+
+
प्रतिवाद :

‘हो, म अपराधी हुँ’

योगेन्द्र रावल योगेन्द्र रावल
२०७८ फागुन १६ गते १४:४३

त्रिभुवन विश्वविद्यालयको एउटा आफ्नै विशिष्ट इतिहास छ । यस विश्वविद्यालयले नेपालको उच्च शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ । नेपालको उच्च शिक्षाको करिब ८० प्रतिशत हिस्सा बोक्ने यस विश्वविद्यालयमा उपयुक्त र क्षमतावान नेतृत्व नआउँदा कस्तो अवस्था हुन्छ भन्ने हेर्नको लागि वर्तमान पदाधिकारीहरूको कार्यशैली र क्षमतालाई मिहिन रूपमा अध्ययन गर्दा मात्रै प्रष्ट हुन्छ ।

एउटा राजनीतिक दलको फेर समातेर विश्वविद्यालयको नेतृत्वमा पुगेका वर्तमान उपकुलपतिको क्षमता, योग्यता र कार्यशैली हेर्दा उनी कसरी चिकित्सा पेशामा लागेर विश्वविद्यालयको नेतृत्वसम्म आइपुगे भन्ने प्रश्न उब्जन्छ ।

अहिलेको तीव्र प्रतिस्पर्धी युगमा विश्वविद्यालयको नेतृत्वमा पुगेका व्यक्तिको नियत आर्थिक संकलन, अनियमितता र त्यसको आधारमा आफूलाई नियुक्ति दिने राजनीतिक दललाई चन्दा दिने बाहेक कुनै उल्लेख्य र उपलब्धिमूलक काम भएको देख्न सकिंदैन । तर आम सञ्चारमाध्यममा आफ्ना समग्र कर्तुतलाई छोप्दै विश्वविद्यालयका विद्यार्थी, कर्मचारी, प्राध्यापक तथा अन्य सरोकारवालाको कमजोरी देखाएर आफू पानीमाथिको ओभानो बन्ने दुष्प्रयास गरिरहेका छन् ।

विश्वविद्यालयको महत्वपूर्ण सरोकारवाला पक्ष भनेको विद्यार्थी हो । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अपवाद बाहेक राजनीतिक मुद्दा उठाएका छैनन् । अझ नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले कहिल्यै पनि आम राजनीतिक विषयवस्तु उठाएर आन्दोलन गर्ने वा अन्य कुनै बन्द–हड्ताल गर्ने काम गरेको छैन । तर आम विद्यार्थीको हकहितका सवालमा कहिल्यै सम्झौता गरेको पनि छैन ।

विश्वविद्यालयमा कुशल नेतृत्व दिन नसकेर प्रशासन तथा शैक्षिक गतिविधि नै तहसनहस भइरहेको छ । शैक्षिक गुणस्तर कमजोर छ । विश्वविद्यालय भ्रष्टाचारले आक्रान्त छ । शैक्षिक क्यालेन्डरलाई कार्यान्वयन गर्न नसक्दा तीन वर्षमा पनि स्नातकोत्तर अध्ययन सम्पन्न हुनसकेको छैन । शैक्षिक सुशासनको अवस्था नाजुक छ । विश्वविद्यालयको अध्ययन गर्ने कक्षाकोठा गाईगोठ जस्ता छन् ।

एमफिल तथा पीएचडीको पठनपाठन गर्ने कक्षाकोठामा एउटा पनि प्रोजेक्टर समेत छैन । पुस्तकालयको अवस्था नाजुक छ । पर्याप्त पाठ्यसामग्री उपलब्ध छैन । यी त केही उदाहरण मात्र हुन् । विश्वविद्यालयमा प्रवेशद्वारबाट भित्र छिरेर निस्कनेहरूले यसलाई विश्वविद्यालयको रूपमा लिनै सक्दैनन् । एउटा गाईवस्तु चर्ने चौर जस्तो छ ।

