+
+

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

रोयल आचार्य रोयल आचार्य
२०७८ फागुन ५ गते १७:२०

५ फागुन, काठमाडौं । पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम सिफारिस गरेको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न बनेको छनोट समिति लामो समय विवादित बन्यो ।

पछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत र बोर्ड अध्यक्षमा सत्ता साझेदार दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहनामा हमाल अध्यक्ष नियुक्त भएका स्रोतको भनाइ छ ।

को हुन् हमाल ?

इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका डोटी सिलगढीका हमालले आठ वर्ष नेपाल विद्युत प्राधिकरणमा काम गरेका थिए ।

त्यसपछि उनले थाइल्याण्डको बैंककबाछ इन्टरनेसनल विजनेस एण्ड फाइनान्समा स्नात्तकोत्तर गरेका छन् ।  सन् २००७ देखि २०१० सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्याण्डको को अध्यक्ष भएका उनी ६ वर्षअघि मात्र नेपाल फर्किएका थिए ।

नेपाल फर्किए लगत्तै उनी थाइल्याण्डको चर्चित होटल ब्राण्ड दूषित थानीको चेन होटलको रुपमा काभ्रेमा पाँचतारे होटल निर्माण गरिरहेका छन् ।

आफूले विदेशमा सिकेको सीप र ज्ञानलाई भरपुर उपयोग गरेर बोर्डको नेतृत्व सम्हाल्ने उनले अनलाइनखबरलाई प्रतिक्रिया दिए । ‘म यहाँ केही गरौं भनेर आएको छु, सबैको सल्लाह सुझाव लिएर म काम गर्छु,’ उनले भने, ‘यो क्षेत्रमा सुधार गर्नुपर्ने ठाउँहरु धेरै छन्, म त्यसका लागि काम गर्छु ।’

साना लगानीकर्ताहरुको हितका लागि आफूले काम गर्ने हमालले बताए । धितोपत्र बोर्डको आन्तरिक क्षमता वृद्धि र बजार स्थिरताको लागि आफूले ध्यान दिने उनले बताए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?