+
+

‘टिम राम्रो भएर मात्र हुँदैन, खेलाडी व्यवस्थापन गर्न जान्नुपर्छ’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन १४ गते १६:२७

१४ फागुन, काठमाडौं । अघिल्लो सिजन मच्छिन्द्रले क्लबका पूर्वखेलाडी प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदा धेरैले स्टार खेलाडीहरुको व्यवस्थापनका लागि उनको परिपक्वतामा प्रश्न गरेका थिए ।

ए लाइसेन्स कोचिङ कोर्स पूरा गरेको एक वर्षपछि नै उनले ए डिभिजन लिगको उपाधि जितेर देखाइदिए । २०७८ को सिजनमा मच्छिन्द्रले लिग उपाधि रक्षा गर्दा कटुवाल घरेलु फुटबलका सीमित सफल प्रशिक्षकमध्ये एक भएका छन् । मच्छिन्द्रलाई दोस्रोपटक लिग उपाधि दिलाएपछि कटुवालसँग सफलताको अन्तर्यबारे गोविन्दराज नेपालले गरेको कुराकानी :

लिगको उपाधि रक्षा गर्न यसपटक सहज भएको हो ?

हजुर । किनभने, गत सिजनमा मनाङसँगको खेलमा झगडापछि हाम्रा तीन खेलाडी कारबाहीमा परेका थिए । त्यसपछि हामीसँग सब्स्टिच्युड (वैकल्पिक खेलाडी) नै रहेन । त्यसपछि लिगमा धेरै खेलाडी राख्नुपर्छ भन्ने सोच भयो ।

डिफेण्डरहरु राम्रो खेलिरहेका थिए त्यसबाहेक पनि एट्याकिङमा पनि केही थप्यो भने राम्रो हुन्छ भन्ने लाग्यो । गत सिजन हामीले एउटा खेल हा¥यौं, हिमालयन शेर्पासँग । त्यो हारदेखि सबै कुराहरु अध्ययन गरेर यसपालि कुनै पनि टिमलाई कमजोर आँकेनौँ ।

मैदानमा त त्यो रणनीति रह्यो मैदानबाहिर चाहिँ के–के तत्वले सहयोग गर्‍यो ?

मैदान बाहिरबाट पनि धेरै राम्रो भयो । हामीलाई क्लबले धेरै राम्रो सुविधा दिएको छ । गत सिजन बसेकै थ्रीस्टार लेभलको होटलमा यस पटक पनि राख्यो । खेलाडीलाई मुख्य भनेको बस्न खानको सुविधा पनि हुनुपर्छ । हामीसँग धेरै प्रायोजक छन् । प्रायोजकहरुले हरेक खेल जित्दा प्रोत्साहन गरेका छन् । म्यान अफ दि म्याचलाई एन्फाले १० हजार रुपैयाँ दिएको छ भने हाम्रा प्रायोजकले २० हजार रुपैयाँ दिएका छन् ।

त्यस्तो कारणले पनि खेलाडीहरुलाई खेल्नुपर्छ, राम्रो गर्नुपर्छ भनेर प्रोत्साहन मिलेको छ ।

२०७६ सालमा तपाईंले पहिलो पटक ए डिभिजन टिमको जिम्मा लिनुभएको थियो । जुन बेला मच्छिन्द्रले १ अंकको घटुवाबाट लिग सुरु गरेको थियो । मच्छिन्द्रको विश्वासमा तपाईंले चाहिँ कस्तो योजना बनाउनुभएको थियो ?

त्यतिखेर मलाई २–३ वटा क्लबले प्रशिक्षकको प्रस्ताव गरेका थिए । मैले झापा–११ मा हुँदा अहिले मच्छिन्द्रमा भएका ८–९ जना खेलाडीलाई खेलाइसकेको थिएँ । धेरै खेलाडी राष्ट्रिय टिमका पनि थिए ।

फुटबल यस्तो खेल हो जहाँ टिम राम्रो भएर मात्र पुग्दैन, प्रदर्शन पनि सन्तुलित चाहिन्छ । प्रदर्शन राम्रो गर्नका लागि खेलाडीलाई ऊर्जा दिने, मनोबल उच्च गराउने काम प्रशिक्षक र टिम व्यवस्थापनको हो ।

