+
+

रुस र युक्रेनका प्रतिनिधिबीच वार्ता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १७:१५

१६ फागुन, काठमाडौं । जारी युद्धलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने प्रयास स्वरुप रुस र युक्रेनका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।

बेलारुसको सीमा नजिकैको एक स्थानमा दुवै पक्षका प्रतिनिधिबीच वार्ता सुरु भएको हो । युक्रेनी राष्ट्रपतिका सल्लाहकारले मिखाइलो पोडोलियकले एक सन्देशमार्फत् दुवै पक्षका प्रतिनिधिबीच वार्ता सुरु भएको जानकारी गराएका हुन् ।

वार्ता सुरु हुनुपूर्व युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै रुसलाई तत्काल युद्ध विराम गरी सेना फिर्ता गर्न माग गरेको छ । युक्रेनी वार्ता टोलीमा रक्षामन्त्री ओलेक्सी रेज्निकोभ, सहायक विदेशमन्त्री मिकोला तोकित्स्कीसहितका अधिकारीहरू रहेका पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, जेलेन्स्कीले वार्ताबाट परिणाम निस्कने कुराप्रति आशंका व्यक्त गरेका छन् । तर वार्ताको प्रयास राम्रो भएको पनि उनको भनाइ छ । उनले नयाँ भिडियो सन्देशमा रुसी सेनालाई आत्मसमर्पण गरेर फिर्ता जान समेत भनेका छन् ।

‘आफ्ना हतियार त्यागेर यहाँबाट जानु होस्’, जेलेन्स्कीलाई उदृत गर्दै फ्रान्स २४ समाचार माध्यमले लेखेको छ, ‘आफ्ना कमाण्डरको कुरा नपत्याउनुहोस् । भ्रम फैलाउनेहरूको विश्वास नगर्नुहोस् । केबल आफ्नो ज्यान बचाउनु होस् ।’

त्यस्तै, जेलेन्स्कीले आफ्नो सन्देशमा फास्ट ट्र्याकमार्फत् युक्रेनलाई तत्काल युरोपेली युनियनको सदस्यता दिन समेत अपिल गरेका छन् । उनले भने,‘नयाँ एवं विशेष कार्यविधिमार्फत् युक्रेनलाई सदस्यता दिनका लागि युरोपेली युनियनलाई आग्रह गर्छौं । हाम्रो लक्ष्य भनेको सबै युरोपेलीसँगै रहने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?