+
+

‘वैचारिक मतभेद दबाउन दल त्यागको कारबाही’

तिलक पुन, वडाध्यक्ष, ढोरपाटन नगरपालिका–४ तिलक पुन, वडाध्यक्ष, ढोरपाटन नगरपालिका–४
२०७८ फागुन ९ गते २०:५४

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनअघि नै पार्टीको स्थानीय नेतृत्व र हामीबीच केही मतभेद र वैचारिक समस्या थियो । त्यतिबेला हाम्रो स्थानीय नेता गौरेश्वर पाण्डे राष्ट्रिय जनमोर्चाको तर्फबाट ढोरपाटन नगरपालिकाको मेयरमा उम्मेदवार हुनुभयो ।

वडा नम्बर ४ मा उहाँले मलाई उम्मेदवार बनाउन चाहनुभएको थिएन । स्थानीय तहमा म लगायत हाम्रो टिमलाई उम्मेदवार नबनाउने हो भने कार्यकर्ताहरू भड्किने र आफू समेत पराजित हुने अवस्था देखिएपछि मलगायत हाम्रो टिमलाई टिकट दिनुभयो र हामी निर्वाचित भयौं ।

त्यसपछि पनि पुरानो मतभेद कायमै थियो । १२ कात्तिक २०७६ मा गाउँमा एउटा घटना भयो । तिहारको बेला थियो, छिमेकी गाउँबाट मलाई फोन आयो । ‘रक्सी खाएर छिमेकीहरू झगडा गरेकाले मिलाउनु पर्‍यो, वडाध्यक्षज्यू, आउनुपर्‍यो’ भन्ने खबर आयो । म सहित अरू चार/पाँच जनाको टोली घटनास्थलतर्फ लाग्यौं ।

जाँदै गर्दा बाटोमा एकान्त ठाउँ छ, त्यहाँ एक्कासी हामीमाथि आक्रमण भयो । उनीहरूले छिमेकी गाउँलेबीच झगडा भएको बहानामा हामीलाई बोलाउन लगाएर एकान्त ठाउँमा आक्रमण गर्ने योजना बनाएका रहेछन् ।

उपनिर्वाचनपछि पार्टीले प्रदेश र केन्द्रीय तहमा नै छानबिन समिति बनायो । समितिको आक्रमणकारीलाई जोगाउने र संरक्षण गर्ने अनि हामीमाथि कारबाही गर्ने नियत देखियो । तर पनि त्यो घटनामा पार्टीले मलाई दोषी देखाउन सकेन ।

मसहित अरू चारजना साथीहरू सख्त घाइते भयौं । घरेलु हतियारको आक्रमणका कारण मेरो टाउकोमा चोट लागेको थियो । पोखरामा उपचार भएपछि अरू तीनजना ‘डिस्चार्ज’ हुनुभयो । मलाई काठमाडौं ल्याइयो । अन्नपूर्ण न्यूरो अस्पतालमा ८ दिन उपचारपछि मात्रै म ‘डिस्चार्ज’ भएँ  । हामीमाथिको सुनियोजित आक्रमणमा पार्टीको संस्थापन पक्षका केही मानिस र उनीहरूबाट परिचालित अरू केही व्यक्ति संलग्न थिए ।

घटनालगत्तै हामीले आक्रमण गर्नेहरू विरुद्ध ज्यान मार्न खोजेको भनेर प्रहरीमा जाहेरी दियौं । स्थानीय इन्द्रमान छन्त्याल, कुलबहादुर छन्त्याललगायत ६ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाग्लुङमा मुद्दा दायर भयो । उनीहरू एक/एक लाख रुपैयाँ धरौटीमा छुटे ।

पछि उनीहरूले पनि हामी विरुद्ध ज्यान मार्ने उद्योग गरेको आरोपमा जाहेरी दिए, प्रहरीले लिएन । उच्च अदालतमा मुद्दा हाले, अदालतले जाहेरी लिनु भन्ने आदेश दियो । अनि हामी विरुद्ध पनि ज्यान मार्ने उद्योगमा मुद्दा पर्‍यो । हामीमाथि त रकम लुटपाट र दुर्व्यवहार गरेको आरोप पनि लगाउन खोजियो । २७ पुस २०७७ मा हामी विरुद्ध मुद्दा दर्ता भयो । दुई दिनपछि म पक्राउ परें । मरणासन्न हुनेगरी आफैंमाथि कुटपिट भएको घटनामा म २२ दिन हिरासतमा बसेर छुटेको छु ।

