
८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ,’ उनले भने ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आजै संसदमा एमसीसी पेश हुने जानकारी दिंदै भने, ‘अब सडकमा होइन, संसदमा गहन रुपमा छलफल हुन्छ । एउटा निष्कर्षमा पुग्ने कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु ।’
नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।
बैठकबारे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सन्जालमा लेखेका छन्, ‘अध्यक्ष कमरेडले प्रधानमन्त्रीलाई टेबुल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्री ज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ । उपरोक्त स्थितिमा आ–आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भयो ।’
प्रतिक्रिया 4