+
+

लिभिङ टुगेदरसम्बन्धी कानुन बनाउन सांसदहरुको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १८:४२

९ फागुन, काठमाडौं । नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै सांसदहरुले त्यसलाई सम्बोधन गर्ने गरी कानुन बनाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा उनीहरुले लिभिङ टुगेदरको समस्या सम्बोधन गर्ने गरी कानुन आवश्यक भएको बताएका हुन् ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदर नेपालमा पनि प्रचलनको रुपमा अघि बढिसकेको र त्यसले वैवाहिक तथा घरेलु कानुनहरुलाई प्रभावित बनाएको बताइन् ।

कस्तो अवस्थामा लिभिङ टुगेदर बस्न पाउने र कस्तो अवस्थामा नपाउने भन्नेबारे स्पष्ट कानुन बनाउन जरुरी रहेको उनको भनाइ छ ।

‘लिभिङ टुगेदरको बारेमा कस्तो अवस्थामा बस्न पाउने र कस्तो अवस्थामा बस्न नपाउने भन्ने सन्दर्भमा पनि यसलाई स्पष्ट रुपबाट कानुन बनाउन जरुरी छ । त्यो ढंगबाट यदि कानुन बन्यो भने मात्रै विद्यमान कानुनहरु कार्यान्वयन गर्न सहज हुन्छ’ उनले भनिन् ।

नेकपा एमालेकी सांसद विन्दा पाण्डेले लिभिङ टुगेदरबारे शीर्ष नेताहरुको मानसिकता नै परिवर्तन हुन नसकेको बताइन् ।

लिभिङ टुगेदरको सन्दर्भमा प्रभावकारी कानुन निर्माण गर्नका लागि मूल नेतृत्वको मानसिकता नै परिवर्तन हुनुपर्ने उनको भनाइ छ । सांसद पाण्डेले लिभिङ टुगेदरमा बस्दा पनि ती व्यक्तिको रजिस्टे्रशन गर्नुपर्ने ढंगले कानुनी व्यवस्था गर्नुपर्ने बताइन् ।

‘…विवाह नभइकन पनि कोही लिभिङ टुगेदरमा बसेका छन् भने लिभिङ टुगेदर पनि कतै न कतै रजिस्टे्रशन हुनुपर्छ । बिना रजिस्टे्रशनको लिभिङ टुगेदरको कुराले समस्या बढाउन सक्छ’ उनले भनिन् ।

बैठकमा अधिवक्ता मोहनलाल आचार्यले दोस्रो विवाह गर्न नपाउने कानुनी व्यवस्था गरिएको तर लिभिङ टुगेदर बारे उल्लेख नभएको बताए ।

‘लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको देखिन्छ । दोस्रो विवाह गर्न नपाउने कानुनी व्यवस्था गरिएको छ । तर लिभिङ टुगेदर भइरहेकामा त्यसलाई अपराधीकरण गर्ने रियलाइज गरिएन भने बढ्दै जाने र फेरि महिलाहरु नै बढी पीडित हुँदै जाने सम्भावना छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?