उनीहरुले धेरै प्रशिक्षकसँग प्रशिक्षण गरेका हुन्छन् । मेरो मान्यता के छ भने खेलाडीमा पनि प्रशिक्षक चेत हुनुपर्छ । त्यसो भयो भने उसले मैदानभित्र सही समयमा सही निर्णय गर्नसक्छ । धेरै क्लबाट खेलेका खेलाडी मच्छिन्द्रमा छन् । उनीहरुले पनि मसँग सहज महसुस गरे भन्ने ठान्छु ।

म मच्छिन्द्रको २०६८–६९ को सिजनको खेलाडी पनि हो । क्लब र खेलाडीको सल्लाहपछि यसले गर्न सक्छ भनेर नै मच्छिन्द्रले मलाई प्रस्ताव गरेको हो । खेलाडी र क्ललबे गरेको विश्वास जोगाउनपर्ने दबाब थियो । हेभिवेट टिम थियो । मेरो साथीहरुले पनि राम्रो टिम छ, लिग जित्ने सम्भावना छ भनेका थिए ।

तर, हेभिवेट टिमलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ भन्ने चिन्ता पनि थियो । मैले खेल मात्र नभएर उनीहरुको मानसिक र मनोवैज्ञानिक कुरा बुझेर कतिबेला ट्रेनिङ गर्ने, कतिबेला आराम गर्ने भन्ने रणनीति बनाएर लागू गरेँ । टिममा कहिले पनि समस्या आएन । हाम्रो लगातार जितमा यस्ता कुराहरुले पनि भूमिका खेलेको छ ।

अर्को कुरा, मसँगै खेलेका धेरै खेलाडी अहिले पनि मच्छिन्द्रमा छन् । सायद मैले ए लाइसेन्स नलिएको भए म अझै एक दुई वर्ष खेल्न सक्थेँ होला । मेरो व्यवहारबाट सबैजना एकदमै सन्तुष्ट छन् । मेरो शैली प्रभावकारी पनि भएको छ ।

मच्छिन्द्रका सबै खेलाडीले म सँग सहज महसुस गर्छन । म सबै खेलाडीलाई सम्मान गर्छु । उनीहरु पनि मलाई सम्मान गर्छन् । खेलाडी खेलाडीबीच पनि राम्रो मेलमिलाप छ । किनभने हामी कहिल्यै तनाव लिँदैनौं । ट्रेनिङमा पनि रमाइलो गर्थ्यौं ।

अन्तर्राष्ट्रिय फुटबलमा हेर्दा पनि स्टार खेलाडीलाई व्यवस्थापन गर्नु निकै कठिन काम मानिन्छ । मच्छिन्द्रले पछिल्लो दुई सिजन नेपालका लगभग सबै स्टार खेलाडी खेलाएर लिग जित्यो । उनीहरुको व्यवस्थापनमा तपाईंलाई कति गाह्रो भयो ?

कठिन चाहिं थियो तर, त्यस्तो समस्या आएन । यसमा खेलाडीको अनुशासनलाई पनि सम्मान गर्छु । किनभने मैले अरु क्लबमा त्यस्तो समस्या भएको सुनेको छु ।

खेलाडीमा हुनुपर्ने मुख्य कुरा नै अनुशासन हो । हाम्रो टिममा कसैलाई काखा र पाखा गरिएको छैन । मेरो टिमका २३÷२४ जनामा दुई जनाबाहेक सबैले खेलिसकेका छन् ।

मैले ट्रेनिङमा पनि भन्छु जसले शतप्रतिशत दिन्छ उसले खेल्न पाउने हो । किनभने लिग लामो जान्छ । कहिले कुनै खेलाडीले दुई पहेँलो कार्ड पाएर पछिल्लो खेल गुमाउन पुग्छ, कहिले चोटको समस्या हुन्छ, कहिले प्रदर्शन खस्किन्छ ।

प्रदर्शन नहुने बित्तिकै अर्को खेलाडी चाहिन्छ । म हरेक खेलाडीसँग व्यक्तिगत सम्बन्धमा पनि छु । व्यक्तिगत रुपमा पनि खेलाडीप्रति सम्मान छ ।

राष्ट्रियस्तरका सबै खेलाडी जम्मा पार्दा मच्छिन्द्र एउटा स्तरमा पुग्यो, अन्य क्लबहरु अर्को स्तरमा पुगे । यो क्लबको रणनीति हो ?

