+
+

रुसको निशानामा युक्रेनको तेल भण्डार र हवाइ अड्डा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १३:०४

१५ फागुन, काठमाडौं । रुसी सेनाले युक्रेनमा हमला गर्न थालेको चौथो दिन इन्धन केन्द्र र हवाइ अड्डामा हमला गर्न थालेको छ ।

युक्रेनी सेनाको कडा प्रतिरोधपछि रुसी हमलाले सोचेजस्तो गति लिन नसकेपछि उसले इन्धन भण्डार र हवाइ अड्डालाई निशाना बनाउन थालेको हो ।

रुसी सेनाले युक्रेनको राजधानीबाट दक्षिणमा अवस्थित भासिलकिभ सहरस्थित एक तेल भण्डारमा मिसाइल आक्रमण गरेको छ । मिसाइल हमलालगत्तै उक्त भण्डारमा आगलागी भएको छ । सार्वजनिक भएका भिडियो फुटेजमा आकाशमा आगो दन्किरहेको देखिन्छ ।

तेल भण्डारमा आगो लागेपछि युक्रेनको राजधानी किभका मानिसलाई विषालु धुवाँबाट सुरक्षित रहन भनिएको छ ।

यता खार्किभस्थित एक ग्यास पाइपलाइन रुसी सेनाले ध्वस्त बनाएको राष्ट्रपति कार्यालयले जनाएको छ । रुसी सेना उक्त क्षेत्रमा प्रवेश गरिसकेको अधिकारीहरूले बताएका छन् । रुसी सेना प्रवेश गरेसँगै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानबाट बाहिर ननिस्किन भनिएको छ ।

रुसले अन्य सहरमा समेत रकेट तथा मिसाइल प्रहार गरेको छ । खार्किभको एक नौ तले भवनमा रकेट हमला हुँदा एक महिलाको ज्यान गएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । विस्फोट र भीषण लडाइँबीच मानिसहरू भूमिगत मेट्रो स्टेसनमा शरण लिन पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

हाल राजधानी किभसहित कैयौं सहरमा दुवै पक्षबीच लडाइँ भइरहेको छ । तर, किभ आफ्नो नियन्त्रणमा रहेको युक्रेनका अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?