+
+
भ्यालेन्टाइन्स डे :

एक दिन मात्रै नबगाऔं प्रेमको बाढी

चन्द्र पौडेल चन्द्र पौडेल
२०७८ फागुन २ गते ११:२०

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेलाई प्रेम जोडीहरूको महत्वपूर्ण दिनको रूपमा हेरिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेषगरी १४ फेब्रुअरीमा संसारभरिकै जोडीहरूले एकअर्काबीच प्रेम साटासाट गर्छन् ।

डियर लाइफलाइन,

भ्यालेन्टाइन्स डे किन मनाइन्छ थाहा छ तिमीलाई ? आजकै दिन प्रेम प्रस्ताव राख्नुको कारण र महत्व थाहा छ तिमीलाई ? यदि थाहा छैन भने सुन । भ्यालेन्टाइन्स डे इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन्सको इतिहास सम्झन सुदूर इतिहाससम्म पुग्नुपर्छ ।

रोममा क्याउडियस द्वितीय नाम गरेका सम्राटले शासन चलाउँथे । उनलाई लाग्थ्यो– सैनिकहरूले प्रेम र विवाह गर्दा गोप्य सूचनाहरू बाहिरिन सक्छ । त्यसैले उनले सैनिकहरूलाई प्रेम र विवाह गर्नबाट वर्जित गरेका थिए । तर पादरी सन्त भ्यालेन्टाइन्सलाई भने सैनिकहरूलाई शारीरिक संवेगविहीन बनाएर राख्ने कुरा पटक्कै चित्त बुझेन । उनले धेरैलाई प्रेम र विवाह गर्र्न उत्प्रेरित गरे भने कतिको त सामूहिक विवाह समेत गराइदिएका थिए । यसरी शासकीय प्रतिबन्ध तोडेका कारण त्यहाँका शासक क्लाउडियसले भ्यालेन्टाइन्सलाई जेलमा हाले र पछि मृत्युदण्ड दिएका थिए । त्यसपछि उनकै सम्झनामा भ्यालेन्टाइन्स डे मनाइएको हो ।

प्रिय ! कोही कसैलाई आफ्नोले सम्झनु त जो कसैको पनि नैसर्गिक अधिकार हो । हैन र ?

प्रेम कुनै धर्म, सम्पत्ति, जातजाति र भूगोलको सीमाभन्दा माथि हुन्छ । त्यसैले होला, मैले तिमीलाई माया गरिरहेको छु । तिमीलाई त थाहा पनि छैन होला, तिम्रो सम्झनाको बाछिटाले मेरो हृदय भिजिरहेको हुन्छ आजभोलि । म भौगोलिक रूपमा तिमीभन्दा टाढा भए पनि तिम्रो समिपमै छु झैं महसुस भइरहन्छ । म जहाँ गए पनि, रहे पनि मेरो यात्राको सहारा र सहयात्री तिम्रो याद नै बनिरहेको हुन्छ आजभोलि । मानसपटलमा आइरहने धेरै कुरा धुमिल हुनसक्छन् तर, तिम्रो याद निकै प्रष्ट छ । बुझ्यौ ?

तिमीलाई माया गर्छु भन्छु भनेर तिम्रो नजिक जान पनि सक्दिनँ म । किनकि तिमी मभन्दा निकै टाढा छौ । कहिले त लाग्छ, मैले तिमीलाई माया गर्ने पूर्वाधारहरू पूरा नभएर पनि हिम्मत नआएको पो हो कि ?

भ्यालेन्टाइन्स डे आफैंमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सिजन जत्तिकै हो । यो एकदमै अनियन्त्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र प्रेम गर्छु भनेर कहाँ हुने रहेछ र ? प्रेमको कुनै सीमितता रहेनछ । यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरू र आफूले प्रेम गरिनेहरू भएनन् भने जिउनुको कुनै सार्थकता नै हुँदैनथ्यो होला ।

प्रेम दुई विपरीत लिङ्गबीचको मात्र होइन, वास्तवमा प्रेम त परिवारसँग हुन्छ, आफ्ना प्रियजनहरूसँग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिस मात्र नभएर हरेक प्राणीलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ ।