तर यी सबै अवस्थामा सुधारको सामान्य मार्चचित्र समेत नभएका धर्मकान्त बास्कोटा कुनै राजनीतिक दलको संगठित सदस्य बाहेक अन्य कुनै क्षमता र योग्यता राख्छन् भन्नेमा शंका उत्पन्न भएको छ । केही दिन अगाडि अनलाइन सञ्चारमाध्यममा अन्तर्वार्ता दिंदै बास्कोटाले झुटको पुलिन्दा सार्वजनिक गरे ।

विद्यार्थीलाई अपराधी करार गर्ने, विश्वविद्यालयका ८० प्रतिशत भन्दा बढी कर्मचारीलाई क्षमताहीन बताउने र बहुसंख्यक क्षमतावान प्राध्यापक माथि विषवमन गर्दै आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयत्न गरेका छन् । तर विश्वविद्यालयलाई नजिकबाट बुझ्ने र यहाँको अवस्थाका बारेमा चासो राख्नेले उनीद्वारा झुटका पुलिन्दाले उनको प्राज्ञिक क्षमता प्रष्ट्याएको बताउँदछन् ।

विश्वविद्यालयको हितमा आवाज उठाउँदा उनले अपराधी करार गरेको विद्यार्थीमध्ये म पनि एक हुँ । त्रिभुवन विश्वविद्यालयको एक चेतनशील विद्यार्थीको हैसियतमा मैले देखेका उनका झुटका पुलिन्दाको यहाँ चिरफार गर्ने प्रयत्न गरेको छु ।

नेकपा एमाले समर्थित बास्कोटा उपकुलपति नियुक्ति भएपछि आर्थिक प्रशासन महाशाखा, निरीक्षण महाशाखा, कर्मचारी प्रशासन महाशाखा, सामान्य प्रशासन महाशाखा, सूचना तथा जनसम्पर्क महाशाखा, समन्वय महाशाखा र सचिवालय गरी करिब ३०० जना एमाले समर्थित व्यक्तिलाई करारमा नियुक्त गरेका छन् ।

एकातर्फ लालझण्डा बोक्नुलाई मापदण्ड बनाई ३०० जना नियुक्ति दिने र अर्कोतर्फ त्रिभुवन विश्वविद्यालय सेवा आयोग पास गरेर नियुक्त भएका ८० प्रतिशत कर्मचारीलाई क्षमता र योग्यताहीन भन्दै प्रचारबाजी गर्ने काममा बास्कोटा लागेका छन् । त्रिभुवन विश्वविद्यालयमा योग्यता र क्षमताको आधारमा कर्मचारी नियुक्त हुनुपर्छ भन्ने माग राख्दा अपराधी भइन्छ भने हो, म अपराधी हुँ ।

दोस्रो, त्रिभुवन विश्वविद्यालय ऐनले प्रष्ट रूपमा कस्तो व्यक्तिलाई कुन पदमा नियुक्त गर्ने भन्ने उल्लेख गरेको छ । ऐनको उक्त प्रावधानमा विभागीय प्रमुख नियुक्त गर्दा सम्बन्धित डीनको राय विना नियुक्त गर्न नमिल्ने उल्लेख छ । तर बास्कोटाले भनेको समाजशास्त्रलगायतका विभागमा डीनको सिफारिस विना मनलाग्दी रूपमा अमूक राजनीतिक दल समर्थितलाई नियुक्ति दिइएको छ ।

उनले अन्तर्वार्तामा ज्येष्ठताको आधारमा नियुक्ति गरेको उल्लेख गरेका छन् । तर त्यो कतै देखिंदैन । अंग्रेजी केन्द्रीय विभागमा प्रा.डा. अनिरुद्र थापा सबैभन्दा सिनियर प्राध्यापक हुँदाहुँदै जीवलाल सापकोटालाई कसरी विभागीय प्रमुख नियुक्त गरियो ? मानवशास्त्र केन्द्रीय विभागमा थुप्रै प्राध्यापक हुँदाहुँदै उपप्राध्यापक डम्बर चेम्जोङलाई कसरी नियुक्ति दिइयो ? अर्थशास्त्र केन्द्रीय विभागमा प्रा.डा. रामप्रसाद ज्ञवाली सिनियर हुँदाहुँदै शिवराज अधिकारीलाई कसरी नियुक्ति दिइयो ?

