+
+

रुसी युद्धपोतसँग वीरतापूर्वक लड्दा मारिएका १३ युक्रेनी सैनिक जीवितै हुने आशा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १४:३२

१५ फागुन, काठमाडौं । कृष्ण सागरस्थित एक टापुको सुरक्षा गर्ने क्रममा रुसी युद्धपोतको हमलामा मारिएका भनिएका १३ जना युक्रेनी सैनिक जीवितै हुन सक्ने बताइएको छ ।

आइतबार युक्रेनको तट रक्षक बलले स्नेक आइल्याण्डमा रुसी हमलामा परी ज्यान गुमाएका भनिएका आफ्ना १३ जना सैनिक जीवितै हुन सक्ने बताएको हो ।

‘सारा युक्रेनले झैं एबीजीएसयू र सुरक्षा बलले जिमिनीका सबै रक्षकहरू जीवितै रहेको हुन सक्ने आशा गरेको छ’, बलले आफ्नो फेसबुक पेजमा लेखेको छ । बलले उनीहरूलाई नियन्त्रणमा लिएर सेभास्तोपोल लगिएको रुसी सञ्चार माध्यममा प्रकाशित समाचारलाई उध्दृत गर्दै जीवितै हुन सक्ने आशा व्यक्त गरेको हो ।

रुसी सेनाले शुक्रबार स्नेक टापु कब्जा गरेको थियो । सोही क्रममा उक्त टापुको रक्षार्थ खटिएका युक्रेनी सैनिकले आफूमाथि बम खसाल्नुपूर्व भनेको एक भिडियो भाइरल बनेको थियो । सैनिकले आफैं रेकर्ड गरेको सो भिडियोमा आक्रमण गर्न आएको रुसी युद्धपोतलाई चुनौती दिँदै ‘भाग साला’ भनेको सुन्न सकिन्छ ।

भिडियोमा ती सैनिकले स्नेक टापुस्थित आफ्नो टुकडी र चट्टानमा बर्सिरहेका प्रोजेक्टाइलबारे कुरा गरेका थिए । कुराकानीका क्रममा बमबारी हुनुपूर्व एक जनाले युद्धछपोतले ‘आफूहरूलाई तर्साउन खोजिरहेको’ र अर्का एकजनाले ‘केही पनि नभएको’ भनेका थिए ।

आक्रमण गर्नुपूर्व रुसी सेनाले पटक-पटक आत्म-समर्पण नगरे बमले उडाइदिने बताएको थियो । तर, टापुमा तैनाथ युक्रेनका तट रक्षकले कुनै पनि हालतमा आत्म-समर्पण नगर्ने बताएका थिए ।

‘यो रुसको युद्धपोत हो’, युद्धपोतमा सवार रुसी अधिकारीले युक्रेनी तट रक्षकलाई भनेको सुन्न सकिन्छ, ‘हतियार त्यागेर आत्म-समर्पण गरी अनावश्यक रक्तपात एवं जीवन क्षति रोक्न मेरो सुझाव छ । नत्र तिमीहरूमाथि बम खसालिने छ ।’

तर, टापुको रक्षार्थ खटिएका १३ जना युक्रेनी सैनिकले कुनै हालतमा आत्म-समर्पण नगर्ने र आफ्नो भूमि नछोड्ने भन्दै बहादुरीका साथ रुसको प्रतिरोध गरेका थिए । उनीहरूमध्ये एक जनाले ‘गो *क योरसेल्फ’ भन्दै प्रतिकारमा उत्रिएका थिए ।

लगत्तै रुसी सेनाले उनीहरूलाई गाली गरेका थिए । त्यसपछि बम बर्साइएको थियो । बमबारीमा सम्पर्कविहीन भएपछि उनीहरू मारिएको आशंका भएको थियो ।

निकै ठूलो संख्या र भारी हतियारसहित आएको रुसी सेनालाई चुनौती दिएका कारण ती सैनिकलाई ‘हिरो’ भन्दै युक्रेनभर निकै प्रशंसा भएको थियो । युक्रेनको सरकारले उनीहरूलाई रुसी युद्धपोतसँग वीरतापूर्वक लडेर मुलुकका लागि बलिदान गरेको भन्दै सैन्य विभूषणबाट सम्मान गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?