आखिर माया गर्नेहरूका लागि त सधैं प्रेम दिवस नै हुन्छ तर प्रेमको बाढी एकदिन मात्रै बगाउँदा कतिपयको जीवन नारकीय बनाएको उदाहरण पनि छन्

प्रणय दिवसका रूपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षौं आँट गर्न नसकेकाहरू यही दिन प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षक दिन हुने गर्छ ।

यो दिनको पवित्रता र उपादेयता नबुझेका पछिल्लो पुस्ताले यसलाई विकृत पनि बनाउँदैछन् । प्रेमको नाममा विकृतिको पहाड ठडिन थालेको छ । भावनालाई शारीरिक आवश्यकताले विस्थापित गरिरहेका छन् । पवित्र प्रेम सम्बन्धको दुरुपयोग हुँदै गएको छ ।

शारीरिक सम्बन्धको लागि प्रेम गर्ने, जबर्जस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने महँगा विलासीका सामग्रीहरू आदानप्रदान गर्दै होटलका कोठाहरूमा जाने अभ्यास संस्कार नै बन्दैछ । विभिन्न अनैतिक क्रियाकलाप बढिरहेका छन् । क्षणिक आनन्दमा मोजमस्ती गर्दै प्रेमको परिभाषालाई नै विकृत बनाउने काम भइरहेको छ ।

हो, कुनै पनि पर्व मनाउनु नराम्रो होइन । यो कुरा कुनै पर्वलाई कसरी हामीले मनाइरहेका छौं भन्नेमा भर पर्छ । हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो । यो संस्कृतिको राम्रा पक्षलाई बिर्सिएर नयाँ पुस्ताले विकृत रूपमा यसलाई अगाडि बढाउनु विडम्बनापूर्ण कुरा हो ।

प्रणय दिवस पश्चिमी संस्कृति हो । हरेक संस्कृतिको आफ्नै महत्व हुन्छ । हामीले अरूको संस्कृतिको पनि सकारात्मक पक्ष अनुसरण गर्न सक्छौं । आफ्नै संस्कृति भए पनि नकारात्मक अभ्यासलाई निरुत्साहित गर्नुपर्छ । यो संस्कृतिका केही राम्रा पक्ष छन् तर, अनुसरण गर्ने क्रममा आधुनिक युवापुस्तामा एकदमै विकृति फैलिएको देखिन्छ । आधुनिकताको नाममा युवायुवतीले संस्कृति जगेर्ना भन्दा पनि विसङ्गति भित्र्याएका छन् ।

आखिर माया गर्नेहरूका लागि त सधैं प्रेम दिवस नै हुन्छ तर प्रेमको बाढी एकदिन मात्रै बगाउँदा कतिपयको जीवन नारकीय बनाएको उदाहरण पनि छन् । देखासिकीको प्रवृत्तिले हाम्रो मौलिक मूल्य र मान्यता प्रभावित बन्न थालेको छ । आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ भने माया प्रदर्शन गर्ने वस्तुजस्तो बनेको छ । गर्लफ्रेन्ड र ब्याइफ्रेन्ड बनाउने त फेसन नै चलेको छ ।

डियर लाइफलाइन !

प्रेमले जीवनमा सन्तुलन, सन्तोष र तृप्ति ल्याउँछ रे ! त्यसैले पनि मैले तिमीलाई प्रस्ताव गरिरहेको छु । हिमाली जडीबुटी जस्तै अर्गानिक माया, तिमी पनि सधैं यसरी नै माया गरिरहनु है !

तिमीलाई एउटा कुरा भनिहाल्छु । माया त इन्द्रधनुष जस्तै हुनुपर्छ, जहाँ जीवनका सम्पूर्ण रङ्गहरू समाहित हुनसकोस् । हो, मैले तिमीलाई त्यस्तै माया गरिरहेको छु । यस्तो लाग्दैछ– आजभोलि त यो मौसम तिम्रो मेरो लागि मात्र हो । तिमीलाई माया गरेदेखि मलाई दिन मात्र हैन, रात पनि निकै सुन्दर लाग्छ ।

आऊ हामी माया गरौं । प्रेम गरौं । विकृतिलाई हटाएर अपार उल्लास र उत्साहका साथ प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाऔं र प्रेमको सम्मान गरौं । ‘ह्याप्पी भ्यालेन्टाइन्स डे !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?