हामीले नवीनतम ज्ञानसहितको पाठ्यक्रम आवश्यक छ भन्ने आवाज उठाउँदै गर्दा अपराधी भइन्छ भने हो, म अपराधी हुँ । राजनीतिक आस्थाको आधारमा कसैको पेशागत मर्यादामाथि आँच पुर्‍याउने कामका विरुद्ध उत्रँदा अपराधी भइन्छ भने हो, म अपराधी हुँ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थामा दर्जनौं ज्येष्ठ प्राध्यापक डाक्टर हुँदाहुँदै केपी ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कसरी डीन नियुक्त गरियो ?
यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । यस्ता बेथितिका बारेमा बास्कोटाले स्पष्टीकरण दिनुपर्दछ कि पर्दैन ?

धेरैलाई लाग्दो हो विद्यार्थी भएर प्राध्यापकका विषयमा कुरा गर्ने ? तर एउटै परिवारमा भएपछि अभिभावकले सन्तानको र सन्तानले अभिभावकको बारेमा चासो राख्नु नेपाली संस्कार हो । राजनीतिक आस्थाको आधारमा कसैको पेशागत मर्यादामाथि आँच पुर्‍याउने कामका विरुद्ध उत्रँदा अपराधी भइन्छ भने हो, म अपराधी हुँ ।

जनकपुरस्थित युथ क्याम्पसलाई बीसीए कार्यक्रम सञ्चालन गर्नको लागि त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको थियो । तर त्रिभुवन विश्वविद्यालयको अनुगमन निर्देशनालयका उपनिर्देशक प्रा.डा. ओमप्रसाद बरालको संयोजकत्वमा प्रवीणकुमार झा सदस्य रहेको अनुगमन टोलीले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको ठाडो निर्देशन भन्दै ३२ लाख रुपैयाँ घुस मागेको तर क्याम्पस प्रमुखले उक्त रकम दिन नसक्दा बीसीए कार्यक्रम नै खारेज गरी विद्यार्थीको भविष्य अन्धकार बनाएको तथ्य क्याम्पसका प्रमुख शिवनारायण झाले प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गरेका थिए ।

ज्ञानको पवित्र स्थानको नेतृत्व गर्ने पदाधिकारीहरूले यसरी खुलेआम घुस माग्ने र नदिंदा विद्यार्थी माथि अपराध गर्ने काम बास्कोटाको नेतृत्वमा भइरहेको छ । आफूमाथि लागेको भ्रष्टाचारको आरोपको बारेमा छानबिन गर्नको लागि बास्कोटाले आफ्ना आसेपासेलाई जिम्मा दिएका छन् ।

आफू पद नछाडी र आफू माथि लागेको आरोपको छानबिन आफू मातहतका व्यक्तिमार्फत गराउनको लागि पेशागत मर्यादाले दिन्छ कि दिंदैन ? पाँच लाखको जागिर छाडेर ७० हजारको तलबमा काम गर्न आएको बताउने बास्कोटाले चर्चामा आउने प्रोपोगाण्डा फैलाउँदा औपचारिक तलब ७० हजार भए पनि ७० लाख घुस असुल्न पाउँदा ५ लाखको के महत्व हुन्छ भनेर प्रश्न गर्न पाउने कि नपाउने ? भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदा अपराधी भइन्छ भने हो, म अपराधी हुँ ।

