+
+

पनौतीको १२ वर्षे मकर मेलामा ५० लाख दर्शनार्थीले गरे स्नान तथा अवलोकन

रासस रासस
२०७८ फागुन १ गते १२:११

१ फागुन, काभ्रे । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक महत्त्वको १२ वर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो ।

मेला समापनका दिन शनिबार राजधानी काठमाडौंको पूर्वतर्फ अर्थात् अरनिको राजमार्ग तथा बनेपा-पनौती सडकमा ‘ट्राफिक’ व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे नै परेको थियो । बिहानैदेखि सडक जाम हुँदा बनेपादेखि पनौतीसम्मको छ किलोमिटर सडकमा सवारी निषेधसमेत गरिएको थियो ।

काठमाडौंबाट पनौतीसँग जोडिएका अन्य वैकल्पिक सडकसमेत दिनभरजसो जाम नै थिए । मेला सुरुवातको हप्ता कोरोना सङ्क्रमणको जोखिमका कारण मकर–स्नान मात्र गर्न दिइएको थियो । त्यसयता कोरोना सङ्क्रमण मत्थर हुँदै जाँदा पनौती नगरपालिका-६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा भक्तजनको भीड लाग्दै गएको थियो ।

शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर–स्नान तथा अवलोकन गरेको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ । समितिका सचिवालय संयोजक ईन्द्रप्रसाद अधिकारीले एक महिनाको अवधिमा ५० लाख दर्शनार्थीले मेला अवधिभर पनौतीको अवलोकन, मठ–मन्दिरको दर्शन तथा स्नान गरेको जानकारी दिए ।
‘कोभिडका कारण सुरुका दिन सुनसानजस्तै थियो, करिब १० दिनपछि दर्शनार्थीको घुइँचो लाग्दै गयो’, अधिकारीले भने । उनका अनुसार बिदाका दिन करिब दुई लाखसम्मले मेला अवलोकन गरेका थिए । त्रिवेणीघाटमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था रहँदै आएको छ ।

राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बगेझैं पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आएको छ ।

इन्देश्वर महादेवलगायत मन्दिरका कारण पनौती महत्त्वपूर्ण तीर्थस्थलका रुपमा मानिँदै आइएको छ । मेलामा काभ्रेपलाञ्चोकका अलावा राजधानीलगायत देशैभरबाट सहभागिता भएको नगरपालिकाले जनाएको छ । मेलामा नेपालका मात्र नभइ उत्तर भारत प्रयागबाट समेत तीर्थालु आएको नगरप्रमुख भीम न्यौपानले बताए ।

हरेक १२ वर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप भौतिक पूर्वाधारका कामसमेत गरिएको थियो भने सँगसँगै मेला प्रवर्द्धनका कार्यक्रमसमेत भएका थिए । मेलालाई थप व्यवस्थित बनाउन नगरपालिकासँग जोडिएका सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति गरिएका थिए ।

पनौतीका सबै प्रकारका विद्यालय एक महिनाका लागि बन्द गरिएको थियो । मेला अवधभिर मल्पी ड्यामबाट नियमित रुपले रोशी खोला तथा मल्पी–लीलावती बाँसडोल खोलामा स्वच्छ पानी बगाइएको थियो । यसका लागि खानी तथा खानीजन्य उत्खनन तथा पैठारी बन्द गरिएको थियो ।

मेला सम्पन्न गर्न गठित एक दर्जनभन्दा बढी उपभोक्ता समितिले त्रिवेणीघाट मात्र नभइ सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिँगारेका थिए । पनौतीभित्रका मठ-मन्दिर तथा पाटीमा रङरोगन तथा तोरणले झिलिमिली बनाइएको थियो । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गरिएका थिए ।

मेलालाई थप व्यवस्थित गर्न श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरी बेलिब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायाँबायाँ पैदलमार्ग, विश्रामस्थललगायत भौतिक संरचना निर्माण गरिएको थियो । नगरपालिकाले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिँगटीले छाउने र रथको आवश्यक मर्मत गरेको थियो ।

पनौतीबाट चल्ने सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला-२०७८, पनौती’लेखिएका स्टिकर तथा फ्लेक्स टाँगिएका थिए । नगरपालिकाको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?