक्षर भएको जर्सी पठाएका थिए । ‘समर्थन गरेको क्लबका खेलाडी तथा प्रशासनले केही उपहार पठाउँदा काम गर्ने हौसला आउँछ, खेलप्रति झन् उत्साह पलाउँछ, हामीहरूका लागि त्यो नासो हो सम्झना हो’, उनले अनलाइनखबरसँग भने ।

आर्सनल फ्यान क्लब नेपालले सामाजिक कार्य गर्ने योजना भए पनि कोरोनाभाइरसको संक्रमण तथा लकडाउनका कारण काम गर्न पाएको छैन । फ्यान क्लबले समर्थकलाई सन् २०२४-२५ सम्म १० जनालाई विदेश घुमाउन लैजाने योजना बनाएको छ । क्लबले संसारभर छरिएर रहेका आफ्ना समर्थकले गरेका सामाजिक कार्य र क्लबको समर्थनमा गरेका कामहरूलाई अन्तर्राष्ट्रिय सेक्सनमा फोटोसहित छाप्ने गरेको छ । त्यस्तै क्लबले हरेक वर्ष फुटसल प्रतियोगितासमेत आयोजना गर्ने गरेको छ ।

‘फ्यान क्लबले आफूले सक्ने जति समाजलाई सहयोग गर्नुपर्छ’ चित्रकार भन्छन्, ‘फ्यान क्लब विदेशी क्लबको समर्थनका लागि मात्रै नभई नेपाली समाज र खेलकुदका लागि पनि हो ।’

चलायमान छ चेल्सी फ्यान क्लब

सन् २००८ मा स्थापना भएको चेल्सीको नेपाल फ्यान क्लबले खेलको मज्जा लिनुका साथै सामाजिक काममा पनि समय दिने गरेको छ । चेल्सी फ्यान क्लब नेपालका सेक्रेटरी सलिल श्रेष्ठका अनुसार फ्यान क्लबले तराईमा हावाहुरीले क्षति पुर्‍याउँदा त्यहाँका बालबालिकाका लागि खेलकुद सामग्री सहयोग गरेको थियो । त्यस्तै भूकम्पका बेला पनौतीमा औषधिका साथै लत्ताकपडा बाँडेको क्लबले पेप्सीकोलामा खाद्यान्न र बालिकाहरूलाई प्याड वितरण गरेर सहयोग गरेको थियो ।

‘फ्यान क्लबले विदेशी क्लब र खेलाडीलाई सपोर्ट गरेर मात्रै हुँदैन, परेको बेला नेपाली खेेलकुद क्षेत्र र समाजलाई पनि सहयोग गर्न सक्नुपर्छ’ सलिलको आग्रह छ, ‘नेपालमा भएका सबै क्लबका फ्यान मिलेर काम गरौं । कसैको सानो सहयोगले धेरैको जीवन सहज हुन सक्छ ।’

नेपालमा वर्षमा दुईवटा फुटसल प्रतियोगिता आयोजना गर्ने गरेको चेल्सीको नेपाल फ्यान क्लबले अहिलेसम्म १६ वटा यस्ता प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतियोगितामा भाग लिन आउने खेलाडीलाई उसले खाने-बस्ने व्यवस्था समेत गर्दै आएको छ ।

प्रतियोगिता हुँदा कार्ड होल्डर फ्यानले निःशुल्क खेल हेर्न पाउने व्यवस्था छ । फ्यान क्लबको सदस्य बन्न प्रत्येक फ्यानले सहयोग स्वरूप न्यूनतम ५०० देखि १७५० रुपैयाँसम्म लिने गरेको श्रेष्ठले जानकारी दिए ।

क्लबले फ्यानका लागि वाषिर्क रूपमा सदस्यताको लागि आवेदन खोल्ने गरेको छ । आवेदन अनलाइन/अफलाइन दुवै माध्यमबाट खोलिन्छ ।

‘सबै क्लबका फ्यान मिलेर काम गर्न सके नेपाली फुटबल र समाजका लागि केही गर्न सकिन्छ’ सलिल भन्छन्, ‘फ्यान क्लबको सर्कल ठूलो छ । सबै मिलेर काम गरौं ।’

