+
+
विश्व रेडियो दिवस :

समुदायको स्वामित्व र विश्वासको खोजीमा सामुदायिक रेडियो

सरोज पौडेल सरोज पौडेल
२०७८ फागुन १ गते १०:४२

आजभन्दा करिब १२७ वर्ष पहिले अर्थात् सन् १८९५ मा इटलीका वैज्ञानिक मार्कोनीले विकास गरेको रेडियो तरङ्ग नेपालसम्म आइनपुग्ने कुरै भएन । विशेषगरी पानीजहाजमा सूचना आदानप्रदान गर्ने माध्यमको रूपमा विकास गरिएको तरङ्ग सूचना आदानप्रदान र मनोरञ्जनको भरपर्दो माध्यमको रूपमा विकास भयो । पहिलो पटक औपचारिक रूपमा सन् १९२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यबाट सुरु भएको रेडियोको इतिहास अहिले गाउँगाउँ, बस्ती-बस्तीसम्म पुगेको छ । फेब्रुअरी १३ अर्थात् आज विश्वका अन्य मुलुकसँगै नेपालमा पनि विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२००७ सालमा नेपालमा राणाविरोधी आन्दोलन चलिरहँदा विराटनगरको जुटमिलबाट प्रजातन्त्र रेडियोको नाममा सुरु भएको रेडियो प्रसारण प्रजातन्त्र स्थापनापछि सिंहदरबारमा सारियो र नेपाल रेडियोको नाममा २० चैत २००७ बाट प्रसारण सुरु गरियो । वि.सं. २०५४ मा नेपाल वातावरण पत्रकार समूहले रेडियो सगरमाथा प्रसारणको लागि अनुमति लिएर दक्षिणएशियाकै पहिलो सामुदायिक रेडियोको रूपमा इतिहास बनायो । अहिले नेपालमा प्रसारण हुने रेडियोको सङ्ख्या ७०० नाघेको छ । सामुदायिक रेडियो प्रसारक संघमा आवद्ध हुने सामुदायिक रेडियोको सङ्ख्या ३५० भन्दा धेरै छ ।

नेपाल जस्तो विकासोन्मुख मुलुकमा सूचना र सञ्चारको भरपर्दो माध्यम बनेको छ रेडियो । हिजोका दिनहरूमा आकाशवाणी, रेडियो नेपाल, अलइन्डिया रेडियो र बीबीसी सुनेर सूचना प्राप्त गर्ने श्रोताहरू अहिले आफ्नै आवाज आफ्नै गाउँघरको रेडियोबाट सुन्न पाउने भएका छन् ।

विपदको समयमा होस् वा सामान्य समयमा आम नेपालीको दैनिकी बन्न पुगेका छन् नेपालका सामुदायिक रेडियोहरू । गाउँ घरमा गोरु हराएको सूचनादेखि मेलापातसम्मका सूचना, आरनको विज्ञापनदेखि सोह्रश्राद्धसम्मको सूचना दिने काम सामुदायिक रेडियोले गरिरहेका छन् । त्यति मात्रै होइन, २०७२ सालको भूकम्पको समयमा होस् वा विश्वमा महामारीको रूपमा रहेको कोभिडको समयमा । नेपालका सामुदायिक रेडियोहरूले आफूलाई पटक-पटक अब्बल नै साबित गरिरहेका छन् । सञ्चारमाध्यमले गर्नुपर्ने शिक्षा, सूचना, मनोरञ्जन, अभिप्रेरणा र सामाजिकीकरणका कार्यहरू निरन्तर रूपमा नेपालका सामुदायिक रेडियोहरूले गर्दै आइरहेका छन् । त्यति मात्रै नभएर आधारभूत तहका जनताको कुराहरू नीति निर्माण तहसम्म पुर्‍याउने र नीति निर्माण तहमा रहेकाले गरेका कार्यहरू नागरिकलाई जानकारी गराउने पुलको काम पनि नेपालका रेडियोहरूले गरिरहेका छन् ।

राज्यले कानुनी हिसाबले परिभाषित नगरेतापनि नेपालमा दुई प्रकारका रेडियोहरू बढी प्रचलनमा रहेका छन्- सामुदायिक र व्यापारिक रेडियो । खासगरी सहकारी र एनजीओले गैरनाफामूलक रूपमा सञ्चालन गरेका रेडियोहरू सामुदायिक रेडियो हुन् भने कम्पनीले नाफा कमाउने उद्देश्यसहित सञ्चालन गरेका रेडियोहरू व्यापारिक रेडियो हुन् ।

विश्व रेडियो दिवसमा यो वर्षको नारा ‘रेडियो र विश्वास’ तय गरिएको छ । यो नाराले भन्न खोजेको छ- रेडियो विश्वसनीय छ र हुनुपर्छ । मात्रात्मक विकासलाई गुणात्मक विकासमा रूपान्तरण गर्दै दिगोपना खोज्नुपर्ने चुनौतीलाई यो नाराले संकेत गरेको छ

सञ्चालनमा स्वामित्व, सहभागिता र प्रसारण सामग्रीको हिसाबले सामुदायिक बन्ने कुरा अझै चुनौतीपूर्ण बन्दै गइरहेको छ । नेपालमा सूचना सामग्रीहरूको स्थानीयकरण गर्ने र तल्लो तहका मुद्दालाई मूल धारमा स्थापित गराउने सवालमा व्यापारिक रेडियोको तुलनामा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । समुदायको आवाज प्रतिबिम्वित गर्नका लागि सामुदायिक रेडियोहरू महत्वपूर्ण सारथि बनेका छन्, किसानका कुरा होस् या कमलरीका मुद्दा, भाषा प्रवर्द्धनको सवाल होस् वा स्थानीय कला-संस्कृतिको जगेर्ना, नेपालका सामुदायिक रेडियोहरूले महत्वपूर्ण र अद्वितीय भूमिका निर्वाह गरिरहेको कुरामा दुईमत छैन ।