घटनालगत्तै प्रदेश तहको उपनिर्वाचन आयो । पार्टीले नै हामीले यो समस्या समाधान गर्छौं भन्यो । छानबिन गरेर संलग्नमाथि कारबाही हुन्छ । अहिले पार्टीलाई सहयोग हुने हिसाबले काम गर्नुपर्‍यो भन्ने निर्देशन आयो । पार्टीले नै हामीसँग ७ बुँदे लिखित प्रतिबद्धता जनाएको थियो ।

उपनिर्वाचनपछि पार्टीले प्रदेश र केन्द्रीय तहमा नै छानबिन समिति बनायो । समितिको आक्रमणकारीलाई जोगाउने र संरक्षण गर्ने अनि हामीमाथि कारबाही गर्ने नियत देखियो । तर पनि त्यो घटनामा पार्टीले मलाई दोषी देखाउन सकेन ।

१३ असार २०७७ मा कोरोना संक्रमणका कारण संकटमा परेकाहरूलाई ल्याइएको राहत लुटपाट भयो र सामान खोलामा फालियो भन्ने हल्ला चल्यो । त्यो घटनामा म र मेरो वडा सदस्य तिलक फगामी संलग्न रहेको प्रचार गरियो । त्यो दिन म ढोरपाटन नगरपालिकाको वार्षिक बजेटको छलफलका लागि अन्यत्र नै थिएँ । स्थानीय प्रहरी घटनास्थलमा पुग्यो, चामल फालिएको भनेर मुचुल्का बनाएको रहेछ ।

त्यो घटनामा ६ जना विरुद्ध मुद्दा चलाइयो । त्यसमा मलाई पनि मुछ्न निकै प्रयास भयो । किटानी जाहेरीमा समेत मेरो नाम थियो, तर त्यो दिन म नगरपालिकाको कामको सिलसिलामा अन्यत्र नै थिएँ । त्यसपछि वडाध्यक्षको निर्देशनमा यो काम भएको भनेर कागजात तयार पार्न खोजे, तर सकेनन् । घटनामा संलग्न भएको आरोपमा परेकाहरू २२ दिन थुनामा बसेर धरौटीमा छुटे ।

पार्टीले राहतको सामान फालेको भन्ने आरोपमा मलाई कारबाही गर्न खोजेको थियो । राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा ‘राहत फालेर अपराध गरेको हुनाले पार्टीले कारबाही गर्‍यो, वडाध्यक्ष पद खाली गरिदिनु’ भन्ने पत्र पठायो । यत्तिका आधारमा निर्वाचन आयोगले कारबाही गरेन । त्यसपछि दोस्रोपटक उनीहरूले उपनिर्वाचनमा ‘नेपाली कांग्रेसको उम्मेदवारलाई सघाएको’ आरोप लगाएर कारबाहीका लागि चिठी लेखे, त्यसमा पनि आयोगले कुनै निर्णय गरेनछ ।

त्यसपछि ८ मंसीर २०७७ मा राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले मलाई नेपाली कांग्रेसमा प्रवेश गरेको आरोप लगायो र दल त्यागको निर्णय गरेर निर्वाचन आयोगमा पत्र पठायो । राहत फालेको र अर्को दललाई सघाएको भन्ने आरोप लगाउँदा पनि निर्वाचन आयोगबाट कारबाही नभएपछि उनीहरूले त्यही समयमा अर्को दलमा प्रवेश गरेको आरोप लगाए । निर्वाचन आयोगले पनि पार्टीको निर्णय अनुसार दल त्यागको सूचना निकाल्यो । त्यस विरुद्ध हामी अदालत गयौं र अदालतको अन्तरिम आदेशका कारण अहिले फेरि पदमा बहाल हुन पाएका छौं ।

(ढोरपाटन नगरपालिका–४ बाग्लुङका वडा अध्यक्ष पुनसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?