+
+

हस्पिटालिटीमा मौलिक ब्राण्ड बन्दै पौवा

५ हजारलाई रोजगारी दिने 'मिसन १००'

टोपराज शर्मा टोपराज शर्मा
२०७८ फागुन ६ गते ९:५७

७ फागुन,बुटवल । रुपन्देहीको सालझण्डीमा गुल्मी हुंगाका ध्रुव न्यौपानेले ६ वर्षअघि ८ वटा रुमबाट सुरु गरेको होटेल पौवा हस्पिटालिटी क्षेत्रमा मौलिक ब्राण्डका रुपमा स्थापित बन्दै गएको छ ।

पाहुनालाई मौलिक नेपाली आतिथ्य सत्कार र स्वाद पस्कने उद्देश्यले २०७२ सालमा सुरु भएको पौवा छोटो अवधिमै १३ वटा सहरमा पुगेर चेन बिजनेसका रुपमा स्थापित भएको छ ।

तारे होटेल र रिसोर्टसमेत सञ्चालन गर्दै करिब तीन सय स्तरीय रुमसहित सेवा दिइरहेको पौवा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै शाखा सञ्जाल भएको होटेल हो । स्थानीय र कर्मचारीसमेत ४९ जनाको ५० करोड बढी लगानी भइसकेको पौवामा ४०० बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार सालझण्डी पछि दाङको लमहीमा १० रुमसहित पौवाको दोस्रो शाखा विस्तार भयो । तेस्रो शाखा भैरहवामा विमानस्थल नजिकै साढे २ बिघा क्षेत्रफलमा बाल उद्यान, २ वटा स्वीमिङ पुल र २० वटा रुमसहित सञ्चालनमा छ ।

भैरहवामै अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै थप ५ कठ्ठा जग्गामा एक सय रुमसहितको तारे होटेल सञ्चालनको तयारी छ । चौथो शाखा कपिलवस्तुको गोरुसिंगेमा ८ वटा रुमसहित र पांचौं शाखा जुम्लाको खलंगामा २८ रुमसहित सञ्चालन भए ।

लुम्बिनीको स्थायी राजधानी दाङको भालुबाङमा करिब एक बिघा आफ्नै जग्गामा भवनसहित पौवाको छैठौं शाखा सञ्चालन भयो । त्यहां २ सय जना क्षमताको क्याटरिङ र सेमिनार हलसहित २८ रुम छन् ।

३५ रुम र ५ सय जना क्षमताको सेमिनार हलसहित पौवाको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा छ । पाल्पाको तानसेमा २६ रुमसहित आठौं शाखा छ भने गुल्मीको रेसुंगा डांडामा ३५ रोपनीमा बगैंचासहितको पौवा रिसोर्ट सञ्चालनमा छ । त्यहाँ ११ रुम छन् । १० औं शाखा दाङकै घोराहीमा ७ रुमसहित सञ्चालनमा छ, त्यहाँ ३२ रुम बनाउने योजना छ ।

पोखराको लेकसाइड स्ट्रिट १ मा ४४ रुमसहित ११औं शाखा एक महिनाभित्र सञ्चालनको तयारी छ । यसबाहेक पौवाले धनगढीको चटकपुरमा र चितवनको टांडीमा एक-एक वटा होटेलको व्यवस्थापन जिम्मा लिएर आफ्नो ब्राण्डमा सञ्चालन गरेका छन् ।

दौरा सुरुवाल र टोपीमा सजिएका कर्मचारीबाट पाहुनालाई सत्कार अनि किचनमा नेपाली परम्परागत परिकारलाई नै प्राथमिकता दिएकाले पौवाले बेग्लै पहिचान बनाएको ब्राण्डिङ एण्ड मार्केटिङ प्रमुख विष्णु भण्डारी बताउँछन् । ‘हामीले हाइजेनिक परिकार र सत्कार दुवैमा मौलिक नेपालीपन दिन्छौं’भण्डारीले भने, ‘लाइभ किचन, पहाडी जिल्लाका अर्गानिक तरकारी, सिन्की,मस्यौरा,नेपाली अचार जस्ता हाइजेनिक परिकार पौवाको पहिचान बनेको छ ।’

आउँदो ९ वर्षभित्र सात वटै प्रदेशका मुख्य सहरमा शाखा विस्तार गरी सय वटा पुर्‍याउने र ५ हजारजनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य रहेको होटेल पौवा प्रालिका प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ‘१५ वर्षभित्र सात वटै प्रदेशका मुख्य सहरमा सेवा विस्तार गरी सय वटा शाखा पुर्‍याउने र कम्तीमा ५००० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी ‘मिसन १००’ को लक्ष्य छ’ ज्ञवालीले भने, ‘कोरोना महामारीकै बीचमा पाँच सहरमा सेवा विस्तार गर्न सफल भयौं,अबको ९ वर्षमा लक्ष्य पूरा गरेर नेपालको हस्पिटालिटीमा अग्रणी ब्राण्ड बन्छौं ।’

थोरै थोरै पुँजी भएका धेरै जना मिलेर हस्पिटालिटी र पर्यटन क्षेत्रमा नमूना काम गरौं भनेर पौवामा कर्मचारीलाई समेत सेयर दिएर मालिक बनाएर अघि बढ्दा सफलता मिलेको प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारी बताउँछन् । ‘पौवालाई सीमित व्यक्तिको व्यवसाय नभएर धेरैजनाको थोरै थोरै लगानीको सामूहिक सहकार्यको बेग्लै पहिचान दिन चाहेका छौं’ भण्डारीले भने, ‘होटेलमा क्यारिअर बनाउन चाहने कर्मचारीलाई २ प्रतिशतसम्म शेयर दिएर मालिक बनाएका छौं,अहिलेसम्म २५ जना कर्मचारी लगानीकर्ता भइसके ।’

होटेल पौवाले सामाजिक क्षेत्रमा योगदान गर्न करिब १० लाखको कुमार कार्की कल्याणकारी कोष स्थापना गरेको र यसै वर्ष यसलाई बढाएर २५ लाख पुर्‍याउने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?