+
+
अन्तर्वार्ता :

‘बुद्धले जहाज संख्या २१ पुर्‍याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते २१:४४

६ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । निकट भविश्यमा आधा दर्जन जहाज थप्ने तयारी गरिरहेको कम्पनीले पोखरा केन्द्रित क्षेत्रीय उडान आक्रामक रुपमा विस्तार गरिरहेको छ ।

नेपालमा हवाइ यात्रु र उडान संख्या बढिरहँदा बेलाबेला सुरक्षाका विषयमा पनि प्रश्न उठ्ने गरेको छ । यी विषयमा अनलाइनखबरकर्मी अच्युत पुरीले बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग गरेको कुराकानी :

कोरोना महामारीबाट उठ्दै गर्दा हवाई उद्योगको पछिल्लो अवस्था के छ ?

महामारीका बेला आवत–जावतमा रोक लाग्दा सबभन्दा ठूलो प्रभाव हवाई यातायातले बेहोर्नुपर्‍यो । सन् २०१९ मा झण्डै ४२ लाख आन्तरिक यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेकोमा २० मा यो संख्या घटेर ११ लाखमा झरेको तथ्यांक छ । २०२१ मा केही सुधार भएर यात्रु संख्या साढे १४ लाख पुग्यो । हवाई सेवाले बेहोर्नु परेको भयाभह अवस्था यो तथ्यांकले नै दर्शाउँछ । महामारी अगाडि वार्षिक साढे ३२ हजार उडान हुने गरेकोमा २०२१ मा यो संख्या घटेर साढे ११ हजारमा सीमित भएको थियो ।

अहिले तीव्र ‘रिकभरी’को अवस्था हो ?

बन्दाबन्दी खुल्नासाथ हवाई यात्रामा यात्रुको चाप बढेको छ । यसमा दुईवटा कारण महसुस भएको छ– एउटा भाडा सस्तो हुनु र अर्को महामारीको त्रासमा हवाई सेवा धेरै सुरक्षित छ भन्ने भावना बढ्नु ।

सुरक्षा प्रोटोकल पालनामा हामी निकै सजग भयौं । मिहिन ढंगबाट अध्ययन गर्‍यौं, प्रोटोकल बनायौं, कार्यान्वयन गर्‍यौं र यसलाई स्थापित गर्‍यौं । यो कारणले यात्रुहरु उड्न थाले, संक्रमण पनि फैलिएन । यसबाट यात्रुमा विश्वास बढ्यो । हामीलाई पनि सेवा दिन सहज भयो ।

विमान कम्पनीहरुको अबको चासो के–के हुन् ? जसलाई सम्बोधन गर्न जरुरी होस् ।

सबभन्दा अहम विषय– संसारभर महामारी उत्तरार्धतर्फ पुगेको बुझाइ छ । भारतले अनिवार्य पीसीआर हटायो । उनीहरु खोपमा केन्द्रित भएका छन् ।

हामी पनि वायुसेवा सञ्चालक संघको तर्फबाट प्रधानमन्त्रीज्यूलाई एक निवेदन दिने क्रममा छौं, जसमा पीसीआर हटाउनु पर्ने माग छ । सीसीएमसीसीले भर्न लगाउने फारमले यात्रुलाई झन्झट मात्र दिइरहेको छ । यसमा सहजीकरण गरिदिनु पर्छ ।

भारतमा हवाई यात्रा सहज भएपछि नेपालमा भारतीय यात्रु संख्या बढ्छ । आउँदो महिनाबाटै भारतीय पर्यटक बढ्ने छन् । उनीहरुलाई आकर्षित गर्न नेपाल सरकारले अब सहजीकरणको नीति लिनुपर्छ । विदेशी मुद्रा सञ्चितिको समस्या हटाउन पनि पर्यटक आकर्षित गर्ने विशेष नीति आवश्यक भइसकेको छ । पीसीआरको झन्झट हट्ने वित्तिकै विदेशी पर्यटक बढ्छन् ।
अहिले सबै गुम्सिएर बसेका छन् । प्राथमिकताका साथ काम गर्नुपर्‍यो ।

पछिल्लो समय बुद्ध एयर आक्रामक बजार विस्तार नीतिमा देखिन्छ, के–के योजना छन् ?

आन्तरिक यात्रु बढ्दै छन् । यसलाई नघटाउने हाम्रो रणनीति छ । साथै, विदेशी पर्यटक आकर्षित गर्ने रणनीति छ । हवाई यात्रालाई बढी सुविधाजनक र सस्तो बनाउने हाम्रो रणनीति हो । त्यहीअनुसार पोखरा रुटको भाडा घटायौं । विभिन्न गन्तव्यको ‘डलर फेयर’लाई नेपाली यात्रुलाई सरह बनाएका छौं ।

पोखरालाई दोस्रो ‘हब’ बनाउन खोज्दैछौं । पोखराबाट यही वर्ष दैनिक २५–३० वटा उडान हुन्छ । यसमा पर्वतीय उडान समेत पर्छ-बस्नेत ।

