+
+

रुसविरुद्धको युद्धमोर्चामा युक्रेनका महिला : पाका महिलासमेत एके-४७ चलाउन सिक्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १५:०२

१३ फागुन, काठमाडौं । बिहीबारदेखि रुसले युक्रेनमा हमला सुरु गरेको छ । रुसी हमलाको पहिलो दिनमै युक्रेनमा १४० जनाको ज्यान गएको छ ।

शुक्रबारसमेत रुसी सेनाले युक्रेनविरुद्धको सैन्य कारबाही तीव्र पारेको छ । आज बिहानदेखि नै राजधानी किएभमा भीषण बम एवं गोलाबारीसहित क्षेप्यास्त्र प्रहार भएको छ । राजधानी कब्जा गर्ने सुरमा अघि बढिरहेको रुसी सेनाका ट्याङ्कहरू आजै किएभ प्रवेश गर्न सक्ने अनुमान हुन थालेको छ ।

हाल किएभको बाहिरी क्षेत्रमा युक्रेन र रुसका सेनाबीच लडाइँ जारी छ । रुसी सेनाविरुद्ध लड्न युद्ध मोर्चामा होमिएका युक्रेनीमध्ये हजारौं महिलासमेत छन् ।

रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेपछि युक्रेनी सेनामा भर्ना हुने महिलाको संख्या बढ्न पुगेको हो । रुसी अतिक्रमणको सामना गर्न ४ वर्षअघि ल्याइएको कानुनपछि सेनामा भर्ना भएर विभिन्न भूमिका निभाउने महिलाको संख्या बढ्न पुगेको हो । दुई लाख ५० हजार सक्रिय सेना र ९ लाख जना ‘रिजर्भ फोर्स’ रहेको युक्रेनी सेनामा ५६ हजारभन्दा बढी महिला सदस्य छन् ।

सेनामा भर्ना भएर विभिन्न भूमिका निभाउनेमा सैनिक र कर्मचारीदेखि लाइब्रेरियन एवं मनोविद्सम्म छन् । यसका अलावा स्वयंसेवकको संख्यासमेत बढिरहेको छ । मुलुकका लागि स्वयंसेवक बन्न चाहने व्यक्तिलाई उमेरले रोकेको छैन । बढी उमेरका महिला र वृद्धा सम्मिलित ‘बाबुश्कास’ ब्रिगेडलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । यो ब्रिडेगमा हुने पाका महिलाले ट्रेन्च खन्दै एके-४७ चलाउन सिकिरहेका छन् ।

तर, सेनामा महिला सहभागिता बढिरहेको भए पनि लिङ्गसम्बन्धी परम्परागत मान्यता भने हट्न सकेको छैन । गत वर्ष हिल लगाएर मार्चसाप गराइएपछि सेनामा महिलालाई ‘सेक्सुअलाइज’ गरिएको आरोप लागेको थियो ।

विभिन्न चुनौतीबीच युद्धमोर्चामा खटिएका महिलाले साझा उद्देश्यका कारण सेनामा आएर एकताबद्ध भई देशको सेवा गर्न प्रेरित भएको बताउँछन् । ‘महिला र पुरुष सेनामा भर्ती हुनुको एउटै कारण छ’, पूर्वी क्षेत्रमा खटिएर बोर्डर गार्ड नादिया बाबिचले भनिन्, ‘हामी युक्रेनलाई स्वतन्त्र राख्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?