मैले २०६०/६१ मा थ्रीस्टारबाट खेल्दा लगभग २० जना स्टार जम्मा पारेको थियो । एक हिसाबमा यो सबैभन्दा उत्कृष्ट रणनीति हो । हामीले ११–१२ जनामात्र राख्यौँ भने राम्रो खेलाडी अर्को टिममा गएर हामीलाई नै असर गर्छ भने सबै खेलाडी ल्याएर जम्मा ग‍र्‍यो भने अर्को टिम कमजोर हुन्छ । यसलाई लिग जित्ने प्राविधिक रणनीति भनौं न ।

सफलता पाउन सजिलो, टिकाउन गाह्रो हुन्छ भनिन्छ । तपाईंहरुले दुई पटक लिग जितेपछि यसैलाई निरन्तरता दिन के–के रणनीति लिँदै हुनुहुन्छ ?

पक्कै पनि टिकाउन गाह्रो हुन्छ । मुख्य कुरा जित्नका लागि प्रदर्शन गर्ने भनेको खेलाडीले नै हो । खेलाडीको अनुशासनदेखि उसको क्षमता हामीले हेर्नुपर्छ । त्यही अनुसार हामी यही टिमलाई अझै थप्ने र हामीलाई अझै कमी भएको एक दुई कुरामा सुधार गर्ने गरी अगाडि बढ्दैछौं । किनभने हामीले छिट्टै एएफसी कप खेल्नुपर्नेछ र त्यसमा पनि राम्रो गर्नुपर्छ ।

हामीले यही टिमलाई अर्को सिजन पनि कायम राख्न सके प्रदर्शन अझै राम्रो हुन्छ । निरन्तरताले खेलाडीमा सामूहिक प्रदर्शनको भावना बढ्छ । नेपालमा क्लब परिवर्तन एकदमै धेरै हुन्छ । त्यसलाई रोक्नुपर्छ । यसमा क्लबले पनि सोचेको होला ।

यो सिजन सुनील बलसहित केही खेलाडीहरु भित्र्याउनुभयो । विमल पनि चोट निको भएर फर्किए । टिमको आधाभन्दा बढी गोल यी दुई जनाले गरेका छन् । उपाधि रक्षा गर्न सुनील र विमलको योगदान कस्तो रह्यो ?

यी दुई खेलाडी एन्फा एकेडेमीमा सँगै खेलर हुर्किएका हुन् । यू–१६ यू–१९ यू–२३ हुँदै राष्ट्रिय टिममा पनि सँगै खेले । त्यस कारणले गर्दा मच्छिन्द्रमा पनि उनीहरुको खेल राम्रो भयो । फुटबल ‘कम्बिनेसन प्ले’ हो त्यही भएर पनि सहज भयो । मैले अघि भनेजस्तै लङ टर्म सँगै भयो भने राम्रो हुन्छ ।

खेल्न गाह्रो कि प्रशिक्षक हुन ?

हाँस्दै । कोचिङ गर्न गाह्रो हो नि । खेल्न त सजिलो । खेलाडी हुँदा कसरी राम्रो खेल्ने, टिमलाई कसरी जिताउने भन्ने सोचाइ हुन्छ । प्रशिक्षक बन्दा चाहिं २०–२२ जना खेलाडीको दिमागलाई आफूले नियन्त्रण गरेर खेलाउनुपर्छ । यो धेरै गाह्रो काम हो ।

तपाईंले आफूले खेल्दा र प्रशिक्षक हुँदा नेपाली फुटबलमा प्रतिस्पर्धाको स्तर तुलनात्मक रुपमा कस्तो पाउनुभयो ?