संसार तीव्र गतिमा बदलिंदो छ । शैक्षिक विषयवस्तु पनि बदलिंदा छन् । तर त्रिभुवन विश्वविद्यालयमा सन् १८४८ को संसारबाट हराइसकेको कम्युनिष्ट घोषणापत्र र त्यसले निर्माण गरेका आउटडेटेड विषयवस्तुको अध्ययन-अध्यापन भइरहेको छ ।

बदलिंदो दुनियाँलाई बुझ्न–बुझाउन सक्षम पाठ्यक्रम निर्माण गर्ने, लोकतन्त्र, मानवअधिकार, बहुलवाद, उदारवाद, समावेशिता, विश्वव्यापीकरण, कल्याणकारी राज्य प्रणालीलगायतका विषयवस्तुलाई नियोजित रूपमा बास्कोटा र उनका अनुयायीले रोकिरहेका छन् ।

कुनै पनि व्यक्ति विश्वविद्यालयमा नवीनतम ज्ञान हासिल गर्नको लागि आउने हो । तर त्रिभुवन विश्वविद्यालयमा त्यसो हुनसकेको छैन । २०० वर्ष पुरानो विषयवस्तु मात्र पढाएर बसिरहेका छन् । हामीले नवीनतम ज्ञानसहितको पाठ्यक्रम आवश्यक छ भन्ने आवाज उठाउँदै गर्दा अपराधी भइन्छ भने हो, म अपराधी हुँ ।

त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीको अक्षमताको कारणले शैक्षिक वातावरण दिनप्रतिदिन कमजोर बन्दै गइरहेको छ । विश्वविद्यालयमा स्रोतको अभावमा प्राध्यापकहरू अनुसन्धान गर्न पाएका छैनन् । प्राध्यापकलाई जुसे करारको संज्ञा दिएर मानमर्दन मात्र गरेका छैनन् बास्कोटाले, सेवा आयोगमा उत्तरपुस्तिका रद्द गर्ने नियम बनाउने नाममा प्राज्ञ र प्राध्यापकको नैतिकतामा प्रश्न उठाएका छन् ।

एकातिर उत्तरपुस्तिकामा आफैंले सांकेतिक चिह्न प्रयोग गरेर रद्द गर्ने बाटो खुल्ला राखेका छन् भने प्राध्यापक तथा कर्मचारीलाई उत्तरपुस्तिकामा ‘सम्भावित सेटिङ’ को आरोप लगाएर अविश्वासको भोजन ग्रहण गरिरहेका छन् ।

प्रधानमन्त्री एवं कुलपतिको दबावमा आन्तरिक विज्ञापन गर्ने निर्णय गर्नुपरेको उल्लेख गरेर गठबन्धनको सरकारविरुद्ध हिलो छ्याप्ने काम मात्र गरेका छैनन्, आफू समर्थित विद्यार्थी उचालेर महिनौंसम्म विश्वविद्यालयमा आफैंले तालाबन्दी गर्न लगाएर अहिले कांग्रेस नेतृत्वको सरकारलाई दोष दिइरहेका छन् । दुर्गम गाउँबाट आएका विद्यार्थीले छात्रवृत्तिको अभावमा आफ्नो अध्ययन पूरा गर्न नसक्ने अवस्था छ ।

कर्मचारीलाई मोटिभेसनको अभावमा काम गर्ने अवस्था छैन । तर बास्कोटा यी र यस्ता शैक्षिक वातावरण सुधार गर्ने काममा पूर्ण रूपमा अक्षम भइसकेका छन् । आफ्नो अक्षमतालाई ढाकछोप गर्न त्रिभुवन विश्वविद्यालयकै इतिहासका सक्षम र निष्कलंकित उपकुलपति केदारभक्त माथेमालगायतप्रति आगो ओकलिरहेका छन् ।

विश्वविद्यालयमा आएको दुई वर्षसम्म पनि एउटा शैक्षिक सुधारको रणनीतिक योजना बनाउन नसक्ने बास्कोटाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समेत गराउने हैसियत राखेनन् ।