चेल्सीको फ्यान क्लबमा करिब ६ हजार सदस्य जोडिएका छन् भने १६०० ‘जेन्युन फ्यान’ रहेका छन् । चेल्सीले नेपाली फ्यानका लागि यो वर्ष सबै खेलाडीको हस्ताक्षर भएको तीनवटा जर्सी पठाएको थियो । क्लबले एउटा जर्सी क्लबको खेल हेर्न नपाई ज्यान गुमाएका परिवारलाई उपलब्ध गराएका छन् भने अर्को जर्सी प्रशिक्षक सल्यान खड्कीलाई दियो । उनलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जर्सी हस्तान्तरण गरेका थिए ।

आफूले समर्थन गरेको क्लबको अब हुने म्याच हेर्नका लागि फ्यान क्लबले नेपालबाट ६ जनालाई पठाउने तयारी गरिरहेको श्रेष्ठ बताउँछन् । सपोटर्स क्लबबाट खेल हेर्न गएपछि आधिकारिक पत्र लगेर जानुपर्ने र त्यहाँ नाम लिस्ट पठाउनुपर्छ । त्यहाँ उनीहरूले निःशुल्क खेल हेर्न र खेलाडीलाई प्रत्यक्ष भेट्न पाउँछन् । साथै, उनीहरूले ट्रफीसँग फोटो खिच्ने अवसर पनि पाउँछन् ।

कान्छो क्लब पेना मेड्रेडिस्टा एभरेष्ट

विदेशी फुटबल क्लब रियल म्याडि्रडको नेपाली समर्थकको फ्यान क्लब हो पेना मेड्रेडिस्टा एभरेष्ट । गत वर्ष स्थापना भएको रियल मडि्रड समर्थक नेपाल फ्यान क्लबले लकडाउनका बेला विभिन्न अनाथालय तथा वृद्धाश्रममा गएर खाना खुवाउनुका साथै खाद्यान्न्ा सहयोग गरेको क्लबका प्रमुख रविन न्यौपानेले जानकारी दिए ।

न्यौपाने भन्छन्, ‘महामारी तथा भाइरसको संक्रमण हुँदा सोचे जति काम थर्न पाएनौं, फ्यान क्लबले समाजलाई सक्ने जति सहयोग गर्नुपर्छ, जसबाट हाम्रै नेपाली समाजको विकास हुन्छ ।’

एक वर्षअघि स्थापना भएको क्लबमा अहिले ६० हजार बढी फ्यान जोडिइसकेका छन् भने अफिसियल रूपमा ३०० जना सदस्य रहेका छन् । क्लब स्पेनमा दर्ता भई आधिकारिकता समेत पाइसकेको छ ।

स्थापना भएको धेरै नभएकाले अहिले समर्थक समूह आफैंले सक्ने सहयोग संकलन गरेर कार्यक्रम गरिरहेको रविनले जानकारी दिए । कोरोनाका कारण क्लबले समर्थकलाई अनलाइनमार्फत कार्ड उपलब्ध गराउने गरेको छ । समर्थक बन्नका लागि अहिले शुल्क तोकिएको छैन । यद्यपि, कोरोना साम्य भएपछि भने सहयोगका लागि शुल्क तोक्ने न्यौपानेले जानकारी दिए ।

रविनले तीन पटकसम्म विदेश गएर आफू समर्थक क्लबको खेल हेरेका छन् । क्लबका तत्कालीन खेलाडी सर्जियो रामोस, बेञ्जामिन, मार्सेलो, लुका मोडि्रच आदिलाई भेट्ने मौका पाएका थिए । उनीहरूसँग रविनको राम्रो सम्बन्ध छ ।

उनलाई सर्जियो रामोसले आफ्नो जर्सी खोलेर दिएका थिए भने अन्य सबै खेलाडीको हस्ताक्षर भएको १० जर्सी उपलब्ध गराएका थिए । ‘रियल मडि्रडका प्रशिक्षक तथा खेलाडी ल्याएर नेपालमा एकेडेमी स्थापना गरी नेपाली खेलकुदको विकास गर्ने गरी काम गरिरहेका छौं’, रविन भन्छन् ।

वामे सर्दै बार्सिलोना फ्यान क्लब

स्पेनिस फुटबल क्लब बार्सिलोना समर्थक नेपाली फ्यान क्लबले पनि सक्दो सामाजिक कार्यमा आफूलाई अग्रसर गराइरहेको छ ।

बार्सिलोना फ्यान क्लब नेपालका प्रमुख सविन प्रधानले क्लबले जाडोमा धादिङमा बालबालिकालाई न्यायो कपडा वितरण गर्नुका साथै मजदुरलाई खाना खुवाउने काममा केही नगदसहित खाद्यान्न्ा सहयोग गरेको जानकारी दिए । यहीबीचमा क्लबले अनाथालय तथा वृद्धाश्रममा ग्याँस र खाद्यान्न सहयोग गरेको बताए ।