सरसरती हेर्दा प्रतिस्पर्धा त मैले खेल्ने समयमै थियो कि जस्तो लाग्छ । अहिले लिगमा २–३ म्याचमात्र राम्रो खेल्न सक्यो भने राष्ट्रिय टोलीकै दाबेदार जस्तो हुन्छ । कस्तो छ भने, अहिले खुला प्रतिस्पर्धा छ जसले राम्रो गर्‍यो उसले अवसर पाउँछ । हिजोको अवस्थामा त्यस्तो थिएन ।

विदेशी प्रशिक्षक र खेलाडीहरु राम्रा आइरहेका छन् । प्राविधिक खेल सुधार भइरहेको छ । अहिले खेल्न सजिलो छ । अहिले राम्रो खेल्ने खेलाडीलाई राष्ट्रिय टिमबाट खेल्छु, राम्रो गर्छु भनेर देखाउने अवसर छ ।

लगातार दुईपटक लिग जित्ने सीमित सफलता तपाईंले पनि पाउनुभएको छ । त्यो स्तरमा आफूलाई कसरी हेर्नुहुन्छ ?

लगातार जित्ने सामान्य कुरा पक्कै होइन । टिम जतिसुकै ठूलो भए पनि जित महत्वपूर्ण कुरा हो । फुटबल यस्तो खेल हो जहाँ टिम राम्रो भएर मात्र पुग्दैन, प्रदर्शन पनि सन्तुलित चाहिन्छ । प्रदर्शन राम्रो गर्नका लागि खेलाडीलाई ऊर्जा दिने, मनोबल उच्च गराउने काम प्रशिक्षक र टिम व्यवस्थापनको हो ।

पक्कै पनि एउटा उपाधि जितेपछि अर्को जित्ने लक्ष्य हुन्छ । अझै जितिरहने चाहना बढ्छ । जित्दै गएपछि महत्वाकांक्षा पनि बढ्छ । त्यसका लागि मैले पनि गर्नुपर्छ र त्यसलाई निरन्तरता पनि दिनुपर्छ ।

कतिपयले टिम राम्रो भएर राम्रो नतिजा आएको पनि भन्छन् । एक हिसाबमा त्यो कुरा ठीकै पनि होला । राम्रो टिम छ भन्दैमा सबै प्रशिक्षकले मैदानमा ती खेलाडीलाई राम्ररी परिचालन गर्न सक्छन् कि सक्दैनन् भन्ने मुख्य कुरा हुन्छ । अहिले आधुनिक फुटबल धेरैजसो प्रशिक्षकको रणनीतिमा निर्भर हुन्छ ।

घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता लगातार दुई पटक जित्नुभयो । अब एएफसी कपमा तपार्इंहरुको ध्यान होला । एसियाली स्तरमा आफ्नो टोलीलाई कहाँ पाउनुहुन्छ ?

अलकति गाह्रो त हुन्छ तर धेरै क्लब एउटै स्तरका छन् । हामी समूह चरणमा पुग्छौंजस्तो लाग्छ र हाम्रो लक्ष्य पनि त्यही हो ।

टिममा केही परिवर्तन गर्नुपर्ने छ ?

पक्कै पनि गर्नुपर्छ । अग्रपंक्तिमा एकजना चाहिएको छ ।

मछिन्द्रलाई नेपालको पीएसजी पनि भन्छन् । तपाईं के भन्नुहुन्छ ?

त्यस्तै पनि हो । तर हामीले जितिरहेका छौं । पीएसजीले गत सिजन जितेन । मैले अघि जोड्न खोजेको पनि त्यही हो । बाहिर पनि एउटा राम्रै टिम हुँदा पनि जित्ने नै भन्ने ग्यारेन्टी त नहुने रहेछ नि । ठूला स्टारहरुको जमघट भएर मात्र त सफलता हुने रहेनछ ।

त्यसैले सबैले भन्न पाउँछन् तर गरेर देखाउन गाह्रो हुन्छ । किनभने मुख्य भनेको स्टार खेलाडी मात्र भएर हुँदैन सबैभन्दा ठूलो भनेको उनीहरुलाई टिममा राखेर खेलाउनु हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?