+
+

‘युवाले पिछलग्गु राजनीति नगरे देश सप्रन्छ’

प्रकाश दुलाल प्रकाश दुलाल
२०७८ फागुन ६ गते १०:५९

राजनीतिले बिगार्‍यो, सब खत्तम भयो, नेपालमा बसेर केही पनि हुँदैन, विदेश जानुपर्छ भन्नेमा अधिकांश पढे–लेखेका युवा हुन्छन् । हुन पनि हो, आजसम्म कुनै पनि राजनीतिक दलले राम्रो स्कूल बनाएनन्, धर्मशाला बनाएनन्, न कुनै राम्रो व्यवसाय नै चलाए । अझ भन्ने हो भने आजसम्म कुनै राजनीतिक दलबाट न जनताले शुद्ध खानेपानी पाए, न सिटामोल र जीवनजल नै । पाए त केवल खोक्रा आश्वासन । यस अर्थमा भन्ने हो भने राजनीतिक दलले जनतासँग लिएर खाए, तर जनतालाई केही पनि दिएनन् । दिए त केवल आफ्ना आफन्त र दरसन्तानका लागि अकुत सम्पत्ति । जनताले खुवाइरहने अनि नेताचाहिं खाइरहने ? यो कहिलेसम्म चलिरहन्छ ?

आज सामाजिक सञ्जाल, सहरका चोक र गल्लीभरि युवा भेटिन्छन् । काम छैन र आफू बाँच्नका लागि उनीहरूका विभिन्न दलका कार्यकर्ताका रूपमा संलग्न हुन विवश छन् । युवाहरू जतिजति लोकतान्त्रिक र आधुनिक युगमा प्रवेश गरिरहेका छौं, उतिउति अल्छी, निराश र दिग्भ्रमित भइरहेका छौं । प्रजातन्त्रको अर्थ ‘बेटर लाइफ’ हो भन्ने बुझेर पनि जीवनलाई आफैं अझ राम्रो बनाउन प्रयास गर्नु त कता हो कता झन् अरूको मुख ताक्नमै अभ्यस्त छौं ।

हुन पनि हो; गाडी छ, गुडाउने बाटो छैन । सिलिन्डर छ, ग्याँस छैन । वायरिङ छ, बत्ती छैन । धारा छ, पानी छैन । स्वास्थ्य संस्था छन्, चिकित्सक छैनन् । कर्मचारी छन्, काम गर्दैनन् । मोबाइल छ, नेटवर्क छैन । पेट्रोलपम्प छ, तेल छैन । विद्यालय छन्, पाठ्यपुस्तक छैनन् । शिक्षक, प्राध्यापक छन्, पढाउँदैनन् । जसोतसो पढेर शिक्षा हासिल गरेका प्रमाणपत्र छन् तर रोजगारी छैन । कहाँ छ त मन बुझाउने ठाउँ युवाका लागि ? जसले दिन प्रतिदिन युवामा निराशा बढाएको बढायै छ ।

अहिले विभिन्न अभियन्ताका नाममा सामाजिक सञ्जाल र युट्युबमा नकारात्मकता र अराजकता बढिरहेका छन् र जसप्रति युवाको आकर्षण बढ्दो छ । तर, राजनीतिक दल भने फुटेका फुट्यै छन् र युवामा ती राजनीतिक दलप्रतिको वितृष्णा दिनानुदिन चुलिंदो छ । गाउँमा कोही मर्दा लास बोक्ने मलामी युवा पाइँदैनन्, सब विदेशतिर लागिसके, अलिअलि पढेका नपढेका सबै अझ धेरै पढेकाले त झन् नफर्किने मनस्थितिका साथ । पहिला पहिला गरिबहरू बसाइँ हिंड्थे, अहिले धनीहरू बसाइँ हिंड्दै छन् ।

देशभित्रै बसेकाहरू एउटा युट्युब, सामाजिक सञ्जालमा अराजकता मच्चाउने समूह वा विभिन्न पार्टीतिर लागेर चन्दा उठाएर जीवन चलाउँदै आफूलाई सामाजिक अभियन्ता र राजनीतिक कार्यकर्ता भन्दैछन् । उनीहरूका गतिविधिले उद्योगधन्दा खुल्ने होइन, बन्द हुने अवस्थामा पुगेका छन् । सामाजिक सञ्जालमा आफ्नो राजनीतिक करियर बनाउने नाममा संसारभर नेपाल फेलियर स्टेट हुन लागेको भने प्रचार गरिरहेका छन्, डलर कमाउने ध्याउन्नमा ।

