
२० फागुन, काठमाडौं। नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वमा छात्रालाई स्थान दिन माग गरिएको छ ।
राजीव ढुंगानाको नेतृत्वमा रहेको तदर्थ समिति भङ्ग गरी पार्टीले नयाँ समिति बनाउन लागेपछि छात्राहरुले उक्त माग गरेका हुन् ।
पार्टी उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र प्रवक्ता डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएर नेतृत्वमा महिलाको माग गरिएको हो ।
२१ जना संघका छात्राले तीन नेतालाई महिला संघमा छात्रा नेतृत्वको माग गरि ज्ञापनपत्र बुझाएका हुन्। समावेशी कांग्रेस निर्माण गर्ने अभियान सफल पार्न आफुहरु सक्षम भएर नै नेतृत्वको दाबी गरिएको विद्यार्थी नेता गीता गुरुङले बताइन् । कम्तिमा स्नातकोत्तर अध्ययन गरेको, केन्द्रिय समितिमा रही काम गरेको अनुभवी व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउन माग गरिएको छ।
प्रतिस्पर्धी विद्यार्थी संगठनको नेतृत्वमा छात्रा नै रहेको कारण देखाउँदै महिला अध्यक्षको माग गरिएको छ । साथै, महिलाहरुको मतदाता संख्या बढी भएकाले नेतृत्वको माग गरिएको छ ।
फागुन मसान्तसम्म नयाँ कार्यसमिति बनाउने पार्टीले निर्णय गरेको छ । सबै पक्षलाई समेट्ने गरी ठूलो आकारको तदर्थ समिति बनाउन लागिएको छ। तदर्थ समितिको अवधि सबै तहको निर्वाचन सकिएको तीन महिनासम्म हुनेछ ।
प्रतिक्रिया 4