हामी पोखरालाई दोस्रो ‘हब’ बनाउन खोज्दैछौं । पोखराबाट यही वर्ष दैनिक २५–३० वटा उडान हुन्छ । यसमा पर्वतीय उडान समेत पर्छ । राजविराजबाहेक तराईका सबै गन्तव्यलाई पोखरासँग यसैवर्ष जोड्छौं । यो काम अर्को महिनाबाटै सुरु हुन्छ ।

पोखराबाट ठूला जहाजहरुको उडान बढाउँछौं । यसबाट नेपाली र विदेशी दुवै पर्यटकलाई पोखरा आएर पोखरा र आसपास पुग्न सुविस्ता हुन्छ । सीमा क्षेत्रका भारतीय शहरहरुका पाहुनालाई पोखरा आउन सहज बनाउँदै छौं हामी ।

जनकपुरबाट दुई घण्टाको ‘ड्राइभ’मा पुगिन्छ, भारतको दरभंगा । त्यहाँबाट भारतका सबैजसो ठूलो सहरमा उडान हुन्छ । अब हामी भारतीय वा नेपालीहरुलाई जनकपुर हुँदै नेपाली गन्तव्यहरुमा पुग्न सहज बनाउँदै छौं । यो यात्रा यस्तो पनि हुने छ । यसले सीमा क्षेत्रको आवागमन बढाउने छ ।

हामी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा आओस् भन्ने चाहन्छौं । त्यहाँ हामी सुरुमा चार वटा ठूला जहाज राख्छौं । चाहिए अनुसार थप्दै जान्छौं । पोखराबाट पहिलो चरणमा अहिले भएकै जहाजबाट भारतको नयाँ दिल्ली दैनिक दुई र देहरादून दैनिक एक उडान गर्छौं ।

उडान स्वीकृतिका लागि आगामी साता निवेदन दिन्छौं । पोखरा–दिल्ली, पोखरा–देहरादून रुट सफल भयो भने अन्य ठूला जहाज ल्याएर बैंकक, सिंगापुर, दुबई र चीन उडान गर्ने सम्भावना खुल्छ । दिल्ली उडान सफल भए त्यो ‘कन्फिडेन्स’ आउँछ ।

जहाज थप्ने योजना के छ ?

हाम्रो एउटा जहाज आइतबार आउँदैछ । त्यसपछि अर्को तीन वटा थप्छौं । खोजिरहेका छौं, पाउने वित्तिकै ल्याउँछौं । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बेलासम्म थप दुई वटा ल्याएर कुल जहाज संख्या २१ वटा पुर्‍याउने लक्ष्यमा छौं ।

बुद्धका जहाज दुर्गममा कहिले उड्लान् ?

हातको चरा छोडेर झाडीको चरा खोज्दै जाने कुरा भएन । पहिले एटीआर ७२ जहाजलाई नै स्थापित गर्ने हो । मेरो विचारमा दुर्गमका लागि आगामी २०२३ को मध्यबाट काम सुरु गर्छौं । रामेछापको मन्थली र पोखरालाई आधार बनाएर दुर्गमका विमानस्थलहरुमा उडान गर्ने योजना छ ।

गौतमबुद्ध विमानस्थलमा केही योजना छैन ?

त्यसमा उति इच्छुक छैनौं । मेरो विचारमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको बोझ हल्का गर्न उपयुक्त हुनेछ । वैदेशिक रोजगारीमा जानेहरुका लागि सुलभ उडान भैरहवाबाट हुनेछ । यसमा सरकारले पनि नीतिगत निर्णय गर्नुपर्छ ।

वैदेशिक रोजगारसम्बन्धी सबै निकायको कार्यालय भैरहवामा राख्दा राम्रो हुन्छ । त्यसले भैरहवामा उडान बढाउँछ । रोजगारीका लागि विदेश जाने नेपाली यात्रु बोक्न काठमाडौं आउने एयरलाइन्सहरुलाई समेत विशेष सुविधा दिएर भैरहवातिर मोड्नपर्छ । त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ ।

बुद्व एअर पोखरामै केन्द्रित हुनुको खास कारण के हो ?

हामीले पूरा गण्डकी प्रदेशलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा देखेका छौं । पोखरा मात्र होइन, गोरखा, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ सबै पर्यटकीय गन्तव्य हुन् ।

सानो उदाहरण दिऊँ– हिजोको दिनमा घान्द्रुक पदयात्रीको लोकप्रिय गन्तव्य थियो । अब यो ‘टूर’ गन्तव्य भयो । अब त्यहाँ गाडीमै जान सकिने भयो । रमणीय घान्द्रुकले दैनिक ४/५ सय पर्यटकलाई सहजै सेवा दिन सक्छ ।

यसको मतलब, गण्डकी प्रदेशमा स्थानीय समुदायको स्वामित्वमा जसरी पर्यटन फस्टाएको छ, त्यसको दीर्घकालिन महत्व रहन्छ । गण्डकीले वर्षभरमा ५० औं लाख पर्यटकलाई सेवा दिन सक्ने भएकाले हाम्रो प्राथमिकतामा पोखरा परेको हो ।

