११ फागुन, काठमाडौं । मानव अधिकार आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अनुगमन गर्ने भएको छ ।
बुधबार आयोगले निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व आयुक्त तथा नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्दै स्थानीय चुनावको अनुगमन गर्ने बताएको हो ।
छलफलमा सहभागीरुले राष्ट्रिय मानव अधिकार आयोगले विद्यमान निर्वाचन कानुनको मानव अधिकारको दृष्टिकोणबाट पुनरावलोकन गरी संशोधनका लागि सुझाव दिनुपर्ने, समानुपातिक समावेशीता, लैंगिक समानता, मतदाता शिक्षा, अत्यधिक खर्चिलो निर्वाचन, निर्वाचनको निष्पक्षता र स्वच्छता, भयरहित वातावरण, निर्वाचन आचारसंहिताको पालनालगायतका विषयमा अनुगमन गर्नुपर्ने र देशबाहिर रहेका नेपालीहरुको मतदानको अधिकारका विषयमा निर्वाचन आयोग र सरकारलाई उपयुक्त सुझाव दिए ।
साथै राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहरुले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले प्रत्याभूत गरेका मानव अधिकारहरुको सुनिश्चिता गराउन आयोगले निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपश्चात गरी तीन चरणमा निर्वाचनको अनुगमन गर्ने र अनुगमनबाट प्राप्त तथ्य र निष्कर्षको आधारमा निर्वाचन आयोग र नेपाल सरकारलाई सिफारिस गर्नेसमेत बताए ।
छलफलमा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, निलकण्ठ उप्रेती, पूर्व आयुक्त इला शर्मा, नागरिक समाजका डा. गोपालकृष्ण शिवाकोटी, कला स्वर्णकार, राधिका रेग्मी एवम् आयोगका सदस्यहरु डा. सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा तथा आयोगका अधिकृतहरुको उपस्थिति थियो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4