यी सबै दृश्यले नवयुवा चित्त बुझाउने ठाउँ देख्दैनन् र भन्छन्, ‘यो सब नेताले गर्दा भएको हो ।’ जसले नयाँ पुस्तामा राजनीतिप्रति पूरै वितृष्णा जागेको छ । तर, देश बदल्न चाहने हो भने सक्षम युवापुस्ताले राजनीतिकर्मीलाई सरापेर मात्र बस्नुहुँदैन र राजनीतिमा भाग लिएर वर्तमानलाई बदल्ने दिशातर्फ लाग्नुपर्छ, जुन अहिलेको जस्तो पिछलग्गु राजनीति गरेर होइन ।

अहिलेका युवा नेता त ठूला नेताका केवल दास मात्र हुन् । उनीहरूमा आफ्नै खालको सोच र चिन्तन छैन । अनि पार्टीमा आफ्नो स्थान बलियो बनाउन कहिले कुन त कहिले कुन नेताको सामुन्नेमा गएर त्वंशरणम् गरेर नेताहरूको स्वार्थ पूरा गर्ने गोटी बनिरहेका छन् । उनीहरूबाट मुलुकले केही आशा गर्न सक्दैन ।

यो अवस्थालाई समाप्त पारेर नवयुवा अघि नबढ्ने हो भने देश झन् अधोगतिमा फस्ने निश्चित छ । त्यसैले युवा भाव र विचारले भरिपूर्ण सक्षम युवा जोस, जाँगर, आँट, साहस र धैर्यसहित अगाडि आउने जमर्को गर्न जरूरी छ, मुलुकको मुहार फेर्ने दृढसंकल्पका साथ ।

अहिलेका नेतालाई आम जनताको प्रश्न छ, यिनीहरू कुनै काम गर्दैनन् ? उनीहरूको कुनै आय स्रोत देखिंदैन तर विलासी जीवन कसरी बिताइरहेका छन् ? तपाईं कहाँबाट पैसा ल्याउनुहुन्छ भनेर नेताहरूसँग सोध्ने हो भने जवाफ हुन्न । त्यसैले यो प्रष्ट छ, उनीहरू पैसा लिइरहेका छन् देश विरोधी वा माफियासँग । हो, त्यसैले आज देशमा सबैभन्दा बढी विदेशी हस्तक्षेप बढेको छ । आफूलाई वामपन्थी र क्रान्तिकारी भन्नेमा त यो प्रवृत्ति झन् बढिरहेको छ ।

यो सबै चित्र हेर्दा स्पष्ट देखिन्छ, मुलुक दुर्घटनाको सन्ध्यामा छ । अवसरवादी दक्षिणपन्थी हुन् वा वामपन्थी, प्रजातन्त्रवादी हुन् कि तानाशाही नाम मात्र फरक हो । सबै पैसामुखी भइसकेका छन् । चुनाव जितेका हुन् कि नजितेका, संसदमा पुग्ने हुन् वा संसदमा नजाने, सबै उस्तै छन् । मुलुकको अर्थतन्त्र बिगार्न र अस्मिता लुट्न उनीहरू व्यस्त छन् । तसर्थ यिनीहरूसँग आशा गर्नु बेकार छ ।

अहिलेका युवा नेता त ठूला नेताका केवल दास मात्र हुन् । उनीहरूमा आफ्नै खालको सोच र चिन्तन छैन । अनि पार्टीमा आफ्नो स्थान बलियो बनाउन कहिले कुन त कहिले कुन नेताको सामुन्नेमा गएर त्वंशरणम् गरेर नेताहरूको स्वार्थ पूरा गर्ने गोटी बनिरहेका छन् ।

