+
+

उपेन्द्र यादवको प्रश्‍न : गरिबले कसरी लड्छन् महंगो चुनाव ?

मधेशीलाई गुलाम बनाउने शक्तिलाई तह लगाउने जिकिर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते २१:४७

३ फागुन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विश्वका धनी देशहरुभन्दा नेपाल जस्तो गरिब देशको चुनाव महंगो भएको बताएका छन् । उनले यस्तो महँगो चुनाव गरिब, दलित, पछाडि पारिएका वर्गले लड्न नसक्ने बताए ।

‘संविधानमा निर्वाचन प्रणाली धेरै महँगो छ त्यसलाई परिवर्तन गर्नुपर्छ’ धनुषाको धनौजी गाउँपालिकामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘नेपाल जस्तो गरिब देशमा यस किसिमको निर्वाचन प्रणालीको आवश्यकता छैन।’

स्थानीय तहको चुनाव गराउन सरकारले १० अर्ब बजेट छुट्टयाएँदा निर्वाचन आयोगले ५० अर्ब मागेको भन्दै उनले नेपाल जस्तो गरिब देशमा कसरी चुनाव हुने बताए ।

‘यो त सरकारी खर्च भयो, चुनाव लड्नेका निम्ति गरिने खर्च अन्य धनी देशभन्दा धेरै बढी छ’ उनले भने, ‘यति खर्चिलो चुनावमा दलित, महिला, गरिब पछाडि पारिएका व्यक्ति कसरी चुनाव लड्छ ? प्रदेश र संसदको चुनाव त अझ महंगो छ ।’

अध्यक्ष यादवले शाषकवर्ग संघीयता, लोकतन्त्र, गणतन्त्रलाई समाप्त गर्ने काममा लागेको भन्दै त्यहिं अनुरुप जसपामाथि हमला गरिरहेको बताए ।

संघीयता लोकतन्त्रको रक्षा जसपाले गरिरहेको र पहिला जसपालाई समाप्त गरे संघीयता आफैं समाप्त हुने भनेर अहिले पार्टीमाथि बाहिरी र आन्तरिक दुबै तर्फबाट हमला भइरहेको उनले बताए । ‘तर हरेक हमलालाई विफल गरेका छौं र आगामी दिनमा पनि विफल गर्छौं’ उनले भने ।

अब पुनः मधेशीलाई गुलाम बनाउन प्रयास गर्ने शक्तिलाई मधेशी जनताले तह लगाउने तर गुलाम नबन्ने उनले बताए ।

मधेश नामाकरणले पहिचान र सम्मान प्राप्त भयो

अध्यक्ष यादवले मधेशीलाई बिहारी, मर्सिया, विदेशी के के भनेर अपमानित गर्ने गरेको अवस्थामा मधेशीको आफ्नो प्रदेश बनेको बताए । ‘तपाईंको पहिचान यो भूमिबाट हुन्छ । पहिचान र सम्मान दुबै प्राप्त भएको छ । अब अपमान गर्ने दुस्साहस कसैले गर्न सक्दैनन्’ उनले भने ।

२ नम्बर मधेश प्रदेश बन्दा १ नम्बर प्रदेश किराँत, लिम्बुबान किन बन्दैन् ? भन्ने प्रश्न गर्दै उनले भने, ‘तर, कांग्रेस र कम्युनिष्टले त्यो चाहेको छैन ।’ अहिले केही उपलब्धि मात्रै भएको र लामो यात्रा गर्नुपर्ने भन्दै उनले अन्य प्रदेशका मधेशीको अधिकारका लागि संघर्ष गर्नुपर्ने बताए ।

‘सुनसरी, मोरङ, झापाका मधेशीलाई अलग लगेर राखिदियो । नारायणीभन्दा पश्चिमका मधेशी जिल्लालाई पनि अलग पारिदियो’ उनले भने, ‘ती जिल्लाहरुमा धेरै संख्यामा मधेशी समुदायका मान्छे छन् । नेपाली इतिहासभन्दा पनि पुरानो इतिहास उनीहरुको छ । त्यहाँका मधेशीको पहिचान, प्रतिनिधित्व, अधिकारबाट बञ्चित गर्ने षडयन्त्र गरिएको छ । मेचीदेखि महाकालीसम्मका मधेशीको अधिकारका लागि लड्नु जरुरी छ ।’

५३ प्रतिशत मधेशीको जनसंख्या भएको देशमा आधा हक दिनुपर्नेमा शाषकले दिन नचाहेको उनले बताए । मधेश प्रदेशको स्थापना भएपछि पहिचानमा आधारित प्रदेश बनेको र अन्य प्रदेशमा कांग्रेस र कम्युनिष्टले राजा महेन्द्रको बाटोमा गएर नदीनालाको नाममा प्रदेशको नाम राखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?