+
+

सिसडोल जाने सडकमा आन्दोलन, उठ्न छाड्यो काठमाडौंको फोहोर

संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छः मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते २०:३३

२ फागुन, काठमाडौं । पासाङल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गरेका छन् । यसका कारण ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध भएको छ । यसका कारण काठमाडौंमा फोहोर उठ्न छाडेको छ ।

आइतबारदेखि काठमाडौैंबाट फोहोर बोकेर गएका गाडी रोकिएका छन् । काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले पनि आइतबारबाट फहोर विसर्जनका लागि अवरोध भएको जानकारी दिइन् ।

‘मुड्खु-तीन पिप्ले सडक खण्डमा स्थानीयले सडकमा अवरोध गरेपछि फाहोर विसर्जनमा अवरोध भएको हो,’ उनले भने । उनले सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदारसँग सम्पर्क गर्ने र जतिसक्दो छिटो बाटो निर्माण गर्ने प्रतिवद्धता उहाँहरुबाट प्राप्त भए सडक अवरोध खुल्ने र फोहोर विसर्जनमा सहज हुने भन्दै त्यसका लागि पहल गरिरहेको जानकारी दिए ।

‘सडक निर्माण गर्ने जिम्मेवारी महानगरपालिकाको होइन,’ उनले भने, ‘तर फोहोर विसर्जनका लागि सहज वातावरण निर्माणका लागि हामीले सक्दो प्रयास गरिरहेका छौं  । स्थानीयले पनि सडक बन्ने प्रतिवद्धता व्यक्त भए भए अवरोध नगर्ने भन्नुभएको छ,’ उनले भने ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । ‘स्थानीयको आन्दोलनका कारण फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँ महानगरपालिका मात्रै होइन सम्पूर्ण उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिएर थप समस्या हुनसक्छ,’ प्रमुख शाक्यले भने, ‘त्यसैले संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्छु ।’

उनले ०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक-पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराए ।

‘यस्तो विषयमा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्वन्धित निकायले पहल गरोस् ।’

उनले त्यहाँको बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक-पटक रोकिदा गाली काठमाडौँ महानगरपालिकाले खानुपरेको पनि बताए ।

‘अहिले पनि कोरोनाको कहर हटेको छैन । यस्तो बेलामा सडकमा फोहोर थुपि्रने हो भने अन्य रोग फैलिने खतरा बढी हुन्छ,’ प्रमुख शाक्यले भने, ‘त्यसैले फोहोरको राजनीति कसैले नगरौं । सबैले आ-आˆनो जिम्मेवारी पुरा गरौं ।’

शाक्यले बञ्चरे डाँडाको अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा थप समस्या हुने पनि बताए । सरकारले समयमा निर्माण सम्पन्न नगर्ने हो भने अहिले फोहोर विसर्जन गरिरहेको स्थान सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भई आउँदो असार-साउनबाट फोहोर विसर्जनमा थप समस्या सिर्जना हुने उनले बताए ।

‘त्यसले काठमाडौं महानगर र उपत्यका नै दुर्गन्धले भयावह हुने खतरा बढी छ । त्यसैले छिटोभन्दा छिटो बञ्चरेडाँडाको काम सम्पन्न गरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । त्यसो भयो भने मात्रै आउँदो वर्षातमा फोहोर विसर्जनमा सहज हुने उनको भनाइ छ ।

फोहोर रोकेर आन्दोलन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि फोहोर-मैला व्यवस्थापनमा सरकारले सबैसँग समन्वय गरेर समाधान खोज्न आवश्यक रहेको शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?