+
+

बच्चालाई श्राप दिने कि राम्रो स्वास्थ्य ?

बालबालिकालाई माया गरेर बाहिरका खानेकुराको पोको दिंदा कतै मायाको नाममा तपाइँले बच्चालाई अस्वस्थ खाना दिएर जीवनभरको लागि दुःख दिने काम त गर्नुभएको छैन ?

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०७८ फागुन ९ गते ०:३४

पेटभरि दाल, भात, तरकारी, मोही, लिटो, कोदो, फापर आदि खाद्य तत्व खाएमा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ भन्ने धेरैलाई थाहा भए पनि बेवास्ता गर्छन् । यस्ता स्वस्थकर वस्तुलाई प्रोत्साहन गर्न परिवार र समुदायले मात्र होइन कि स्वास्थ्य मन्त्रालयले समेत केही वास्ता गर्दैन । मैले केही मन्त्री, तीन जना सचिव, योजना आयोगका सदस्य र मुख्य सचिव समेतलाई पत्रु खानाले बच्चाको स्वास्थ्यमा खराब असर पार्छ भनेर सुनाएकी थिएँ । स्वस्थ पोषण दिनुपर्छ भन्नुको अर्थ स्वास्थ्यमा लगानी गरिएको हो भनेर जानकारी दिएकी थिएँ ।

यो कुरा मैले विभिन्न पोषणविद् र बालरोग विशेषज्ञहरूसँग छलफल गरेर भनेकी थिएँ । यस्तो छलफलको निष्कर्ष थियो– ‘कुपोषण हुन नदिनका लागि पोषणयुक्त भोजन दिनुपर्छ । कुपोषण भइसकेपछि औषधिले होइन, पोषणयुक्त भोजनले नै कुपोषण निको पानुपर्छ ।’ अफसोच मन्त्रालयले यस्तो साधारण कुरा पनि नबुझेपछि समुदायको स्वास्थ्य नै जोखिममा परेको छ । स्वास्थ्य मन्त्रालय बच्चालाई कुपोषण नहोस् भनेर ‘काम नलाग्ने बालभिटा’ बाँड्छ तर बाल विशेषज्ञहरूले त्यसको विरोध गरिरहेका छन् । म जहाँ पुग्दा पनि महिला स्वयंसेविका र स्वास्थ्य कर्मचारीलाई भन्छु, ‘काम नलाग्ने बालभिटा आफ्ना समुदायका बालबालिकालाई नदिनुस् !’

डा. अरुणा उप्रेती

उहाँहरू भन्नुहुन्छ, ‘हामीलाई त त्यस्तै तालिम दिइएको छ । हामीलाई पनि थाहा छ कि यस्तो बालभिटाको काम छैन तर जबरजस्ती हामी अभिभावकलाई भिडाएर पठाउँछौं । कति आमाले त लगेर बाटोमै फालिदिएको पनि देखेका छौं । हामीले त कतिचोटि हाकिमलाई पनि भनिसकेका छौं कि बालभिटा आमाहरूले खुवाउँदैनन् । तर कसैले हाम्रो कुरा सुन्दैनन् ।’ यसको अर्थ के हो भने बाल स्वास्थ्यको वास्ता मन्त्रालयले गर्दैन, त्यसैले अभिभावक अब तपाइँहरू नै सजग हुनुपर्छ ।

हामीसँग भएको पौष्टिक तत्वको बारेमा स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरू समुदायमा कम बोल्छन् । त्यसैले घरको अण्डा, कोदो बेचेर गाउँघरमा ‘कमप्लान’ किन्छन् । सहरमा चाहिं बच्चालाई माया गरेको देखाउन बिस्कुट र चाउचाउ किन्छन् । यस्ता कति त स्कुलमा पनि बाँडिन्छन् । कृषि मन्त्रालयले निकालेको पोषणका किताब समुदायमा पुग्दैनन्, कृषि मन्त्रालयमा नै थन्किन्छन् । लट्टे, कोदो, फापर, तरुल आदि बारेमा कृषि मन्त्रालयले निकालेका पुस्तिकाहरूको सदुपयोग गरेर त्यसलाई समुदायमा पुर्‍याउने काम स्वास्थ्य र शिक्षा मन्त्रालय दुवैले गर्दैनन् ।

स्वास्थ्यकर्मीले पनि पोषणका बारेमा चाहिए जति ज्ञान बाँड्न सकिरहेका छैनन् । बरु यस्ता घरको पोषणलाई हेपेर कुपोषित बच्चालाई प्याकेटका खाना दिन स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई प्रेरित गर्छ । यतिसम्म कि योजना आयोगको स्वास्थ्य र सामाजिक समितिले पनि पोषणको योजना बनाउँदैन । केही वर्षअघि मलाई योजना आयोगले स्वास्थ्यको एउटा समितिमा राखेको थियो तर मैले बारम्बार ‘पोषणको योजना र नीतिबारे समुदायमा छलफल गर्नुपर्छ’ भनेपछि त्यहाँ मलाई बोलाउनै छोडियो ।

