+
+

खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोडको ऋण सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १५:३३

१३ फागुन, काठमाडौं । कोभिडविरुद्धको खोप खरिद गर्न सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।

पाँच वर्षभन्दा माथिका सबै नेपालीलाई खोप व्यवस्था गर्न उक्त ऋण रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । ‘कोभिड १९ महामारीले सिर्जना गरेको निरन्तर बदलिंदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ’, हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले भने, ‘यस दोस्रो अतिरिक्त वित्तपोषणले बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्नेछ ।’

ऋण सम्झौतामा हस्ताक्षर गर्दै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे ।

‘कोरोना भाइरसको विभिन्न उत्परिवर्तित रूपहरूले अर्थतन्त्र तथा सामान्य जीवनयापनमा समेत समस्या सिर्जना गरिरहेका बेला यस किसिमको वित्तीय सहायता महत्वपूर्ण हुन्छ,’ जर्भोसले भने ।

ऋण सहायता र कोभिड १९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्व तयारी आयोजनाले कोभिड महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरणमा उपयोग हुने विश्व बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?