त्यसैले अब यस्तो प्रवृत्तिको जगेर्ना गर्ने होइन, जरैदेखि उखेलेर फाल्नुपर्छ । झट्ट सुन्दा यो अर्काको आलोचना र निराशाजस्तो लाग्छ । तर के गर्ने ? देशको वास्तविकता यही हो । त्यसैले यसका विरुद्ध धावा बोल्नुभन्दा पहिला युवा आफू आधुनिक दासको मानसिकता मुक्त हुनुपर्छ ।

एउटै मान्छेले सबै कुरा गर्नुपर्ने हाम्रो बुझाइ रहेको छ । धान रोप्ने पनि, बेच्ने पनि, बजार खोज्ने पनि सबै एउटै किसानले गर्नुपर्ने हाम्रो परम्परागत पद्धतिले गर्दा यस्तो मानसिकतामा वृद्धि भएको हो । म एक्लै सबैथोक गर्छु भनेर संसार जित्न खोज्ने प्रवृत्ति हामी युवामा पनि छ । यसले हामीलाई कहीं पनि पुर्‍याउँदैन । कम्तिमा विशिष्टताका साथ आफ्नो काम गर्ने र बाँकी अरूसँग भर पर्ने बानी युवाले बसाल्नै पर्छ । नत्र सबै म गर्छु भन्ने अनि गर्न चाहिं केही पनि नसक्ने अवस्था हुुन्छ । त्यसैले अब थ्यौरी अफ स्पेसलाइजेसनलाई युवाले अँगाल्नै पर्छ । अनि मात्र हुन्छ, मुलुक र युवाको प्रगति ।

एकातिर जीवनको अन्तिम अवस्थामा पुगिसकेको एउटा वृद्ध व्यक्ति थप केही समय पाएँ भने के–के न गर्छु भन्ने आशामा एक मिनेट भए पनि बाँच्ने प्रयास गर्दै अस्पतालमा छट्पटाइरहेको हुन्छ भने अर्कोतिर लक्का जवान व्यक्ति जीवनको अर्थ नभेटेर डोरीमा पासो लागेर लौका फले जस्तो आत्महत्या गरिरहेको छ । यो हाम्रो अहिलेको वास्तविकता हो । यस्तै अर्को वास्तविकता भनेको एकातिर टाउको दुखेर ऐया, ऐया भनिरहेको साथीलाई दुई सय रुपैयाँको औषधि किनेर नदिने तर रेस्टुराँको मादक पदार्थ बिरामी हुने गरी मज्जाले खुवाउने चलन पनि युवामा बढ्दो छ ।

एक रुपैयाँ कर तिर्न नमान्ने तर २० रुपैयाँ टिप्स दिंदा पनि थोरै दिएजस्तो ठान्ने । अनि युट्युब र सामाजिक सञ्जालमा अनावश्यक कुराहरू हेर्न समय निकाल्ने तर देशका लागि के गर्ने भनेर तीन मिनेट पनि नसोच्ने प्रवृत्ति बढ्दो छ युवामा । देशका ठूल्ठूला उद्योग बन्द भए भनेर सरकारलाई गाली गर्र्ने तर आफैंले केही फलाएर, भइरहेको वा खेर गइरहेको वस्तुलाई व्यवस्थित गरेर बन्द नहुने गरी चलाउन सक्छौं भन्ने कुरामा एक मिनेट पनि ध्यान नदिने ।

फलानो फटाहा हो भनेर अरूको निन्दा गर्न जोस लगाउँछौं । तर, असल काम गर्नेलाई एक शब्द प्रशंसा गर्न पनि हिच्किचाउँछौं र प्रशंसा गर्नुपर्दा आफू सानो भएको ठान्छौं । विदेशीले सीमा मिचेको कुरा जोडतोडका साथ उचाल्छौं । तर, आफू भने छिमेकीको साँध मिच्न छोड्दैनौं । हो, यी सबै बेमेल सोचबाट हामीले हेर्न थाल्यौं भने मात्र हामीले नयाँ बाटो समाउन सक्छौं र समस्याको समाधान खोज्न सक्षम हुन्छौं ।

