+
+

इन्धनको भुक्तानी दिन निगमले सरकारसँग फेरि माग्यो ४ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १९:३२

१८ फागुन, काठमाडौं । नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग पुनः रकम माग गरेको छ ।

पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो । अपुग ४ अर्ब रुपैयाँ माग गरेर मन्त्रालयलाई पत्राचार गरिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

आगामी २४ फागुनमा आईओसीलाई बुझाउनु पर्ने इन्धन खरिदको २५ अर्ब रुपैयाँका जोहो गर्न रकम अभाव भएपछि ४ अर्ब रुपैयाँ रकम जुटाइ दिन निगमले सरकारसँग माग गरेको उनले बताए । अहिले खरिद गरेर बिक्री गरेको इन्धनबाट प्राप्त रकमले भुक्तानी गर्न नपुगेको भट्टराईले बताए । ‘यो महिनाको भुक्तानी गर्न पैसा नपुगेपछि ४ अर्ब रुपैयाँ माग गरेर पत्राचार गरेका छौं,’ उनले भने ।

कुल १३ अर्ब रहेको यस्तो कोषबाट यसअघि नै एक अर्ब ८० करोड रुपैयाँ निगमले लगिसकेको छ । जनवरी महिनाको पहिलो किस्ता बुझाउन गत फेब्रुअरीमा उक्त रकम लिएको थियो ।

पेट्रोलियम पदार्थको बढ्दो मूल्य र उपभोक्ता मूल्यको अन्तर चिरेर मूल्य वृद्धि रोक्न वाणिज्य सचिवको अध्यक्षता रहेको यो कोषमा अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सहसचिव सदस्य रहन्छन् ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ८ र २३ मार्चमा गरी दुई किस्तामा आईओसीलाई झण्डै २५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । मंगलबार भारतीय आयाल निगमबाट प्राप्त नयाँ मूल्य अनुसार १५ दिनमा ३ अर्ब ९ करोृड रुपैयाँ अतिरिक्त भार थपिएको छ ।

यस अघि नै ४६५ रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको खाना पकाउने ग्याँसमा थप एक सय रुपैयाँ घाटा थपिएको निगमले जनाएको छ । यस्तै पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा १६ रुपैयाँ हाराहारी घाटा भएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?