कुपोषण विरुद्धमा घरको खाना प्रयोग गर्नुपर्छ भन्ने विचार सरकारी निकाय र स्थानीय सरकारहरूलाई बुझाउन गाह्रो हुन्छ । तर अभिभावकहरू बुझ्नुस् कि पोषण विभागको बालभिटा असफल भइसकेको छ । बच्चालाई त्यो नदिनुस् । कोदोको रोटी, भात र खोले (सुप) दिनुस् ।

कोरोनाको बेलामा शरीरलाई रोगसँग लड्ने शक्ति धेरै चाहिन्छ भनेर सबैले महसुस गरेका छन् । अभिभावकले पनि बालबालिकालाई पोषणले भरिपूर्ण खाना दिनुपर्छ भनेर बुझेका छन् । तर, नेपालमा पर्याप्त मात्रामा विभिन्न ऊर्जा, प्रोटिन र सूक्ष्म पोषणतत्व पाइने खानेकुराहरू भए पनि प्रयोग हुँदैनन् । अभिभावकले के बुझ्न जरूरी छ भने सन्तानलाई स्वस्थ बनाउन महँगा रङ्गीचङ्गी बट्टाका खाना होइन घरेलु खाना प्रयोग गर्नुपर्छ ।

यदि बा–आमाले बच्चालाई मनपर्छ भनेर पत्रु खाना दिंदै जाने हो भने यो त भविष्यमा बच्चाको स्वास्थ्य नराम्रो होस् भनेर श्राप दिएको भन्छु म त । सुन्दा अप्रिय लाग्ने यी कुराहरू बुझ्न सबैले जरूरी छ । चाउचाउ बनाउने कम्पनी मालिकले आफ्ना सन्तानलाई चाउचाउ दिंदैनन् । भात, रोटी दिन्छन् ।

बच्चालाई अनेक भिटामिन भएका खानेकुरा ख्वाउने नाममा हामीले हाम्रा रैथाने भोजनलाई वास्ता नगर्ने हो र बाहिरबाट ल्याइएको प्याकेट दिने कि नेपालमा नै रहेको बदाम, तिल, आलस, भटमास, केराउ, चनाको टुसा उमारेर त्यसको पीठो बनाएर सर्वोत्तम पीठो दिने ? भन्ने विचार मातापिताले गर्नुपर्छ ।

हाम्रा केटाकेटीले पछि दाल, भात, केरा, रोटी, हलुवा, फर्सीको तरकारीको स्वाद त बिर्सने छन् । सानैदेखि पत्रु र गुलियो खानाको लत भएपछि त जब उनीहरू मोटोपन र मधुमेहको सिकार बन्नेछन् तब मातापितालाई हेक्का हुनेछ कि सानैदेखि स्वस्थ खाना खान नसिकाएर गल्ती गरिएछ ।

केही दिनअघि एक परिचितको चार वर्षीय छोरालाई देखेर मैले भनें, ‘यो बच्चा त हट्टाकट्टा रहेछ नि !’ ‘यसको तौल ३० किलो छ, डाक्टरले तौल घटाउनु भन्नुभएको छ’ भन्दै ती आमाले ‘भात खान मान्दैन त्यसैले कुरमुरे र बिस्कुट ख्वाएर ल्याएकी हुँ’ भनेको सुन्दा मलाई त्यो बच्चाप्रति दया लाग्यो । उसै त ३० किलोको बच्चा ठूलो भएपछि झन् मोटोपन बढ्छ र २५ वर्षसम्ममा मधुमेह हुन सक्छ । यो बच्चालाई श्राप होइन त ?

बस्नेत थरकी एक ३० वर्षीया युवती ९० किलो कि थिइन् । उनीसँग कुराकानी गर्दा थाहा भयो कि सानोमा उनको खाना त केक, चाउचाउ, गुलिया पेय पदार्थ र बिस्कुट मात्र रहेछन् । विवाह भएपछि यस्तै खाने बानी रहेछ । श्रीमान्ले उनलाई यस्तो नखाउ भन्दा झगडै परेछ । मोटोपनको कारणले उनको गर्भ पनि नरहेको कुरा डाक्टरले बताएपछि बल्ल उनको आँखा खुल्यो । सबै पत्रु खाना र गुलियो पेय पदार्थ छोडेपछि ६ महिनामा उनको वजन २० किलो घट्यो । उनले मसँग भनेकी थिइन्, ‘सानोमा आमाले मलाई माया गरेर दिएको खानाले त मेरो जीवनमा विष नै घोलेको रहेछ ।’

