
१३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सम्झौता गर्दा ख्याल गर्न सुझाव दिएका छन् ।
आफूले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेको जानकारी दिंदै अध्यक्ष नेपालले ओलीसँग अनुचित सम्झौता नगर्न सुझाव दिएको बताएका हुन् ।
‘शेरबहादुरजीलाई भनेको छु, कुनै पनि कुराहरुमा हतार नगर्नुस्, बसेर छलफल गर्नुस् । र केपी ओलीसँग अनुचित सम्झौता गर्ने काम नगर्नुस् । हाम्रो विरुद्धमा, एमसीसीमा समर्थन पाउने नाममा सीमा नाघेर नजानुस्’ शुक्रबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने ।
यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष नेपालले दोहोर्याएका छन् ।
एमसीसीमा कतिपय विषयहरु मिलाउनुपर्ने र प्रष्ट पारेर जानुपर्ने आफूहरुको बुझाइ रहेको उनले बताए । ‘हामी ढुक्क हुन चाहन्छौं कि नेपाल इन्डो प्यासिफिक स्ट्राटेजीको अंग बन्न चाहँदैन । कुनै सैन्य गठबन्धनमा, कसैको सुरक्षा रणनीतिमा नेपाललाई पार्न दिइने छैन’ अध्यक्ष नेपालले भने ।
‘१४ जना सांसद वा सभामुखलाई बर्खास्त गर्ने कोसिस हुँदैछ’
अध्यक्ष नेपालले नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण बनाएर आफ्नो पार्टीका १४ जना सांसद वा सभामुख अग्निप्रसाद सापकोटालाई बर्खास्त गर्ने कोसिस भइरहेको सूचना आफूले पाएको समेत बताएका छन् ।
‘अनेकौं जटिलताहरु देखा परेका छन् । मैले सूचना पाएसम्म सभामुखको विरुद्धमा मुभ गर्ने कोसिस भइरहेको छ’ उनले भने ।
कांग्रेस–एमाले समीकरणका लागि एमालेले आफ्नो पार्टीका १४ जना सांसद र सभामुखलाई बर्खास्त गर्ने शर्त राखेको सूचना आफूलाई रहेको उनले बताए ।
‘हाम्रो पार्टीका कार्यकर्ता, नेताहरुलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने यस्ता शर्त राखेर यो पूरा भएपछि बल्ल एमसीसीमा समर्थन गर्ने भनेर केपी ओलीबाट प्रस्ताव पुगिरहेको भन्ने आएको छ’ अध्यक्ष नेपालले भने ।
एमालेको यस्तो प्रस्तावले आफूहरुलाई समेत चिन्तित बनाएको उनले बताए । ‘यो गम्भीर कुरा भयो । यसले हामीलाई पनि चिन्तित बनाएको छ’ उनले थपे, ‘मुख्य कुरा यी शर्त पूरा भएपछि (१४ जना सांसद वा सभामुखलाई बर्खास्त गर्ने) केपी ओलीले एमसीसीमा समर्थन गर्ने …।’
प्रतिक्रिया 4