
१४ फागुन, काठमाडौं । एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ ‘गोल्डेन गर्ल’को नामले चर्चित छिन् । अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन् ।
पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर गरेकी सन्तोषी खेलसँगै अध्ययन पनि महत्वपूर्ण हुने बताउँछिन् । हाल उनी खेल अभ्याससँगै पब्लिक हेल्थ विषयमा एक वर्षको डिप्लोमा कोर्स गर्दैछिन् । खेलले अनुशासित बनाउने र शिक्षाले मानिसलाई सभ्य बनाउन सहयोग गर्ने उनको बुझाइ छ । सन्तुलित खाना रुचाउने सन्तोषीको जीवनशैली कस्तो छ ? उनकै शब्दमा-
उठ्ने तालिका नियमित छ
मेरो उठ्ने समय बिहान ५ बजे हो । म उठ्ने बित्तिकै मोबाइल वा ल्यापटप चलाउँछु । म उठेपछि आधा लिटर पानी पिउने अनि आधा स्याउसँगै आठदेखि दशवटा किसमिस खान्छु ।
खेल अभ्यास सकेपछि नास्ता खान्छु । खाना खाने समय दिउँसो १२ देखि साढे १२ बजेसम्म हो । फलफूल पनि एकदमै मन पर्छ । स्वाद नभएको खाना जस्तै, बेड्र आइटम, तरुल सखरखण्ड लगायत एकदमै स्वास्थ्यलाई राम्रो गर्ने खाना मन पराउँछु । मलाई पेट भर्नका भात नै खानुपर्छ भन्ने छैन । सुन्तला मात्र खाएर पनि पेट भर्न सक्छु । साँझको खानाको जाडोमा आठ बजे गर्मीमा नौ बजेसम्म खाइसक्छु । खानामा स्वस्थ खाना नै मेरो प्राथमिकतामा पर्दछ । सुत्ने यही समय भन्ने छैन, कहिलेकाहीं त १२ पनि बज्न सक्छ ।
भान्साको काममा जाँगर चल्छ
भान्साको काम सानैदेखि गर्दै आएको छु । ९-१० वर्षको उमेरदेखि खाना पकाउन थालेको हुँ । मलाई भाँडा माझ्ने काममा पनि धेरै जाँगर लाग्छ । अध्ययन, खेल र घरको काम मैले व्यवस्थापन गर्दै लगें । आमा, भाउजूलाई घरको काममा सहयोग गर्छु । अहिले त घरको काम गर्न त्यति भ्याउँदिन तर परेको बेला गर्छु ।
मेरो पहिरन
मेरो प्रिय पहिरन ट्याक सुट हो । धेरैजसो यही लुगा लगाउँछु । सहज र आरामदायी साधारण लुगा नै मेरो रोजाइमा पर्छ । पहिला कुर्ता सलवार धेरै लगाउँथे, हिजोआज जिन्स र टिसर्ट नै धेरै लगाउँछु ।
मेरो रुचि
मलाई खेल्नबाहेक फूल, तरकारी रोप्न, गोड्न पानी हाल्न एकदमै मन पर्छ । मोबाइल चलाउन, गफ गर्न, पढ्न मलाई मन पर्छ । चलचित्र हेर्दा पनि समीक्षा पढेर मात्रै हेर्ने गरेको छु ।
अनि ब्याडमिन्टन र फुटबल हेर्न पनि एकदमै मन पर्छ ।
खेल अभ्यास
बिहान साढे ६ देखि १० बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म अभ्यास गर्छु । मैले बेस्ट कसरी दिनसक्छु भन्ने नै मेरो सोच हुन्छ ।
प्रतिक्रिया 4