अहिले उनी गर्भवती छिन् र पत्रु खानाको विरुद्धमा अरूलाई पनि सिकाउँछिन् । उनी भन्छिन्, ‘मेरो बच्चालाई त पत्रु खाना दिंदैदिन्न । मैले पाएको दुःख उसले पाउनुहुँदैन ।’

‘यदि उसलाई सानोमा नै अनुशासनमा राखेको भए, उसलाई जे पायो त्यही खान नदिएको भए, रोए पनि वास्ता नगरेको भए, छोरो आज एक स्वस्थ युवक बन्थ्यो होला’, उनकी आमा भन्छिन् । तर न्याउरी मारी पछुतो भने जस्तै उनलाई परेको पीर तपाईंलाई नपरोस् भनेर बच्चाको भोजनमा अहिलेदेखि नै ध्यान दिने कि ?

हाम्रो विचारमा बच्चालाई माया दर्साउनुको अर्थ उसले जे खान्छ त्यही दिनु हो । धेरै गुलियो र खराब धेरै नुन भएको खाना बच्चालाई दिंदा बच्चा खुसी पारें भन्ने मातापितालाई लाग्छ । बच्चालाई राम्रो स्वास्थ्य दिने कि श्राप विचार गर्नुुस् है ! एकछिनको तपाइँको मायाले सन्तानहरू जीवनभर मधुमेहको सिकार बने भने के गर्नुहुन्छ ?

जन्मदिनमा केक नकाटी नहुने, बच्चाको जिद्दीले गर्दा केक ल्याउने र बच्चालाई ख्वाउने मातापिताले यस्तो गुलियो खराब चिल्लो भएको खानाले कति खराबी गर्छ भन्ने हेक्का नै राखेका छैनन् । एक दिन त हो नि केक खाने भन्ने आमाबुबाले के बच्चाले चुरोट र रक्सी मागे भने एक दिनका लागि त हो नि भनेर दिनुहुन्छ ?

आमा र परिवारका सदस्यलाई जाउलो, खीर, रोटी, आलु, हरियो तरकारी, क्वाँटी, टुसा उमारेका अन्य खानेकुराको माध्यमबाट नै सन्तानलाई स्वस्थ राख्न सकिन्छ भन्ने सन्देश जनस्वास्थ्य विज्ञले नदिएका होइनन् । तर बढी माया देखाउन परिवारका सदस्यले यो कुरा सुन्दैनन् ।

बच्चाहरूलाई त सानैदेखि जे खान सिकायो त्यही लत बन्छ । सानोमा पत्रु खाना ख्वाए ठूलो भएपछि यस्तो नखाउँ कसरी भन्न सकिन्छ र ? महामारीले देखाएको छ कि मोटो, मधुमेह, उच्च रक्तचाप भएकालाई कोरोना संक्रमणका समस्या, जटिलताका जोखिमहरू बढी हुन्छन् ।

बच्चाको स्वास्थ्यमा मातापिताले सकारात्मक सोच राखेर उनीहरूलाई पत्रु खानाको लत बस्न नदिने हो भने यसले बच्चालाई जीवनभरको लागि स्वस्थ रहने आधार दिन सक्छ । २५ वर्षको एक नेपाली युवक अमेरिकाबाट काठमाडौं आए । उनको स्वास्थ्यमा अनेक खराबी देखा पर्‍यो । डाक्टरकोमा जचाउँदा त उनी अति मोटोपनको सिकार, मधुमेह र मिर्गौलामा पनि खराबी आएको पत्ता लाग्यो । नेपालमा कसैले उनलाई स्वस्थकर खाना खान र पकाउन सिकाएका रहेनछन् ।

अमेरिकामा त दिनदिनै सस्तोमा पाइने पिज्जा, बर्गर, फ्रेन्च फ्राई मात्र उनको खाना थियो । उनको उपचार गरेपछि केही राम्रो त भयो, २५ वर्षको युवक मधुमेहले बिरामी भएकोले घरपरिवारलाई चिन्ता छ । उनले फेरि अमेरिका फर्केपछि के खाने होला ?

‘यदि उसलाई सानोमा नै अनुशासनमा राखेको भए, उसलाई जे पायो त्यही खान नदिएको भए, रोए पनि वास्ता नगरेको भए, छोरो आज एक स्वस्थ युवक बन्थ्यो होला’, उनकी आमा भन्छिन् । तर न्याउरी मारी पछुतो भने जस्तै उनलाई परेको पीर तपाईंलाई नपरोस् भनेर बच्चाको भोजनमा अहिलेदेखि नै ध्यान दिने कि ?

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?