तर, अहिले पनि बिहानदेखि बेलुकासम्म जिन्दावाद र मुर्दावाद भन्नेहरू हामी कि त विद्यार्थी हौं, कि विद्यार्थी जीवन पार गरेका बेरोजगार युवाहरू । हामीले एकछिन सोचौं, २०६२/६३ सालमा हामीले जिन्दावाद मुर्दावाद भनेर ल्याएको गणतन्त्र, संघीयता र संविधानले हामीलाई के दियो ? दश वर्ष लगाएर बनाएको संविधानको कार्यान्वयनमा संविधान बनाउनेहरूकै बीचमा मतभेद भएर देशमा विधिको शासन कमजोर भएको छ ।

संसदीय व्यवस्थामा संसदको सर्वोच्चता सरकारका गठबन्धनका नाममा कुण्ठित भएको छ । संसदले फैसला गर्ने एमसीसी दुई वर्षदेखि सभामुखको टेबुलको घर्रामा सीमित छ र हामी सामाजिक सञ्जाल र सडकमा तमासा देखाइरहेका छौं ।
एमसीसी सहायता सम्झौताको ५० करोड अमेरिकी डलरमा ४० करोड अमेरिकी डलर अनुदान सहायताले बन्ने ४०० के.भी. लप्सीफेदी, रातामाटा, दमौली तीनवटा सवस्टेसन र ३१३ कि.मी. डबल सर्किट प्रसारण लाइन तथा ५.२ करोड अमेरिकी डलर अनुदान सहयोगले बन्ने ७७ कि.मी. सडक एवं ४.८ करोड डलर खर्चेर नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने बुटवल–गोरखपुर ४०० के.भी. को नेपाल–भारत सीमासम्मको २२ कि.मी. अन्तरदेशीय प्रसारण लाइन हो ।

करिब ८३ हजार मेगावाट विद्युत् उत्पादन सम्भावना रहेको हाम्रो देशमा अहिलेसम्म २ हजार ७० मेगावाट अर्थात् सम्भावनाको करिब २ प्रतिशत मात्रै विद्युत् उत्पादन छ । यसैगरी अहिले सरकारी क्षेत्रबाट ६१० र निजी क्षेत्रबाट ३ हजार ५०६ मे.वा. निर्माणाधीन छन् भने निजी क्षेत्रबाट २ हजार १४१ मेगावाट पीपीए गरेर निर्माणको चरणमा छन् र १ हजार ८५२ मेगावाटको विद्युत् जडान सम्झौता सम्पन्न भएर पीपीएको पर्खाइमा छन् ।

तर नेपाल सरकारले सीमापार विद्युत् व्यापारको लागि आवश्यक विद्युत् प्रसारण लाइनको निर्माण गर्न नसकेर तीन वर्षदेखि कुनै पनि आयोजनाको पीपीए भएको छैन भने निजी क्षेत्रका ७२ मे.वा आयोजनाले सर्वेक्षण कार्य सम्पन्न गरेर विद्युत् जडान सम्झौताका आवेदन गरे पनि सोही कारणले विद्युत् जडान सम्झौता रोकिएको छ । यी आयोजनाहरूको पहिचान, अध्ययन, विकासका लागि निजी क्षेत्रले अहिलेसम्म करिब १२ खर्ब लगानी गरिसकेको छ भने आगामी पाँच वर्षमा थप १७ खर्बभन्दा बढी लगानी गर्नेछ ।

यसैगरी पाँच वर्षमा थप १३ हजार मे.वा. विद्युत् उत्पादन सँगै सोको प्रवाहको लागि उत्तर–दक्षिण, पूर्व–पश्चिम ४००, २२०, १३२ र ३३ के.भी. लाइन तथा सवस्टेसनहरूको निर्माण र स्तरोन्नतिको लागि करिब ९ खर्बभन्दा बढी लगानी आवश्यक छ । यसरी आगामी पाँच वर्षमा १३ हजार मे.वा. विद्युत् बनेमा जलविद्युत् क्षेत्रमा करिब २६ खर्ब लगानी हुनेछ । जुन लगानी प्रत्येक वर्ष ५ खर्ब २५ अर्बका दरले पूर्वाधार निर्माणमा खर्च गर्नुपर्छ र यो सरकारको हाल भैरहेको वास्तविक विकास खर्च १ खर्ब ७५/८० अर्बको तेब्बर बढी हो ।

