
१५ फागुन, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको चुहावट नियन्त्रण गर्न र खानेपानीको महसुल बक्यौता उठाउन नेपाल खानेपानी संस्थानलाई निर्देशन दिएका छन् ।
नेपाल खानेपानी संस्थान ३२ वर्ष पूरा गरी ३३औं वर्षमा प्रवेश गरेको अवसरमा आइतबार संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आयोजित वार्षिकोत्व कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले संस्थानले खानेपानीको बढ्दो मागलाई सम्वोधन गर्न सेवाक्षेत्र विस्तार गर्न निर्देशन दिए ।
‘सरकारले शिक्षा र स्वास्थ्यमा आमनागरिकलाई निःशुल्क गरे जस्तै खानेपानी सेवा पनि निःशुल्क गर्न मैले पहल गरिरहेको छु’, मन्त्री चौधरीले भने, ‘संविधानले हरेक नेपालीलाई स्वच्छ र शुद्ध खानेपानीको पहूँचलाई मौलिक हकको रुपमा प्रत्याभूति गरेकाले ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा ल्याइने छ ।’
हरेक नेपालीलाई निःशुल्क खानेपानीको सेवा बिस्तार तत्काल सम्भव नभए पनि सरकारले न्यून शुल्कमा खानेपानी वितरण कार्य कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री चौधरीले खानेपानीको शुल्क निर्धारण आयोग केही दिनमै गठन गरिने जानकारी दिए ।
मन्त्री चौधरीले आयोगले खानेपानीको व्यवहारिक र सर्वसुलभ शुल्क निर्धारण गर्ने गरी सुझाव दिने विश्वास व्यक्त गरे । उनले संस्थानले मुलुकका २३ वटा नगर क्षेत्रमा मात्र सेवा दिइरहेको भन्दै विस्तारको लागि निर्देशन दिए ।
खानेपानीको गुणस्तरीय सेवा देशव्यापी पुर्याउने मन्त्रालयको लक्ष्य भइरहेको बेला काभ्रेमा संस्थानले स्थापना गरेको कारखानाबाट जारमा मिनरल वाटर उत्पादन र वितरण गर्ने कार्य बन्द नहुने भन्दै मन्त्री चौधरीले संस्थानका कर्मचारीहरुले कुनै बहाना नगरी इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । उनले समस्याबाट भाग्नु भन्दा समस्या समाधानको लागि मन्त्रालय तयार रहेको बताए । उनले संस्थानका सञ्चालक र कर्मचारीले राजनीतिकपूर्वाग्रह त्यागरेर काम गर्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया 4