पञ्चायत र शाहको क्रूर शासनमा समेत नरोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोकेर बास्कोटाले आफ्नो असली अनुहार देखाएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको नियमित निर्वाचन गरेर विद्यार्थी नेतृत्वलाई गतिशील बनाउनुपर्छ भन्ने वकालत गर्दा अपराधी भइन्छ भने हो, म अपराधी हुँ ।

विश्वविद्यालयमा पुरातन शैलीको परीक्षा प्रणाली छ । कक्षाकोठाका चार–पर्खालभित्र विद्यार्थीको सुनौलो भविष्यको बीभत्स हत्या गरिरहेको त्रिविको परीक्षा प्रणालीले एक्काइसौं शताब्दीका विद्यार्थीको मूल्यांकन गर्न सक्दैन ।

सेमेष्टर प्रणालीमा पठनपाठन त भइरहेको छ तर परीक्षा प्रणालीमा कुनै फेरबदल आएको छैन । यसले विद्यार्थीको खास मूल्यांकन गर्न सक्दैन । जसको सुधार अत्यावश्यक छ ।

निरन्तर मूल्यांकन प्रणाली सेमेष्टर सिस्टमको महत्वपूर्ण पक्ष हो । यसलाई लागू गर्नको लागि हामीले निरन्तर आवाज उठाइरहेका छौं । तर बास्कोटा यसमा सुधार गर्नको लागि तयार छैनन् । परीक्षा उत्तीर्ण गरेको विद्यार्थी बल्खुको परीक्षा नियन्त्रण कार्यालयको झ्यालमा दिनभरि लाइनमा उभिनुपर्ने बाध्यताको अन्त्य गर्न आवाज उठाउँदा अपराधी भइन्छ भने हो, म अपराधी हुँ ।

बास्कोटाले माथि उल्लेखित तथा अन्य सम्पूर्ण कर्तुत र आफ्नो अक्षमतालाई लुकाउनको लागि विश्वविद्यालयभित्र प्रेम चलाउनेलाई शिखण्डी बनाएका छन् र नेपाल विद्यार्थी संघ त्रिवि समितिको मूल नेतृत्व विरुद्ध अफवाह फैलाइरहेका छन् । समाजशास्त्र विभागमा नेविसंघले गरेको तालाबन्दीपश्चात् समस्या समाधान गर्ने सन्दर्भमा नेविसंघ र त्रिविबीच भएको समझदारी कार्यान्वयन नगरी पुनः दमनमा उत्रेपछि नेविसंघ तालाबन्दीलगायत अन्य आन्दोलनका कार्यक्रम लिएर आएको थियो ।

उपकुलपति बास्कोटाले अहिले आएर परोक्ष रूपमा यो कुरा स्वीकार गरेका छन् कि नेविसंघले लगाएको ताला उपकुलपतिको मतियार बनेर प्रेम चलाउनेले तोडेका हुन् । त्यसपछि उत्पन्न घटनालाई आधार मानेर ममाथि निराधार आरोप लगाउँदै प्रहरी प्रशासन लगाएर धरपकड गर्न खोजियो ।

ओलीकालीन असहिष्णु कम्युनिस्ट राजमा मिथ्या आरोपबाट बच्नु मेरो मूल कुरा थियो । एकतर्फी नागरिक समाज र मिडियाको प्रयोग गरेर ममाथि यति ठूलो चाप सिर्जना गरियो कि कोभिड–१९ का कारण ज्यान गुमाएकी आफ्नी दिदीको अन्तिममा मुख हेर्न समेत जान पाइनँ ।

अर्कोतिर, आफ्नै संगठन नेविसंघ र मातृपार्टी नेपाली कांग्रेसका कतिपय नेता तथा साथीहरू समेत भ्रममा परे र मलाई प्रतिप्रश्न गरिरहे । त्यो समय मेरो राजनीतिक निष्ठा र विद्यार्थी जीवनको निकै कष्टप्रद समय थियो । जब प्रजातन्त्रवादी प्राध्यापक तथा कर्मचारीले त्रिवि परिसरभित्र चिया पानी समेत पिउने विभाग तथा अन्य निकायमा स्थान नपाएको महसुस भयो, त्यसपछि सबैले त्यो कम्युनिस्ट बर्बरताको स्मरण गरिरहनुभएको छ ।