यस्तो महत्वपूर्ण विषयमा संसदमा हुनुपर्ने बहस र छलफललाई सडकको विषय बनाएर नेपाली दाजुभाइका बीचमा राष्ट्रवादी र राष्ट्रघातीको नाममा कटुता बढाएको छ ।

यो आर्थिक वर्षमा नेपालले भारतबाट २ अर्ब २५ करोडको विद्युत् आयात गरेको छ । पाँच वर्षमा १३ मे.वा. विद्युत् बनेमा आगामी दिनमा विद्युत् निर्यात गरेर सोझै व्यापार घाटा घटाउन सकिन्छ भने खाना पकाउने ग्याँसको विस्थापनको लागि विद्युतीय चुलोको उपयोग, विद्युतीय सवारी साधनको प्रवद्र्धन तथा उद्योगलाई पर्याप्त विद्युत् दिनसके पेट्रोलियम पदार्थको बढ्दो आयातमा नियन्त्रण हुने र यसका अलावा आयकर, धितोपत्र बजारमा शेयर खरिद–बिक्री कर अरबौं राजस्व उठ्नेछ । यस बाहेक हामीले उपयोग गरेर बढी भएको विद्युत् एमसीसीले बनाउने बुटवल गोरखपुर प्रसारण लाइन मार्फत निकासी गरेर व्यापार घाटा घटाउन सकिनेछ ।प्रसारण लाइन निर्माण र सीमापार विद्युत् व्यापारको सुनिश्चितता भएमा आगामी पाँच वर्षमा थप १३ हजार मे.वा. विद्युत् आयोजना निर्माण भई बर्सेनि प्रत्यक्ष ८ लाख रोजगारी सिर्जना भएर युवाहरूले मासिक २५/३० हजार कमाउनको लागि खाडी मुलुक जानुपर्ने छैन र करिब १ लाख ३० हजार जनाले दीर्घकालीन रोजगारी पाउनेछौं । आयोजना निर्माणका समयमा सरकारलाई १ खर्ब ८० अर्ब भ्याट प्राप्त हुनेछ भने आयोजना निर्माणपछि १५ वर्षसम्म वार्षिक ९ अर्ब ३० करोड र १६ वर्षदेखि ३० वर्ष ५३ अर्ब रोयल्टी प्राप्त हुनेछ र ३० वर्षपछि यी सबै आयोजना सरकारी हुनेछन् ।

यस्तो महत्वपूर्ण विषयमा संसदमा हुनुपर्ने बहस र छलफललाई सडकको विषय बनाएर नेपाली दाजुभाइका बीचमा राष्ट्रवादी र राष्ट्रघातीको नाममा कटुता बढाएको छ । यसमा हामी युवाहरू अगाडि छौं । हिजो विश्व बैंकको सफ्ट लोनमा बन्न लागेको अरुण–३ जलविद्युत् आयोजना नबनेर देशमा १८ घण्टासम्मको लोडसेडिङ्ग भएको तथ्यलाई भुलेर राष्ट्रवादका नाममा एमसीसीले बनाउने प्रसारण लाइन बन्न नदिने विकास विरोधी खोक्रो राष्ट्रवादले केही मानिसलाई आगामी चुनावबाट सत्तामा पुग्ने र अकुत सम्पत्ति जोड्ने अवसर त मिल्ला तर हामी युवाहरूले पछुताउनुपर्नेछ ।

हिजो जनताको राज्यसत्ता स्थापना गर्न भन्दै हजारौं युवा माओवादी आन्दोलनमा हिंडे । हजारौं जनसेनालाई राज्यले दिएको रकम समेत पार्टीले लिएर तिमीहरूको उपयोगिता सकियो, अब जेसुकै गर शैलीमा घर फर्काइयो । हरेक पार्टीका युवाहरूलाई यसरी नै दुरुपयोग गरिएको छ । यस्ता दृश्यबाट पनि नेपाली युवाले नबुझेर उनैको खोक्रो राष्ट्रवादको पछि लागिरहेका छौं । यस्तै हो भने फेरि पनि हामी युवाहरू कम्युनिष्ट नामधारी नेताका लागि आवश्यकता परुञ्जेल र आफूमा जोस हुञ्जेल उपयोग गर्ने औजार मात्रै हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?