News Summary
Generated by OK AI. Editorially reviewed.- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला रुसको संसदीय निर्वाचनको तेस्रो तथा अन्तिम दिन आइतबार मतदान हुँदैछ ।
- राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्ने युनाइटेड रसिया पार्टीले ४५० सिटको स्टेट डुमा निर्वाचनमा फेरि बहुमत जित्ने अपेक्षा गरिएको छ ।
- मस्कोका मेयर सर्गेई सोब्यानिनले रुसी हवाई प्रतिरक्षा प्रणालीले एक हजार ६०० भन्दा बढी ड्रोन खसालेको र तीमध्ये करिब ४५० मस्कोतर्फ आउँदै गरेको बताए ।
४ असोज, मस्को (रासस/एएफपी)। युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको पकड थप बलियो हुने अपेक्षा गरिएको रुसी संसदीय निर्वाचनको तेस्रो तथा अन्तिम दिन आइतबार मतदान हुँदैछ ।
राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्ने सत्तारुढ ‘युनाइटेड रसिया’ पार्टीले यसपटक पनि बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ । सन् २००३ यता भएका सबै संसदीय निर्वाचनमा उक्त पार्टी विजयी हुँदै आएको छ ।
निर्वाचनअघि रुसको सर्वोच्च अदालतले युद्धविरोधी ‘याब्लोको’ पार्टीलाई सङ्घीय सूचीमार्फत चुनावमा प्रतिस्पर्धा गर्न रोक लगाएको थियो । चुनावमा सहभागी अन्य प्रमुख दलहरूले पुटिन र युक्रेनमा जारी सैन्य कारबाहीलाई समर्थन गर्छन् । यद्यपि, ‘याब्लोको’का केही उम्मेदवार एकल निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।
सन् २०२२ मा युक्रेनमा सैन्य कारबाही सुरु भएपछि रुसमा भएको यो पहिलो संसदीय निर्वाचन हो । यसले युद्धप्रति रुसी जनमतको केही सङ्केत दिने अपेक्षा गरिएको छ ।
पुटिनले रुसी नागरिकलाई मतदानमा सहभागी हुन आग्रह गर्दै यसलाई रुसी सेनाप्रतिको समर्थन र देशलाई कमजोर पार्न खोज्नेहरूलाई दिइने जवाफका रूपमा प्रस्तुत गरेका छन् ।
यसैबीच, मस्कोका मेयर सर्गेई सोब्यानिनले मतदानको अन्तिम दिन सुरु हुनुअघि रुसी हवाई प्रतिरक्षा प्रणालीले एक हजार ६०० भन्दा बढी ड्रोन खसालेको बताएको छ । उनका अनुसार तीमध्ये करिब ४५० ड्रोन मस्कोतर्फ अघि बढिरहेका थिए । उनले उक्त आक्रमण निर्वाचनमा अवरोध पु¥याउने उद्देश्यले गरिएको दाबी गरेको छ ।
रुसको तल्लो सदन ‘स्टेट डुमा’का ४५० सिटका लागि भइरहेको मतदान आइतबार १८ जीएमटीसम्म जारी रहनेछ ।
निर्वाचनको समयमा देशमा सम्भावित सैन्य परिचालनबारे पनि चर्चा भएको छ । सन् २०२२ मा तीन लाख रिजर्भ सैनिक परिचालन गरिएपछि ठूलो सङ्ख्यामा रुसी पुरुष देश छाडेर गएका थिए । पुटिनले भने तत्काल त्यस्तो कुनै योजना नरहेको बताएको छ ।
यसैबीच, रुसकी केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पामफिलोभाले मस्कोको विद्युतीय मतदान प्रणालीमाथि ‘शक्तिशाली’ साइबर आक्रमण भएको बताएको छ । उनका अनुसार आक्रमणकारीले सुदूरपूर्वी क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध गर्ने प्रयास गरेका थिए ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार साँझसम्म करिब ४० प्रतिशत मतदान भएको थियो । रासस
प्रतिक्रिया 4