
१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका छन् ।
आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने बताएका हुन् ।
छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी केन्द्रका देव गुरुङ, राप्रपाका राजेन्द्रलिङ्देन लगायतका सांसदले व्याख्यात्मक टिप्पणी सांसदलाई झुक्याउने खेल भन्दै अमेरिकाले त्यसलाई मान्छ भनी प्रश्न गरेका थिए ।
एमसीसी छलफलमा भाग लिँदै कांग्रेस सांसद थापाले व्याख्यात्मक टिप्पणी अमेरिकाले नमाने सम्झौता अघि नबढ्ने बताए ।
‘त्यो (व्याख्यात्मक टिप्पणी) समेत राखेर हामी दफाबार छलफल गर्छौं । त्यो अमेरिकाले मान्छ कि मानदैन ? नमाने सन्धि अगाडि बढ्दैन’ उनले भने, ‘पारित गरेको व्याख्यात्मक घोषणा पनि सम्झौता सँगसँगै जान्छ । …उसले चित्त बुझाएपछि मात्र, ठीक छ भन्ने लागेपछि मा सन्धि अगाडि जाने हो ।’
संसदले एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणी गर्दा सांसदहरु हिनतावोधले ग्रस्त हुनु नपर्ने पनि थापाले बताए ।
अब एमसीसीबारे सडकका जनतालाई विश्वस्त पार्ने दायित्व सबै नेताहरुको भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4