+
+

ब्रिगेड ब्वाइज रेलिगेसनमा पर्दाका अनेक संयोग

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन ९ गते १९:३७

९ फागुन, काठमाडौं । सोमबार सातदोबाटो युथ क्लबसँग ३-२ ले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) शहीद स्मारक ए डिभिजन लिगमा एक खेल बाँकी छँदै बी डिभिजनमा घटुवा भएको छ ।

संयोग कस्तो रह्यो भने यसै सिजन ए डिभिजनमा बढुवा भएको सातदोबाटोसँग पराजित हुँदै बीबीसी रेलिगेसनमा पर्‍यो । पहिलो सिजनमै ठूला क्लबलाई हराएर जाइन्ट किलरको छवि बनाएको सातदोबाटो शीर्ष पाँचमा छ ।

बीबीसीले १२ खेल खेल्दा १ जित र ४ बराबरीबाट जम्मा ७ अंक जोड्दै पुछारबाट दोस्रोमा छ । अन्तिम स्थानमा रहेको च्यासल रेलिगेसनमा परिसकेको छ ।

यस पटक रेलिगेसनमा पर्ने दुवै क्लब ललितपुर जिल्लाकै रह्यो । बीबीसी रेलिगेसनमा पर्दा ए डिभिजनमा ललितपुरकै फ्रेन्डस क्लबलाई फाइदा भयो । अब उसको रेलिगेसन खतरा टरेको छ ।

दुई पूर्वकप्तानको क्लब एकै सिजन रेलिगेसनमा

यो सिजन राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानले नेतृत्व गरेको टिम नै रेलिगेसनमा परे । विराज महर्जनको कप्तानीमा रहेको च्यासल यसअघि नै रेलिगेसनमा परिसकेको छ । अझ रोचक त के छ भने पछिल्ला दुई सिजन मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र एफसीबाट कप्तानको रुपमा लिग जितेका विराज कप्तान रहँदा च्यासल रेलिगेसनमा पर्‍यो ।

अर्का पूर्वकप्तान अनिल गुरुङले यो सिजन बीबीसीको कप्तानी गरेका थिए । यद्यपि, उनले यो सिजनका धेरै खेल बेन्चबाटै हेरे । उनले ८ वर्षपछि यही सिजनमा आएर लिगमा गोल गरे त्यो पनि पेनाल्टीमा ।

मेघराजको संयोग

बीबीसी रेलिगेसनमा पर्दा क्लबभन्दा बाहिरका कोही छन् भने सातदोबाटोका हालका प्रशिक्षक मेघराज केसी नै हुन् । खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा मेघराजले यही प्रतिक्रिया दिए ।

‘आज जितभन्दा पनि हामीसँग खेल्दा बीबीसी रेलिगेसन हुँदा दु:खी छु । जुन टिमलाई हामीले खेलेर ए मा ल्याएको थियौँ । म जितबाट खुशी छैन’ केसीले भने, ‘अरु टिमसँग खेल्दा (रेलिगेट) भएको भए हुन्थ्यो । खल्लो भएको छ ।’

केसी खेलाडी छँदा बीबीसी २०६० सालमा बी बाट ए डिभिजनमा बढुवा भएको थियो ।

सनोजको संयोग

अर्कोतर्फ बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठ भने अभागी बने । उनले जुन क्लबलाई प्रशिक्षकका रुपमा ए डिभिजनमा उकाले त्यही क्लबसँग हार्दै उनको हालको क्लब घटुवा भयो ।

सनोज गत वर्ष सातदोबाटोको प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा सातदोबाटो ए डिभिजनमा बढुवा भएको थियो । तर, ए डिभिजनमा उनले यस सिजन सातदोबाटो नभएर बीबीसीको प्रशिक्षण सम्हालेका थिए । तर, त्यही सातदोबाटोसँग पराजित हुँदा सनोजको टिम बीबीसी बी डिभिजनमा घटुवा भयो ।

सातदोबाटोसँग हारपछि बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठले लिगमा राम्रो सुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा घटुवा हुनुपरेको बताए ।

फ्रेण्ड्स र पुलिसको खुशी

सोमबार दशरथ रंगशालामा सातदोबाटो र बीबीसीको खेल हुँदा नेपाल पुलिस क्लब र फ्रेण्ड्सका प्रशिक्षकदेखि खेलाडीहरू पनि भीआईपी प्यारापिटमा बसेर खेल हेरिरहेका थिए । उनीहरूले सोमबार सातदोबाटोको जित चाहेका थिए ।

सातदोबाटोको जितले पुलिस र फ्रेण्ड्सलाई पनि तनाव कम भएको छ । अझ लिगमा अधिकांश समय रेलिगेसन जोनमा रहेको फ्रेण्ड्सले एक खेलअघि नै रेलिगेसनबाट सुरक्षित हुँदा ठूलो राहत महसुस गरेको छ ।

नवौँ चरणसम्म जितविहीन बनेको फ्रेण्ड्सले दशौँ चरणमा बीबीसीलाई नै हराएर पहिलो जित हात पारेको थियो । त्यसपछि जाउलाखेलसँग बराबरी खेलेको फ्रेण्ड्सले च्यासललाई पनि हराएको थियो । अब फ्रेण्ड्सले हिमालयन शेर्पासँग खेल्न बाँकी छ । फ्रेण्ड्सको १२ खेलबाट १० अंक छ ।

यस्तै, दुई खेल खेल्न बाँकी रहेको पुलिसलाई पनि सातदोबाटाको जितले राहत दियो, अर्थात् उसलाई पनि रेलिगेसनको डर थियो, जुन अब टरेको छ । पुलिस ११ खेलबाट ११ अंकसहित एघारौँ स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?