हामी बुद्ध होलिडेजमार्फत पनि पर्यटन प्रवर्द्धन गर्छौं । स्थानीय सरकार, जनसमुदाय, सरोकारवालासँग कार्ययोजना अगाडि बढाउँछौं । अब पोखराको आन्तरिक विमानस्थल सिफ्ट हुनेछ । त्यो स्थानलाई कुनै मनोरञ्जन क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।

बुद्ध एयरको हवाई सेफ्टीको विषयमा धेरैको चासो छ, स्पष्ट पारिदिनुहोस न ।

हरेक जहाजको आयु हुन्छ । तोकिएको समयसम्म चलाइसकेपछि जहाज उडाउन पाइँदैन । तोकिएको आयुसम्म चलाउँदा पनि सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन ।

बुद्ध एयरको एटीआर जहाजको आयु ७० हजार साइकल हो । एक पटक टेक अफ र ल्याण्ड गरेपछि एक साइकल पूरा हुन्छ । ७० हजार साइकलभन्दा बढी पनि उडाउने गरिन्छ, तर हामीले त्यसो गर्दैनौं ।

जहाज भनेको ६ हजार पार्टपूर्जाले बनेको मेसिन हो, नियमित चेकजाँच गर्नैपर्छ । सबै पार्टपूर्जाको छुट्टाछुट्टै म्यानुअल हुन्छ । सोही अनुसार चेकजाँच गर्नुपर्छ । सबै पार्टपुर्जाको नियमित चेकजाँच र मर्मत–सम्हार गरिएन भने उडान असुरक्षित हुन्छ ।

एटीआर जहाजको चेकजाँचमा ह्याङगर अनिवार्य हुन्छ । हामीले १० वर्ष अगाडि ३२ करोड रुपैयाँ लगानीमा ह्यांगर निर्माण गर्यौं । एटीआर जहाजको इन्जिन उत्पादक कम्पनीसमेत हाम्रो पूर्वाधारबाट प्रभावित छ ।

बुद्ध एयर संसारको ‘टप र्‍याङकिङ मेन्टिनेन्स अर्गनाइजेसन’मा पर्छ । हामी संसारका ठूला एटीआर अपरेटरमध्ये एक हौं । हामीसँग छिट्टै १९ वटा एटीआर हुनेछन् । यो संख्यामा एटीआर जहाज हुने कम्पनी औंलामा गन्न सकिन्छ ।

मेन्टिनेन्सको रिर्पोट हरेक पटक एटीआर कम्पनीलाई पठाउनुपर्छ । केही तलमाथि देखिए हामीलाई जानकारी आउँछ । खराबी देखिए तुरुन्तै मर्मत गर्नुपर्छ । बन्दाबन्दी पछि हाम्रो जहाजका ५ वटा इन्जिनमा समस्या देखिएको थियो । करिब १० लाख डलर खर्च गरेर ती इन्जिन मर्मत गर्यौं ।

बुद्ध एयरले यसमा ठूलो लगानी गरेको छ । हाम्रा करिब ३०० जनशक्ति मर्मत–सम्हारमा खटिएका छन् । केही अगाडि देखिएको ल्याण्डिङ गियरको समस्या प्राविधिक कुरा थिएन । यस्ता स–साना विषय आउँछन् नै । दैनिक १५० उडान/अवतरण गर्दा कुनै दिन एक जहाजमा समस्या देखिएर मर्मतका लागि ग्राउण्डेड भयो भने त्यो ठूलो विषय होइन । बिग्रेर पनि उडाइयो भने चाहिँ गलत कुरा हो ।

बिग्रेको जहाजलाई आज विराटनगर वा नेपालगन्जमै राखेर मर्मत गर्छौं भन्नु सुरक्षा अभिवृद्धिको विषय हो ।

हवाई सुरक्षामा सरोकारवाला निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणसँग तपाईंको अपेक्षा के छ ?

नेपालमा सबैभन्दा ठूलो जोखिम नै विमानस्थलहरुमा जनवार र पन्छीको बढ्दो गतिविधि हो । हामी प्राधिकरणसँग हवाई सुरक्षा बढाउने अपेक्षा होइन, माग गर्छौं । यसो गर्दा ‘सेफ्टी इस्यू’ले आईकाओ र ईयूसम्मलाई असर पार्छ । प्राधिकरणको नेतृत्वमा भएको अस्थिरताका कारण समस्या देखिएको थियो । अब स्थायी नेतृत्व आएको छ, जवाफदेहिता बढ्ने अपेक्षा गर्न सकिन्छ ।

यात्रुलाई चाहिँ के भन्न चाहनुहुन्छ ?

विश्वास गर्नु भएकामा हामी कृतज्ञ छौं । हामी सुरक्षित, भरपर्दो र सस्तो उडानमा कटिबद्ध छौं । सुरक्षाको सवालमा कुनै खालको सम्झौता गर्दैनौं ।

तस्वीर/भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?