+
+

फिल्म समीक्षा : गंगुबाई काठियावाडी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १४:०३

१३ फागुन, काठमाडौं । समाजसँग आफ्नो अधिकारको लागि लड्ने एक महिला, जसले आफ्नो जिन्दगीको सपना गर्न पाइनन्, तर कहिल्यै हार पनि मानिनन् । यस्ती थिइन् गंगुबाई… गंगुबाई काठियावाडी ।

गंगा जगजीवनदास काठियावाड नाम थियो उनको । रमणीक नामको युवकसँग उनले प्रेम गरेकी थिइन् । फिल्मको हिरोइन बन्ने सपना थियो गंगाको । रमणीकले मुम्बई गएर हिरोइन बन्न सकिने सपना देखाएर उनलाई एक हजार रुपैयाँमा कोठीमा लगेर बेचिदियो । केही दिन त उनी त्यही अँध्यारो गल्लीको कोठामा भोकै प्यासै बसिन् । तर भोकले सीमा नाघ्न थालेपछि त्यसकै लागि पनि बाध्य भएर उनी बाहिर आउनुपर्छ । आफ्नो शरीर ग्राहकलाई सुम्पिनुपर्ने धन्दा गर्न उनी बाध्य हुनुपर्छ ।

त्यसपछि ग्राहकहरुले उनलाई गंगा होइन गंगु नाम दिन्छन् । अर्थात् गंगाले गंगु बनेर आफ्नो पुरानो जिन्दगीलाई बिदा दिनुपर्ने हुन्छ । जीवन अगाडि बढ्दै जाँदा अलग–अलग प्रवृत्तिका मानिसहरुसँग भेट हुँदै जान्छ, तिरस्कार पनि मिल्छ, माया र सम्मान पनि ।

गंगुले रेडलाइट एरियाका चार हजार महिला र बच्चाका लागि जिन्दगीभर लडाइँ लडिन् र जितिन् पनि । यही नै हो ‘गंगुबाई काठियावाडी’को कथाको सार ।

आलियाको अब्बल अभिनय

अभिनेत्री आलिया भट्टले चलचित्र ‘गंगुबाई काठियावाडी’मा केन्द्रीय भूमिका निभाएकी छन् । उनले यसअघि यो किसिमको भूमिका निर्वाह गरेकी थिइनन् । ‘गंगुबाई काठियावाडी’ हेरेपछि भन्न सकिन्छ कि उनले यसमा ‘बेस्ट’ गरेकी छन् । हुन त आलियाले यसअघि चलचित्र ‘राज’मा राम्रो काम गरेकी थिइन्, तर गंगुबाईको चुनौतीपूर्ण भूमिकाले उनलाई अब्बल साबित गरेको छ ।

क्युट अनुहारकी आलियाले आफूलाई गंगुबाईको भूमिकामा ढाल्न यथेष्ट मेहनत गरेकी छन् । उनको अभिनय जति जीवन्त लाग्छ, संवाद बोल्ने शैलीले पनि दर्शकलाई तानिरहन्छ । आलियाले गंगुबाईको भूमिकापछि बलिउडमा बेग्लै छाप छाड्न सफल भएकी छन् ।

चलचित्रको अर्को सबल पक्ष संवाद हो । यसका लागि चलचित्रका लेखक प्रकाश कपाडिया र उत्कर्षिनी वशिष्ठ धन्यवादका पात्र बनेका छन् । उनीहरुले चलचित्रका लागि शक्तिशाली र हृदय छुने संवाद लेखेका छन् । आलियाका केही संवादले दर्शकलाई हँसाउँछन् भने केहीले रुवाउँछन् पनि । यसमा उनीहरुको काम प्रशंसायोग्य छ ।

‘गंगुबाई काठियावाडी’मा रहिम लालाको भूमिकामा देखिएका अभिनेता अजय देवगणले पनि अभिनयमा कमाल गरेका छन् । यसमा अजय आफ्नो ‘बान्स अपन अ टाइम इन मुम्बई’वाला जोनमा छन् । उनले आफ्नो भूमिका अत्यन्तै उत्कृष्ट ढंगले निर्वाह गरेका छन् ।

यस्तै शान्तुन महेश्वरीको बलिउड डेब्यु पनि शानदार देखिन्छ ।

विजय राजले लुटे महफिल

एक व्यक्ति जो आफ्नो छोटो भूमिकाबाट पनि महफिल लुट्न सफल भएका छन्, ती हुन् विजय राज । विजय ने कमाठीपुराका अध्यक्षको भूमिका निभाएका छन् र यो भूमिकामा उनी खरो उत्रिएका छन् । पत्रकारको भूमिकामा रहेका जिम सरभको काम पनि उल्लेखनीय छ । यस्तै सीमा पाहवा कोठेवालीको भूमिकामा फिट देखिएकी छन् भने कैमियो रोलमा हुमा कुरैशीले पनि सम्झनालायक काम गरेकी छन् ।

छायांकन, पृष्ठभूमि संगीत शानदार

निर्देशक सञ्जय लीला भन्सालीले चलचित्र ‘गंगुबाई काठियावाडी’लाई अलग शैलीमा बनाएका छन् । कुनै पनि कथालाई पर्दामा भव्य रुपमा प्रस्तुत गर्न माहिर भन्सालीले यो चलचित्रमा पनि आफ्नो शैलीलाई कायम राखेका छन् ।

चलचित्रको सिनेम्याटोग्राफी, ब्याकग्राउण्ड स्कोर, संगीत र नृत्य उत्कृष्ट छ । चलचित्रको फ्रेम सुन्दर ढंगले सिर्जना गरिएको छ । यसमा जति शक्तिशाली घटना छन्, त्यति नै भावुक क्षणहरु पनि छन् ।

एक ‘सेक्स वर्कर’को जिन्दगीको बाध्यता, जिन्दगीमा आउनसक्ने खतरा र बदनामी, गल्लीमा रहेकाहरुले कहिल्यै आफ्ना आफन्तलाई देख्न नपाउने दर्दलाई निर्देशक भन्सालीले इमान्दारीपूर्वक पर्दामा देखाउने कोशिश गरेका छन् ।

चलचित्रमा केही कमजोरी नभएका होइनन् । २ घण्टा ३६ मिनेट लामो चलचित्रलाई समपादनमा केही छोट्याउन सकिन्थ्यो, यसमा भन्सालीले ख्याल गरेका छैनन् । अनावश्यक गीत हुँदा पनि चलचित्रको गतिलाई थोरै अवरोध गर्छ ।

फिल्म : गंगुबाई काठियावाडी

रेटिङ : ३.५/५

कलाकार : आलिया भट्ट, अजय देवगण, शान्तनु महेश्वरी र विजय राज

अवधि : २ घण्टा ३६ मिनेट

निर्देशक : सञ्जय लीला भन्साली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?