+
+

एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति पुन

मातृभाषामा सेवा दिन ढिलाई नगर्न उपराष्ट्रपतिको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताको सम्बन्धमा राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १७:०९

९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताको सम्बन्धमा राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्ने बताएका छन् ।

सोमवार अन्तर्राष्ट्रिय मातृभाषा-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस-२०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमतिआवश्यक रहेको धारणा राखेका हुन् ।

उनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्वको विषयमा राष्ट्रिय सहमतिहुँदा राम्रो हुने बताए । राष्ट्रिय सहमतिनभएको अवस्थामा राजनीतिक द्वन्दको खतरा हुने उनले उल्ल्लेख गरे ।

‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा छलफल र मतभिन्नताहरु प्रकट भइरहेका छन् । दुरगामी महत्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ ।’ उनले भने, ‘ राष्ट्रिय सहमतिनहुँदा यसले राजनीतिक द्वन्द पैदा हुन सक्ने खतरा हुन्छ । र यसले देशलाई राम्रो गर्दैन । यसमा हामीले विगतबाट पाठहरु पनि सिक्न सक्नुपर्दछ । म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’

उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए । मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उनको भनाई छ ।

भाषा आयोगले सिफारिस गरे अनुसार सम्बन्धित प्रदेशहरुमा मातृभाषामा सेवा दिन ढिलाई नगर्न उनले ध्यानाकर्षण गराए ।

उनले भने, ‘भाषा आयोगले केही समय अगाडी कुन–कुन प्रदेशमा कुन–कुन मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने भनेर सिफारिस पनि गरिसकेको छ ।

यद्यपि, त्यसमा कतिपय भाषिक समुदायको गुनासोहरु पनि सुनिने गर्दछ । ती गुनासाहरुलाई पनि सकेसम्म सम्बोधन गर्दै त्यसरी भएको सिफारिस कार्यान्वयनमा ढिलाइ नगर्न म सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छु ।’

मातृभाषाको संरक्षण गर्ने प्रमुख दायित्व राज्यको भएको उनले स्पष्ट पारे । स्थानीय तहले मातृभाषामा पठनपाठनको व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?