‘मर्निङ वाक’ देखि रातको निद्रा पर्ने समयसम्म रेडियोले मानिसहरूलाई साथ दिइरहेको छ । मानिसहरू स्वभावैले आफ्नो नजिक भएको घटनाक्रमबारे तत्काल जानकारी चाहन्छ । त्यसको लागि पनि सामुदायिक रेडियो महत्वपूर्ण साधन बनेका छन् ।

खासगरी नेपालमा विपदको समय नेपालका सामुदायिक रेडियोहरूले खेलेको भूमिकाको त झन् विश्वभरि चर्चा हुने गर्दछ । कोरोना जस्तो महामारीको समय होस् वा २०७२ सालमा भएको महाविनाशकारी समयमा होस् । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोको समयको कुरा गरौं वा मेलम्चीमा बाढी आएको बेला, तराईको बाढी र डुबानको कुरा होस् वा हावाहुरीको, सामुदायिक रेडियोहरूले कठिन भन्दा कठिन परिस्थितिमा आफूलाई समुदायको सूचनाको असली माध्यमको रूपमा आफूलाई सावित गर्दै आएका छन् । मेलम्चीमा त बाढीको सूचना सम्प्रेषणको जिम्मेवारी पूरा गरिरहँदा रेडियो नै डुबानमा परेको थियो ।
कोरोना महामारीको समयमा जनतालाई सचेत बनाउने काम मात्रै होइन, रेडियोबाट शैक्षिक कक्षा समेत सञ्चालन भइरहेका छन् । भूकम्प गएको समयमा त नेपालका सामुदायिक रेडियोहरूले बारीको पाटामा बसेर समेत जनताको सूचनाको भोकलाई मेटाउने काम गरे । यसकारण पनि सञ्चारका अन्य माध्यमको तुलनामा रेडियोहरूको भूमिका महत्वपूर्ण रहेको कुरामा दुईमत छैन ।

विश्व रेडियो दिवस र यो वर्षको नारा

विश्व रेडियो दिवसमा यो वर्षको नारा ‘रेडियो र विश्वास’ तय गरिएको छ । यो नाराले भन्न खोजेको छ- रेडियो विश्वसनीय छ र हुनुपर्छ । पछिल्लो समयमा नेपालमा रेडियोहरूको सङ्ख्यामा त उल्लेख्य वृद्धि भएको छ, मात्रात्मक विकाससँगै गुणात्मक विकास र दिगोपनाको चुनौती थपिएका छन् ।

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनपछिको समयमा राजनैतिक प्रतिस्पर्धाको आधारमा एफएम रेडियो खोल्ने क्रम तीव्र भयो । यसले एउटा सानो सहरमा पनि धेरै रेडियो स्टेशनहरू स्थापना गरिए । त्यसमाथि राजनैतिक आग्रह र पूर्वाग्रहको कारण अस्वस्थ प्रतिस्पर्धा, साधनस्रोतको सीमितता, दक्ष जनशक्तिको अभावलगायतको कारणले पनि नेपालका रेडियोहरू समस्यामा रहेका छन् । अझै स्थानीय तहको निर्वाचन पछिको समयमा त निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो पक्षमा लाग्ने सञ्चारमाध्यमलाई मात्रै रकम विनियोजन गर्ने गरेको उदाहरण पनि प्रशस्त भेटिन्छन् ।

बिहानदेखि बेलुकासम्म गीत मात्रै प्रसारण गर्ने, समाचारजन्य र अन्य सूचनामूलक सामग्रीहरू अधिकांश काठमाडौंबाट जोड्ने काम पनि नभइरहेको होइन । अब भने त्यस्ता अभ्यासलाई निरुत्साहित गर्नुपर्ने भएको छ । स्थानीयस्तरमा भएका समस्याहरूको पहिचान गर्दै आमसञ्चारका माध्यमले गर्ने शिक्षा, सूचना, मनोरञ्जन र अभिप्रेरणाका कार्यहरू गर्दै सहभागिता, नेतृत्व, प्रसारण सामग्रीलगायतका सूचकलाई पछ्याउँदै सबै हिसाबले सामुदायिक रेडियो बन्नु हामी सबै रेडियोकर्मीको आजको आवश्यकता बनेको छ ।

नेपालका सामुदायिक रेडियोहरूको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ अकोराबले यस वर्ष पनि विभिन्न जिल्लासहित काठमाडौंमा समेत विभिन्न कार्यक्रम गरेर विश्व रेडियो दिवस मनाइरहेको छ । नेपालको ३५० भन्दा धेरै सामुदायिक रेडियोहरूको छाता संस्था अकोराबले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्क सीआईएनले स्थानीय भाषा प्रबर्द्धन, कला र संस्कृतिको जगेर्नाको साथै समाजमा पछाडि पारिएका समुदायको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउन भूमिका खेलिरहेको छ ।

निजी, व्यापारिक स्वार्थ र सरकारी स्वार्थको चेपमा परेका आधारभूत तहका नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्दै सामुदायिक रेडियोलाई वैकल्पिक सञ्चारमाध्यमको रूपमा विकास गर्न आवश्यक छ । सामुदायिक रेडियो वास्तवमै समुदायको स्वामित्वमा सञ्चालन गर्न सबैले आफ्नो सहभागिता र भूमिका बढाउँदै सभ्य र समृद्ध समाज निर्माणमा योगदान गर्न सकौं । विश्व रेडियो दिवसको शुभकामना Û

(लेखक कृषि रेडियो धादिङका स्टेशन म्यानेजर तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का कोषाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?