विश्वविद्यालयभित्र प्रहरी चौकी स्थापना गर्नको लागि बास्कोटाले अनुमति दिंदै गर्दा त्यसको विरुद्धमा एक वर्षभन्दा लामो समय आन्दोलनको नेतृत्व नेपाल विद्यार्थी संघ त्रिवि समितिले गरेको थियो । महिला छात्रावास नजिक रहेको प्रहरी चौकी हटाउने अभियानको नेतृत्व मैले गरेको थिएँ । र, उक्त प्रहरी चौकी हटाउने सम्झौतामा मैले हस्ताक्षर गरेको थिएँ । जसको कारण बास्कोटा र प्रशासनको मिलेमतोमा म विरुद्ध नक्कली घाइते खडा गरी बदला लिइएको हो ।

ज्ञानको पवित्र भूमिमा हतियारधारी प्रहरी चौकी आवश्यक छैन भनेर विद्यार्थीको हकहितमा आवाज उठाउने र नेतृत्व लिनलाई अपराधी करार गर्दै बास्कोटा आफ्ना कर्तुत लुकाउन व्यस्त छन् । त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वारबाट भित्र पस्ने वित्तिकै व्यापारिक निजी बैंक, आँखा अस्पताल वा अन्य केही देखिनु भन्दा पहिला विश्वविद्यालयको शैक्षिक स्थान देखियोस् भन्ने हाम्रो चाहना हो ।

त्यसैले ग्लोबल आईएमई बैंक र आँखा अस्पताल जस्ता व्यापारिक स्थल भन्दा पनि शैक्षिकस्थल बनाउँ भन्दा विद्यार्थी माथि अपराधी करार गरिरहेका छन् । सार्वजनिक निजी साझेदारी अनुरूप यदि निजी बैंकलाई त्रिवि परिसरभित्र राख्ने हो भने कम्तीमा पाँच जना विद्यार्थीलाई एमबीए अध्ययनका लागि सो बैंकले छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ भन्ने माग राख्दा राजनीतिक नेतृत्वको प्रयोग गरेर हामीलाई आर्थिक अनियमिततामा संलग्न गरेको आरोप लगाइयो । अब बोल्ने पालो बैंकको । बैंकले यसबारे स्पष्ट धारणा सार्वजनिक गरोस् ।

उपकुलपति बास्कोटाले आफ्नो अन्तर्वार्ताको क्रममा नेपाली कांग्रेसका नेता र प्रजातन्त्रवादी प्राध्यापकले नेतृत्व गर्दाका बखत रहनुभएका पदाधिकारीमाथि विषवमन गर्दै त्रिवि ओरालो लाग्नुमा कांग्रेस र प्रजातन्त्रवादीलाई दोष दिएका छन् ।

स्मरण रहोस्, २०४६ सालमा प्रजातन्त्र स्थापनापछिका अधिकांश उपकुलपति र रजिष्ट्रार एमाले समर्थित प्राध्यापक नै छन् । बास्कोटाको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयमा झाँगिंदै गएका यी र यस्ता अनियमितता, शैक्षिक विकृति तथा विसंगति, कुशासन र विद्यार्थी विरुद्धका कर्तुतलाई चुनौती दिएको कारण म र म जस्ता विद्यार्थीलाई अपराधी करार गरिरहेका छन् । यदि विद्यार्थी र विश्वविद्यालयको हितमा आवाज उठाउनु र सुधारको लागि निरन्तर प्रयत्न गर्नु अपराध हो भने बास्कोटाले ठिक भने, हो म अपराधी हुँ ।

(लेखक नेविसंघ, त्रिवि समितिका सचिव एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?