+
+

हेयरिङ एड : कस्तो अवस्थामा लगाउने, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १३:३१

१६ फागुन, काठमाडौं । मान्छेमा कान कम सुन्ने समस्या पनि एउटा मूलभूत समस्या हो । मान्छेको कानमा आधारभूत भाग हुन्छन्, जसले वातावरणबाट आउने आवाजलाई भित्र पठाउँछन् र त्यो आवाजलाई सन्तुलित रुपमा कानले सुन्ने गर्छ । तर कसैलाई कान कम सुन्ने समस्या छ भने उनीहरुलाई अतिरिक्त उपकरण दिएर सुनाइलाई सामान्य बनाउने गरिन्छ । त्यसको लागि बजारमा अनेकथरी प्रविधिको प्रयोग गर्न सकिन्छ ।

बजारमा थरीथरीका हेयरिङ एड वा श्रवण यन्त्रहरु पाइन्छन् । धेरैजसो हेयरिङ एड डिजिटल हुन्छ र ब्याट्रीबाट काम गर्ने गर्छ । श्रवण सहायतामा रहेको एउटा सानो माइक्रोफोनले वातावरणबाट ध्वनि संकलनको काम गर्छ । एम्प्लिफायरमा रहेको कम्प्युटर चिपले वायुमण्डलबाट आउने ध्वनिलाई डिजिटल कोडमा रूपान्तरण गर्छ । श्रवणशक्तिको कमी, श्रवण क्षमतामा आउने गिरावट आदि अवस्थामा यो प्रभावकारी हुन्छ । यसभित्र रहेको विशेष खाले स्पिकरमार्फत ध्वनि कानसम्म पुर्‍याउने गरिन्छ ।

श्रवण यन्त्र कति प्रकारका हुन्छन् ?

बजारमा अनेकथरी श्रवण यन्त्र पाइन्छन् । मुख्यतया हेयरिङ एडलाई दुई भागमा विभाजन गर्ने गरिन्छ । पहिलो एनालग श्रवण सहायता, जसले ध्वनि तरंगहरूलाई विद्युतीय संकेतहरूमा रूपान्तरण गर्छ । अर्को डिजिटल श्रवण सहायता, जसले मेसिनमार्फत ध्वनि तरंगहरूलाई संख्यात्मक कोडहरूमा रूपान्तरण गर्छ । मान्छेमा भएको समस्या अनुकूलको श्रवण यन्त्रहरू बजारमा खरिद गर्न सकिन्छ । जति धेरै मूल्य उति धेरै सुविधा पाइने व्यवसायी करण ऐर बताउँछन् । बजारमा अनेक शैलीका श्रवण यन्त्र पाइन्छन् ।

नेपाली बजारमा हेयरिङ एडको मूल्य

नेपाली बजारमा पनि दुईथरी हेयरिङ एड पाउन सकिन्छ । अर्थात्, दुईवटा शैलीको हेयरिङ एड बजारमा पाइन्छ । एउटा बाहिरी कानको अधिकांश भागलाई ढाक्ने खालको हुन्छ । बढी मूल्यमा कानमा बाहिर नदेखिने खालका साना हेयरिङ एड पनि पाइन्छ ।

बजारमा पाइने हेयरिङ एडले ५० देखि ६० डेसिबलसम्म स्वरलाई ठूलो बनाउने गर्छ । यसलाई ६ वटा लेभलसम्म कन्ट्रोल गर्न सकिने व्यवसायी ऐर बताउँछन् । ‘न्यूनतम ५ हजार रुपैयाँदेखि अधिकतम एउटै उपकरणको ६० हजार रुपैयाँसम्मका हेयरिङ एड पाइन्छन् । जति धेरै महँगो भयो उति नै धेरै आवाजको गुणस्तर बढी हुने गर्छ,’ उनी भन्छन् ।

कलंकीस्थित केएल नेपालका सञ्चालक ऐर महँगा हेयरिङ एडहरुले बाहिरी कोलाहललाई नियन्त्रण गरेर शुद्ध आवाज मात्रै सुनाउन पनि मद्दत गर्ने गरेको बताउँछन् । यसले कुनै साइड इफेक्ट नगर्ने भन्दै सामान्यतया कम आवाज सुन्नेहरुको लागि यो उपयुक्त हुने उनी बताउँछन् ।

कतिसम्म सुन्नेलाई सामान्य मान्ने ?

कान कतिसम्म सुनेकोलाई सामान्य मान्ने ? यो उमेर, मान्छे पेशा आदिको आधारमा यकिन हुन्छ । वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. अरुण केसी मान्छेको कामको आधारमा पनि सुनाइको मापन हुने बताउँछन् । डब्लूएचओले २५ अडियोग्रामसम्मको सुनाइलाई सामान्य मान्ने गरेको डा. केसी बताउँछन् । त्यस्तै २५ देखि ४० अडियोग्रामसम्मको सुनाइ बाहिर काममा जानेहरुको लागि सामान्य मान्ने गरिन्छ । बढीमा ४० अडियोग्रामसम्म हुनैपर्ने उनको भनाइ छ ।

त्यस्तै घरै बस्ने मान्छेको हकमा भने ६० अडियोग्रामसम्मलाई पनि सामान्य मान्न सकिन्छ । त्यसभन्दा धेरै भयो भने उपचार गराउने वा अन्य उपकरणको सहायता लिनुपर्छ । कान कम सुन्दा पहिले उपचार गराएर अरु समस्या केही छैन भने मात्रै सो उपकरण प्रयोग गर्न डा. केसी सुझाव दिन्छन् ।

सामान्यतया बजारमा पाइने हेयरिङ एडले कानमा साइड इफेक्ट गर्दैन । पूर्ण रुपमा श्रवणशक्ति गुमिसकेको मान्छेलाई पनि यसले प्रभावकारी काम गर्दैन । तर सुनाइमा आउने कमीको पूर्ति गर्न भने यो प्रभावकारी हुनसक्ने उनी बताउँछन् । उमेर बढ्दै गएपछि बिस्तारै त्यसको क्षमता घट्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?