
१८ फागुन, काठमाडौं । भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं रुसका विपक्षी नेता अलेक्सी नभाल्नीले युक्रेनमा भएको हमलाविरुद्ध नियमित प्रदर्शन गर्न अपिल गरेका छन् ।
हाल जेलमा रहेका नभाल्नीले रुसी जनतालाई युक्रेनमा भएको हमलाविरुद्ध दिन-दिनै प्रदर्शन गर्न अपिल गरेका हुन् । ‘म सबैलाई सडकमा आएर शान्तिको पक्षमा लड्न अपिल गर्छु’, बुधबार सामाजिक सञ्जालमा पोष्ट गरिएको एक विज्ञप्तिमा उनले भनेका छन् ।
नभाल्नीले रुसी जनतालाई जेल जाने कुराबाट नडराउन समेत आग्रह गरेका छन् । ‘हामीले युद्ध रोक्नका लागि जेल र प्रहरी भ्यान भर्न आवश्यक छ’, उनले भने, ‘हामीले जेल र प्रहरी भ्यान भर्नुपर्छ ।‘ उनले रुस ‘त्रसित कायर बस्ने मुलुक’ बन्न नहुने भन्दै राष्ट्रपति पुटिनलाई पागल तानाशाह भएको पनि बताए ।
रुसमा केही वर्षदेखि पुटिनविरुद्ध भएका प्रदर्शनको नेतृत्व गरेका ४५ नभाल्नीले धोकाधडीसम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन् ।
युक्रेनमा सुरु गरिएको सैन्य कारबाहीको विरोधमा रुसभर प्रदर्शन भएका छन् । हालसम्म ६ हजार ८०० जनालाई पक्राउ गरिएको छ ।
प्रतिक्रिया 4