बार्सिलोना फ्यान क्लब नेपाल चितवनले चितवनमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि नगद सहयोग गरेको थियो । ‘कोरोनाले गर्न सक्ने जति सहयोग गर्न सकेनौं तर परिस्थिति सामान्य भएपछि यथाशक्य सहयोगको अभियान अगाडि बढाउन तयार छौं’, प्रधानले भने ।

क्लब स्पेनमा दर्ता भइनसकेकाले अहिले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर काम भइरहेको उनले बताए । क्लबमा अहिले १ लाख ८१ हजार २०० जना आवद्ध भइसकेका छन् ।

फ्यान क्लबमा जोडिनका लागि फारम भरेर सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ । प्रधानका अनुसार क्लबमा भएका अधिकांश समर्थक विद्यार्थी भएकाले सदस्य बन्न लाग्ने शुल्क अधिकतम ३०० सम्म मात्रै तोकिएको छ ।

फुटबल लोकपि्रय र प्रसिद्धि कमाएको खेल भएकाले युवादेखि वयोवृद्धसम्म्ा फ्यान रहेको उनले बताए । ‘विदेशी फुटबल र खेलाडीलाई मात्रै समर्थन नगरी नेपाली फुटबललाई पनि माया र सहयोग गर्नुपर्छ । विदेशी क्लबका प्रशिक्षक तथा खेलाडीलाई नेपाल ल्याउन सके नेपाली फुटबलमा थोरै भए पनि प्रभाव पर्छ’, प्रधानले भने । फ्यान क्लबले विदेशी प्रशिक्षक तथा खेलाडी ल्याउन सके नयाँ-नयाँ प्रतिभाको पहिचान तथा खेलाडी उत्पादन गर्न सहज हुने उनको भनाइ छ ।

फ्यान क्लबले समर्थकलाई कार्डका साथै टिसर्ट, क्रिम, टेबल घडी, झोला आदि उपलब्ध गराउने गरेको छ ।

‘नेपाली फुटबलको विकासका लागि हामी सक्दो सहयोग गर्न तयार छौं’ बार्सिलोना फ्यान क्लब नेपालका प्रमुख सविन भन्छन्, ‘खेलकुद तथा समाज विकासमा हाम्रो सक्ने जति सहयोग रहन्छ ।’

क्रिकेटको पनि फ्यान क्लब

क्रिकेटलाई फुटबल पछिको दोस्रो लोकपि्रय खेल मानिन्छ । क्रिकेटका फ्यानहरू विश्वभर छरिएर रहेका छन् । क्रिकेटप्रेमीले क्रिकेटको समर्थनका लागि आ-आफ्नो देशमा फ्यान क्लब स्थापना गरी क्रिकेट तथा खेलाडीलाई समर्थन गरिरहेका छन् । यो सूचीमा नेपाल पनि प्रवेश गरेको छ ।

बेलायतका चर्चित क्रिकेट समर्थकहरूको संस्था ‘इङ्गल्यान्ड्स बार्मी आर्मी’ को आधिकारिक संस्थाको शाखा नेपालमा स्थापना भएको छ ।

नेपालमा रहेका इङ्गल्यान्डका क्रिकेट समर्थकलाई समेटेर लैजाने उद्देश्यले आजभन्दा पाँच वर्ष अघि स्थापना भएको संस्थाले नेपाल सरकारबाट स्वीकृति लिएर आफ्ना कार्यक्रम गरिरहेको छ ।

‘बार्मी आर्मीर् क्रिकेट नेपाल’ का अध्यक्ष नारायणप्रसाद अर्यालले संस्थाले नेपालमा क्रिकेटको विकासका लागि विभिन्न्ा प्रतियोगिता, लाइभ प्रसारण र विपन्न तथा गरिब खेलाडीलाई खेल सामग्री वितरण गर्ने बताए ।

‘नेपालको खेलकुद विकासका लागि विभिन्न खेल प्रतियोगिता र सामग्री वितरण गरी संस्थालाई थप उचाइमा पुर्‍याउँछौं’, अर्यालले भने ।

नेपालमा क्रिकेटप्रति खेलप्रेमीको लगाव बढ्दै गएको भन्दै सम्पूर्ण खेलप्रेमीलाई एकठाउँमा ल्याउन क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

बार्मी आर्मी क्रिकेट नेपालले सदस्यताका लागि आवेदनसमेत खुलाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?