+
+

रुसले युक्रेनमा हमला गरेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकाशियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १८:४७

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा हमला गरेपछि त्यसको असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ । कच्चा तेल र ग्यास निर्यात गर्ने प्रमुख मुलुकले छिमेकी मुलुकमा सेना पठाएपछि आपूर्ति अवरुद्ध हुने चिन्ताका कारण इन्धनमा बजारमा असर परेको हो ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको भाउ आकाशिएको छ । आज ब्रेन्ट नामक कच्चा तेलको मूल्य आठ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल १०५ सम्म अमेरिकी डलर पुगेको छ । यता वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ९९.२१ पुगेको छ ।

त्यस्तै, इन्धन आपूर्ति अवरुद्ध हुने त्रासका कारण ग्यासको मूल्यसमेत ह्‍वात्तै बढेको छ । बेलायतमा ग्यासको मूल्य ४० प्रतिशतले वृद्धि भएको छ । युरोपमा डच टीटीएफको मूल्य बढेर घण्टाको प्रति मेगावाट (पर मेगावाट आवर) १२५ पुगेको छ ।

युक्रेनमा विकसित पछिल्लो घटनाक्रमपछि विश्व शेयर बजारमा पनि निकै ठूलो हलचल मच्चिएको छ । फ्याङ्कफर्ट र पेरिसमा ५ प्रतिशतले शेयरमा गिरावट आएको छ । यता हङकङ, मुम्बई, सिंगापुरमा पनि शेयर कारोबार ३ प्रतिशतले घटेर राताम्मे देखिएको छ । टोकियो र शाङ्घाइमा पनि निकै धेरै रकम गुमेको छ ।

खासगरी रुसमा ठूलो उपस्थिति भएका कम्पनीले धेरै गुमाएका छन् । रुसको पोलिमेटल र इभराजको शेयरमा क्रमश: ३५ र २७ प्रतिशतले गिरावट आएको समाचारमा उल्लेख छ ।

तर लगानीका लागि सुरक्षित मानिने सुन र डलरको भाउ भने बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंन्स २ हजार अमेरिकी डलरसम्म पुगेको छ ।

यता युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि रुसी मुद्राको हालसम्मकै धेरै अवमूल्यन भएको छ ।बिहीबार रुसी मुद्रा रुबल अमेरिकी डलरको तुनलामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

रुसले युक्रेनका कैयौं शहरमा बमबारी र क्षेप्यास्त्र प्रहार गरेलगत्तै अमेरिकी डलरको तुलनामा रुबल निकै कमजोर देखिएको हो ।आज अमेरिकी डलरको तुलनामा ९.४ प्रतिशतले अवमूल्यन भइ एक अमेरिकी डलर बराबर ८९.६ रुबल पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै रुसको शेयर बजारमा समेत भारी गिरावट आएको छ । आज ५० प्रतिशतले शेयर कारोबारमा गिरावट आएको हो। दिउँसो २ बजेसम्म आरटीएसको शेयरमा ५०.०५ प्रतिशत र एमओईएक्स ब्रोड मार्केटको शेयर ४४.५९ प्रतिशतले घटेको समाचारमा उल्लेख छ ।

शेयर बजारमा भारी गिरावट आएपछि रुसी शेयर बजारमा एकै दिन २५० बिलियन (२ अर्ख ५० अर्ब अमेरिकी डलर) अमेरिकी डलर गुमाउन पुगेको छ । द गार्जियनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?